
नेपालगन्ज, १५ श्रावण – अवधी सांस्कृतिक प्रतिष्ठानको आयोजनामा नेपालगन्जमा ५२८औँ गोस्वामी तुलसीदास जयन्ती विविध कार्यक्रम गरी भव्य रूपमा मनाईएको छ । प्रत्येक वर्ष झैस यसवर्ष पनि प्रतिष्ठानद्वारा सम्पन्न कार्यक्रममा अवधी भाषा, साहित्य र संस्कृति संरक्षणमा योगदान पु¥याउने व्यक्तिहरूलाई विशेष सम्मानका साथै गोश्वमी तुलसीदासको विभिन्न माध्यम कविता, गीत, सोहर, छंद लगायत बाचन गरी जीवनी स्मरण गरिएको थियो ।

कार्यक्रमको अध्यक्षता प्रतिष्ठानकी कावाअध्यक्ष शुशीला वैश्यले गरेकी थिइन् । प्रमुख अतिथिका रूपमा मधेशी आयोगका कावाअध्यक्ष तथा विशिष्ट अतिथिका रूपमा आयोग कै सदस्य विजयकुमार गुप्ता, प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीको सहभागिता रहेको थियो ।

भारतबाट विशेष अतिथिका रूपमा आमन्त्रित अवधी भाषा प्रबद्र्धक सन्दीप मिश्रा र इन्द्रेशबहादुर भदौरियालाई अवधी भाषा संरक्षणमा पु¥याएको विशिष्ट योगदानको कदर गर्दै सम्मानपत्र प्रदान गरिएको थियो ।
त्यसैगरी, पत्रकार सावित्री गिरीलगायत करिब ४० जना व्यक्तित्वहरुलाई अवधी भाषा र साहित्य प्रवद्र्धनमा पु¥याएको योगदानका लागि कदरपत्र र मायाको चिनो प्रदान गरिएको थियो । ‘बिमला–बिष्णु अवधी सेवा सम्मान–२०८२’ बाट अवधी भाषी पत्रकार चन्द्रेश्वरराज त्रिपाठी र नन्दलाल साहुलाई नगद रु. १२५० सहित सम्मानपत्र प्रदान गरिएको थियो ।

कार्यक्रमको विशेष आकर्षणका रूपमा आयोजित बहुभाषिक कवि गोष्ठीमा अवधी, नेपाली, मैथिली लगायत भाषामा साहित्यकारहरूले आफ्ना रचनाहरू प्रस्तुत गरिएको थियो । गोष्ठीले विविध भाषाको समन्वयमार्फत गोश्वामी तुलसीदासको योगदानप्रति श्रद्धा अर्पण गरिएको थियो ।
कार्यक्रममा अतिथिहरूले गोस्वामी तुलसीदासका काव्य रचनाहरू — विशेष गरी रामचरितमानसको सामाजिक, सांस्कृतिक र भाषिक महत्वमाथि प्रकाश पारेका थिए । प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले रामचरितमानसका पाँच श्लोक वाचन गरी कार्यक्रममा उत्साह थपेका थिए ।

सांस्कृतिक पक्षमा अवधी भाषी महिलाहरूले सोहर, कजरी गीत, विवाह गीत जस्ता मौलिक अवधी प्रस्तुति दिएर कार्यक्रमको वातावरण झनै भावनात्मक र सांस्कृतिक रुपमा समृद्ध बनाएका थिए ।
कार्यक्रमको सञ्चालन विष्णुलाल कुमालले गरेका थिए भने कावाअध्यक्ष शुशीला वैश्यले अन्त्यमा सबै सहभागी, अतिथि र सहयोगीहरूलाई धन्यवाद दिँदै कार्यक्रमको औपचारिक समापन गरेकी थिइन् ।

भिडियो हेर्न तलको लिंकमा क्लीक गर्नुस
