संकटमा देश: आर्थिक अस्थिरता र सुधारको चुनौती
रमेश कुमार बोहोरा
मितिः२०८२ कार्तिक ३० गते, आईतबार
देश अहिले यथार्थमै एउटा गम्भीर संक्रमणको चरणमा छ । यस अवस्थालाई बुझ्न सतही दृष्टि पर्याप्त हुँदैन गहिरो विश्लेषण तथ्य र प्रमाण आवश्यक छन् । २०८२ साल भदौ २३ र २४ गते देशभर भड्किएको जेनजी आन्दोलनले केवल तत्कालको असन्तुष्टि मात्र देखाएन दशकौँदेखि थिचिँदै आएका संरचनागत समस्या, अव्यवस्था, भ्रष्टाचार, नेतृत्वहीनता र कमजोर शासन प्रणालीको वास्तविक अनुहार बाहिर ल्याइदियो । देख्दा यो युवा पुस्ताको आकस्मिक क्रोध जस्तो लागे पनि यसको मूल कारण राज्यका दीर्घकालीन असफलता र जनतामा जम्मा हुँदै गएको भारी निराशा नै हो ।
सबैभन्दा चिन्ताजनक कुरा यति ठूलो अस्थिरता र क्षतिपछि पनि कसैले जिम्मा लिन चाहेन । संविधान कागजमा छ तर व्यवहारमा ‘कोमा’मा परेजस्तो देखिन्छ । सुरक्षा निकायहरू भ्रममा परे, सरकार मौन रह्यो, निर्णयहरू ढिलो भए र जनताले पाएका जवाफहरू खाली र असन्...









