राप्तीको जल बोकेर ‘बोलबम’ : सिधनियाघाटदेखि शिवालयसम्म आस्थाको अविरल यात्रा
नेपालगन्ज, २५ साउन – बिहानको उज्यालो पूर्ण रूपमा फैलिनुअघि नै सिधनियाघाटको राप्ती किनारमा चहलपहल सुरु हुन्छ। कतै नदीमा स्नान गर्दै गरेका भक्तजन, कतै गेरुवा वस्त्रमा सजिएका काँवरिया, त कतै हातमा जलपात्र बोकेर शिवको नाम जपिरहेका श्रद्धालु । नदीको कलकलसँग मिसिएको एउटै स्वर सुनिन्छ—‘बोलबम’ ‘हरहर महादेव Û’
श्रावण महिना लागेसँगै सिधनियाघाटको राप्ती नदी केवल नदी रहँदैन, हजारौँ शिवभक्तका लागि आस्थाको केन्द्र बन्छ । राप्तीको पवित्र जल बोकेर भक्तजन विभिन्न शिवालयतर्फ लाग्छन् । कसैको काँधमा काँवर हुन्छ, कसैको हातमा कलश । कसैको मनमा मनोकांक्षा हुन्छ, कसैको ओठमा शिवको नाम ।
बाँकेको डुडुवा गाउँपालिका–५ स्थित सिधनियाघाट राप्ती नदीको महत्वपूर्ण घाटमध्ये एक हो । यहाँ श्रावणमा स्नान गरी बाँकेका विभिन्न शिवालयमा जलार्पण गर्ने धार्मिक परम्परा रहँदै आएको छ ।
राप्तीको जलमा आस्था ः हिन्दू धार्मिक परम्पराम...









