भ्रष्टाचारको मुहान निर्वाचन खर्च : पैसाले कब्जा गरेको लोकतन्त्र
मितिः २०८२ माघ १७ गते, शनिबार
रमेश कुमार बोहोरा
भ्रष्टाचारको मुहान कहाँबाट बग्छ भन्ने प्रश्नमा धेरैले ठेक्का, कर छली, प्रशासनिक मिलेमतो वा नीतिगत चलखेललाई औँल्याउने गर्छन् । तर राज्य संरचनाभित्र मौलाउँदै गएको भ्रष्टाचारको पहिलो ढोका भने प्रायः अदृश्य तर शक्तिशाली ढंगले निर्वाचनबाटै खुल्ने गरेको यथार्थलाई अब बेवास्ता गर्न सकिने अवस्था छैन । लोकतन्त्रको मूल आधार मानिने निर्वाचन जब पैसाको प्रतिस्पर्धामा सीमित हुन पुग्छ, त्यही क्षणदेखि शासन प्रणालीको नैतिक धरातल कमजोर बन्छ र सार्वजनिक हितभन्दा निजी लगानीको प्रतिफल खोज्ने राजनीति संस्थागत हुँदै जान्छ ।
निर्वाचन आयोगले उम्मेदवारले अधिकतम कति खर्च गर्न पाउने भनेर हरेक निर्वाचनअघि सीमा तोक्दै आएको छ । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन क्षेत्रको प्रकृति हेरी २२ लाखदेखि ३३ लाख रुपैयाँसम्म खर्च गर्न पाउने व्यवस्था गरिएको छ । कानुनी र...








