खजुरामा समूहले महिलामा ल्याएको परिवर्तन
खजुरा, ११ चैत्र – एक वर्ष अघिसम्म खजुरा ६ की बालकुमार विक आफ्नो घरायसी काम गर्थिन । गाउँमा हुने कार्यक्रममा जाँदा एउटा गृहणी महिलाको प्रतिनिधित्व गरेर जाने गर्थिन तर, अहिले भने उनको पहिचान फरक बनेको छ । गत वर्ष खजुरा गाउँपालिकाले महिलालाई उद्यमी बनाएर आयआर्जनमा जोड्दै आत्मनिर्भर बनाउन समूहमा आवद्ध गदाराउँदा उनको पहिचान मात्र बदलिएन आँट अठोस र भरोसा पनि बढेको छ । पहिला कसैसंग बोल्न पनि लाज मान्ने उनी अहिले निर्धक्क आफ्ना र समुदायका महिलाका कुरा राख्न त सक्छिन नै विभिन्न कार्यक्रममा मञ्चमा गएर भाषण पनि मज्जाले गर्छिन ।
शुक्रबार खजुरा ६ मा आयोजित कृषि तथा पशु उद्यमशीलता विकास परियोजना सहकारी सदस्यता अभिवृद्धि अभियानमा उनले समूहको तर्फबाट आफ्नो प्रतिवेदन प्रस्तुत गर्दै भनिन् समूहमा बसेपछि बचत गर्ने बानी, अरुलाई सहयोग गर्ने नयाँ तथा सकारात्मक सोच र जाँगर बढेर आएको छ । खजुरा गाउँपालिकाद्व...









