क्रिसमसको बढ्दो प्रभाव: हिन्दु बहुल नेपालमा सहिष्णुता कि सांस्कृतिक भ्रम ?
क्षितिज विक्रम खनाल –
मितिः २०८२ पौष १० गते, बिहिबार
नेपाल हिन्दु बहुल राष्ट्र हो। यहाँको सामाजिक संरचना, सांस्कृतिक चेतना, पर्व–परम्परा र जीवनदर्शनको मूल आधार हिन्दु दर्शनमै टेकेको छ। यद्यपि नेपाल बहुधार्मिक देश हो र यहाँ विभिन्न धर्म, संस्कृति र परम्पराहरू सहअस्तित्वमा छन्। यही सहअस्तित्वको परिवेशमा पछिल्ला वर्षहरूमा “क्रिसमस डे” नामक पर्व नेपालमा तीव्र रूपमा देखिन थालेको छ। यो केवल एउटा नयाँ पर्वको प्रवेश मात्र होइन, बरु सांस्कृतिक चेतना, धार्मिक समझदारी र सामाजिक दिशाबोधसँग जोडिएको गम्भीर प्रश्न पनि हो।
क्रिसमस डे मूलतः इसाई धर्मसँग सम्बन्धित पर्व हो। यो दिन इसाई धर्मका संस्थापक ईसा मसीहको जन्मको सम्झनामा मनाइन्छ। धार्मिक मान्यताअनुसार ईसा मसीहलाई परमेश्वरको पुत्र तथा मानव जातिको उद्धारक मानिन्छ। बाइबलको नयाँ करारमा उल्लेख भएअनुसार उनको जन्म अत्यन्त साधारण परिवेशमा भएको थियो। ...









