लोकतन्त्रको रक्षक कांग्रेस, अब आफ्नै लोकतन्त्रको खोजीमा
रमेश कुमार बोहोरा
मितिः २०८२ कार्तिक २२ गते, शनिबार
नेपालको राजनीतिक इतिहासमा नेपाली कांग्रेस केवल एक दल होइन लोकतन्त्रको पर्यायको रूपमा चिनिन्छ । यही पार्टीले मुलुकमा बहुदल, अभिव्यक्ति स्वतन्त्रता र संवैधानिक शासन प्रणालीको बीज रोपेको थियो । तर आज यही कांग्रेस आफ्नै विचार र अस्तित्वको दोभानमा उभिएको छ । संस्थापकहरूले कल्पना गरेको ‘उदार लोकतान्त्रिक कांग्रेस’ र आजको सत्ता केन्द्रित कांग्रेसबीचको दूरी यति बढिसकेको छ कि पुराना नेताहरू समेत भन्न थालेका छन् “अब कांग्रेस विचार होइन, अस्तित्वको लडाइँ लड्दैछ ।” यो कथन कुनै भावनात्मक विस्फोट होइन पार्टीभित्रको वास्तविकता हो ।
सदस्य नविकरणदेखि महाधिवेशन तयारीसम्मका सबै गतिविधिले पार्टीभित्र गहिरो असन्तुलन र असन्तोष उजागर गरिदिएका छन् । संगठनका आधारभूत तहहरू कमजोर बनेका छन् र विचारभन्दा सञ्जाल, योग्यता भन्दा हैसियतले मूल्यांकन हुने अवस्था बनेको...







