
नेपालगन्ज, २५ साउन – बिहानको उज्यालो पूर्ण रूपमा फैलिनुअघि नै सिधनियाघाटको राप्ती किनारमा चहलपहल सुरु हुन्छ। कतै नदीमा स्नान गर्दै गरेका भक्तजन, कतै गेरुवा वस्त्रमा सजिएका काँवरिया, त कतै हातमा जलपात्र बोकेर शिवको नाम जपिरहेका श्रद्धालु । नदीको कलकलसँग मिसिएको एउटै स्वर सुनिन्छ—‘बोलबम’ ‘हरहर महादेव Û’
श्रावण महिना लागेसँगै सिधनियाघाटको राप्ती नदी केवल नदी रहँदैन, हजारौँ शिवभक्तका लागि आस्थाको केन्द्र बन्छ । राप्तीको पवित्र जल बोकेर भक्तजन विभिन्न शिवालयतर्फ लाग्छन् । कसैको काँधमा काँवर हुन्छ, कसैको हातमा कलश । कसैको मनमा मनोकांक्षा हुन्छ, कसैको ओठमा शिवको नाम ।
बाँकेको डुडुवा गाउँपालिका–५ स्थित सिधनियाघाट राप्ती नदीको महत्वपूर्ण घाटमध्ये एक हो । यहाँ श्रावणमा स्नान गरी बाँकेका विभिन्न शिवालयमा जलार्पण गर्ने धार्मिक परम्परा रहँदै आएको छ ।
राप्तीको जलमा आस्था ः हिन्दू धार्मिक परम्परामा श्रावण महिना भगवान शिवको प्रिय महिना मानिन्छ । यस महिनामा शिवलिङ्गमा जल चढाउने, बेलपत्र अर्पण गर्ने र उपवास बस्ने चलन छ । यही आस्थालाई पछ्याउँदै भक्तजन नदी, कुण्ड तथा पवित्र जलाशयबाट जल लिएर शिवालय पुग्छन् ।
सिधनियाघाटमा पनि यही दृश्य दोहोरिन्छ ः राप्तीमा डुबुल्की लगाइसकेपछि भक्तजन आफ्नो काँवर वा जलपात्रमा नदीको जल भर्छन् । त्यसपछि सुरु हुन्छ शिवधामतर्फको यात्रा । बाटोमा थकान हुन्छ, गर्मी हुन्छ, कहिलेकाहीँ वर्षा पनि हुन्छ । तर ‘बोलबम’को जयघोषले यात्राको कठिनाइलाई छोपिदिन्छ ।

‘बम बम भोले…’ हरहर महादेव…’ यही जयघोषसँगै अघि बढ्छन् शिवभक्तहरू । जलसँगै चढ्छ श्रद्धाको थाली ः शिवालय पुग्दा भक्तजनको हातमा केवल राप्तीको जल हुँदैन । पूजा सामग्रीको थालीमा बेलपत्र, धतुरा, अक्षता अर्थात् चामल, फूल, दूध, दही, महलगायतका सामग्री पनि हुन्छन् ।
शिवलिङ्गमा पहिले जल अर्पण गरिन्छ । त्यसपछि बेलपत्र, फूल, धतुरा र अक्षता चढाइन्छ । कसैले परिवारको सुख–शान्तिको कामना गर्छन्, कसैले रोग–व्याधि निको होस् भनेर प्रार्थना गर्छन् । कतिपयले आफ्नो मनोकांक्षा पूरा भएपछि पुनः काँवर बोकेर आउने संकल्पसमेत गर्छन् ।
धतुरा र बेलपत्रजस्ता सामग्री भगवान शिवसँग जोडिएको धार्मिक प्रतीकका रूपमा भक्तजनले श्रद्धापूर्वक अर्पण गर्ने गरेका छन् । शिवपूजामा जल, अक्षता, बेलपत्र, धतुरा, फूललगायत सामग्री अर्पण गर्ने परम्परा विभिन्न क्षेत्रमा प्रचलित छ ।
काँधमा काँवर, मनमा महादेव ः बोलबम यात्राको सबैभन्दा आकर्षक पक्ष काँवर हो । बाँस वा अन्य सामग्रीबाट बनाइएको काँवरको दुवैतर्फ जलपात्र झुन्ड्याइएको हुन्छ । भक्तजनले काँवरलाई काँधमा राखेर शिवालयसम्म पैदल यात्रा गर्छन् ।

कसैका लागि यो धार्मिक अनुष्ठान हो, कसैका लागि आत्मिक यात्रा । उमेरले वृद्धदेखि किशोरसम्म, महिला–पुरुष सबै यो यात्रामा सहभागी देखिन्छन् ।
यात्रामा एकअर्कालाई पानी खुवाउने, बाटो देखाउने र थकितलाई सघाउने संस्कारले बोलबम यात्रालाई धार्मिक यात्रामात्र नभई सामाजिक एकताको यात्रासमेत बनाएको देखिन्छ ।
राप्ती नदी सिधनियाघाटको धार्मिक जीवनसँग जोडिएको छ । घाटमा तीर्थ–स्नान तथा धार्मिक गतिविधि हुने गरेको छ भने यही क्षेत्र हिन्दू परम्पराअनुसार अन्त्येष्टिका लागि समेत प्रयोग हुँदै आएको छ ।
