श्रीकृष्णको जीवन दर्शन : आधुनिक समाजका लागि मार्गदर्शक शिक्षा
क्षितिज विक्रम खनाल
मितिः २०८२/०४/३१ गते, शनिबार
श्रीकृष्ण जन्माष्टमी हिन्दू सभ्यतामा विशेष महत्व राख्ने पर्व हो। यो पर्वले केवल धार्मिक भावनालाई मात्र जागृत गर्दैन, यसले ऐतिहासिक, सामाजिक र दार्शनिक दृष्टिले पनि गहिरो सन्देश दिन्छ। द्वापर युगमा कंशको बन्दीगृहमा जन्मिएका कृष्णको जीवन यात्रा असाधारण रह्यो। मथुराको अत्याचारी राजा कंश आफ्नै बहिनी र उनको सन्तानको शत्रु बनेको अवस्थामा वसुदेव र देवकीका छोरा कृष्ण जन्मिए। जन्मेको क्षणदेखि नै उनको जीवन जोखिमपूर्ण र संघर्षमय थियो। कंशले देवकीका सबै सन्तानलाई मारिरहेको समयमा कृष्णलाई सुरक्षित राख्न वसुदेवले यमुना नदी पार गरेर गोकुल पुर्याए। त्यहाँ यशोदा र नन्दको स्नेह र माया पाएर कृष्ण हुर्किए। यसरी उनको बाल्यकाल आम ग्वालबालसँग बित्यो।
गोकुलमा हुर्किँदै गर्दा कृष्णको जीवन कथामा रमाइलोपन र गम्भीरता दुवै पाइन्छ। बाल्यकालमा उनले माखन चोरी गरेक...









