Friday, November 14सत्यम खबर
Shadow

सनातनी मन्दिर बागेश्वरीको सगरामा फोहोरको चाङ, श्रद्धालु आक्रोशित

नेपालगन्ज, १७ श्रावण – धार्मिक आस्था र सांस्कृतिक विरासतको केन्द्र मानिने बाँकेको बागेश्वरी मन्दिर अहिले दुर्गन्धित र फोहोरले भरिएको तालका कारण आलोचित बनेको छ । मन्दिर परिसरभित्र रहेको ऐतिहासिक तालमा फोहोरको चाङ लागेको, नालाको पानी मिसिएको र ढलको निकास सिधै त्यहीँ छाडिएको स्थानीयको गुनासो छ ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्वर २ मा अवस्थित बागेश्वरी मन्दिरलाई सनातनी हिन्दू धर्मावलम्बीहरू अत्यन्तै पवित्र स्थलका रूपमा लिन्छन् । हजारौं श्रद्धालुहरू यहाँ दैनिक पूजाआजा, स्नान, दर्शन र नित्यकर्मका लागि आउने गर्छन् । तर हाल मन्दिर परिसरभित्रको तालमा दुर्गन्ध, फोहोर र अपवित्रता फैलिएको छ । जसको कारण श्रद्धालुहरू आक्रोशित छन् र धार्मिक भावनामा गम्भीर चोट पुगेको महसुस गरिरहेका छन् ।

धार्मिक स्थल मै ढलको निकास स्थानीय वासिन्दा प्रमोद शर्मा भन्छन्, “यो त पवित्र स्थल हो, हामी यहीं नुहाएर मात्र दर्शन गर्छौं । तर अहिले त तालमा नुहाउने अवस्था छैन । वरिपरिका घरहरूले शौचालय र धाराको फोहोर पानी सिधै यहीँ झार्ने व्यवस्था मिलाएका छन् ।”

उनका अनुसार केही वर्ष अगाडि पनि यस्तै समस्या देखिएको थियो, तर स्थानीयको आवाज उठेपछि तत्कालीन मन्दिर व्यवस्थापन समितिले केही उपाय अपनाएको थियो । तर अहिले स्थिति पहिलेभन्दा पनि बिग्रेको छ । “न त नगरपालिका सुन्छ, न त मन्दिर समितिको ध्यान पुगेको देखिन्छ,” शर्मा भन्छन्, “शायद हामीले आवाज उठाउन छोडेकै कारण यस्तो भयो ।”

हरेक दिन बिहान मन्दिरमा आउने श्रद्धालु मधु देवकोटाले आफू २० वर्षदेखि यहाँ पूजा गर्न आउने गरेको बताइन् । “हामी सनातनी परम्परा अनुसार तालमा नुहाएर मात्र मन्दिर प्रवेश गर्छौं । तर अहिले बागेश्वरी तालको हालत देख्दा लाग्छ, धर्मलाई नै लत्याइएको छ,” उनले भनिन् ।

उनका अनुसार तालबाट अहिले दुर्गन्ध आउँछ । थोरै पानी छ त्यो पनि फोहोर पानी स्थिर भएको छ, वरिपरिका झारजंगल बढेको छ र प्लास्टिकको थुप्रो देखिन्छ । “धार्मिक स्थलमा यस्तो हुन दिनु आफैंमा अपराध हो । हामी श्रद्धा लिएर आउँछौं, यहाँ आस्थाको अपमान भइरहेको छ,” देवकोटाको भनाइ छ ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्वर १ निवासी र सेवा निवृत्त शिक्षक रामकृष्ण उपाध्याय बागेश्वरी मन्दिरमा नियमित पूजा गर्ने भक्त हुन् । उनले भने, “धार्मिक स्थलहरू हाम्रो पहिचान हुन् । बागेश्वरी मन्दिर नेपालको प्रसिद्ध शक्ति पीठ मध्ये एक हो । त्यहाँको ताल मै ढल मिसाउने काम गर्नु भनेको परम्पराको अपमान हो ।”

मन्दिरको यो अवस्था देख्दा धेरै जसो श्रद्धालु रिसाएको देखिन्छ । मन शान्ति र सुख प्राप्तिका लागि भक्तजन आएका हुन्छन् तर यसतर्फ ध्यान कसैको गएको छैन् ।

भिडियो हेर्न तलको लिंकमा क्लीक गर्नुस

Leave a Reply

Your email address will not be published. Required fields are marked *