

विष्णु पादुका
मिति : २०८२ पौष ४ गते, शुक्रबार
कथाको चुरो समातेर सटिक र संक्षिप्त स्वरुपमा देखाउने कला भेटिन्छ लघुकथामा । कल्पध्वनि यसको शाब्दिक अर्थ हुन्छ – कल्पनाबाट जन्मिएको ध्वनि, अर्थात् वास्तविक रूपमा नसुनिने तर अनुभूतिमा बज्ने आवाज ।
कथाहरूका केही अर्थ–स्तर अवस्य हुन्छन् । मन, स्मृति, पीडा, प्रेम, डर वा आकांक्षाले सिर्जना गर्ने आन्तरिक आवाज बोकेर ।
उदाहरणका लागि मौनताभित्र पनि बजिरहने सम्झनाको स्वर हुन्छ । नबोलेको पीडाको आवाज, शब्द बन्न नपाएको अनुभूतिको गुञ्जन हुन्छ । चेतनाको भित्री कम्पन जहाँ ध्वनि कानले भन्दा मनले सुन्छ । यो नै अस्तित्वको सूक्ष्म संकेत हो । कल्पध्वनि भन्नाले दृश्य नभएको दृश्य, आवाज नभएको संगीत,अनुभूतिले मात्रै चिन्ने संकेत जनाउँछ ।
कल्पध्वनि भनेको मौनभित्र लुकेको आवाज हो, जो यथार्थभन्दा गहिरो र अनुभूतिभन्दा नजिक हुन्छ ।
समाजका पचपन्न झ्यालबाट नियालिएका दृश्यले भरिएको सानो चिटिक्कको पुस्तक हो जिज्ञासु कल्पना पौडेल को । उहाँ लघुकथाको आँगनमा मज्जाले नाची सक्नु भएकोले पछिल्लो चरण निकै सुन्दर बान्कीका कथा पस्किन सफल हुनुभएको देखिन्छ ।
बिट मारिएको कथा हो सद्भाव । सामाजिक सद्भाव बिथोल्ने तत्वको बिगबिगी भए पनि मौलानाको अभिव्यक्तिले दिएको सद्भाव उदाहरणिय छ सामाजिक रूपमा । बाल मानसिकतामा अभिभावकको व्यवहार बाट पर्न जाने असरको उजागर हो अनुकरण । सक्षम नारीबाट हुनसक्ने क्षमता र आत्मविश्वासको प्रदर्शन हो विकल्प । विकल्प जो कोहिसँग जहिले पनि हुन सक्छ भन्ने सन्देश पारिवारिक किचलोको पराकाष्ठा हो । स्वदेश होस् या विदेश धोका नजिकैको हेलमेल भएकै साथिबाट हुन्छ विश्वासघातमा । आमाको महत्व दर्शाउने कथा बनेको छ पछुतो, सबैकुराको महत्व अभावमा खड्किन्छ । अप्ठ्यारोमा काम आउने प्रेमको मूल्य दर्शाइएको छ सम्बन्धमा । कर्तव्य निभाउन चोरको प्रशंसा गरिएको छ र सफलता प्राप्त भएको छ अनुसन्धानको । बालबालिकाको यौन हिंसाको संकेत भेटिन्छ अभिभावकत्वमा । संगोलका भाइ मिल्नुमा बुवाआमाको एक वचन काफी हुने जिकिर गरिएको छ झगडामा । आफ्नो सन्तानलाई सज्जन देख्ने पारिवारिक मनोवृत्ति माथीको व्यंग्य हो संगत कथा ।
लघुकथा शब्दमै यसको आत्मा लुकेको हुन्छ । लघु अर्थात् सानो, कथा अर्थात् कथ्य । तर लघुकथा आकारमा सानो भए पनि अर्थ, संवेदना र प्रभावमा अत्यन्त गहिरो विधा हो । यो सीमित शब्दभित्र जीवनको कुनै एक क्षण, विसंगति, पीडा, व्यंग्य वा सत्यलाई तीव्र चोटसहित प्रस्तुत गर्ने साहित्यिक संरचना हो ।
प्रभावकारी लघुकथाको संरचनात्मक सूत्र पनि हुनेगर्छ । शीर्षक , तीव्र आरम्भ, एक केन्द्रीय क्षण, अप्रत्याशित मोड र मौन अन्त्य प्रभावकारी लघुकथाका गहना मानिन्छन् ।
रहस्यको पोको फितलो कथा लाग्छ पाठकलाई । शिर्षकको भार कथाले बोक्न नसकेको स्पष्ट देखिन्छ । पुरुषलाई शंका गर्न खास प्रमाण नचाहिने तर्क देखाउँछ विश्वासले । जातिय विभेद मुखले बोल्ने र आदर्श देखाउने पात्रले नै बढी गर्छ भन्ने तितो सामाजिक धरातल छोएको छ मानसिकताले । आश्चर्य कथाको गाँठो अदृश्य हो कि जस्तो लाग्यो । उपचारमा फेरि योगको बिषयले पुनरावृत्ति पाएको छ । मन कसैले देख्दैन हुन पनि हो कसैले देख्ने भएको भए त धन या तन हुन्थ्यो नि मन । बुद्धि साच्चिकै मीठो कथा हो । मुल्यांकन कथाको चुरो नरम लाग्छ । सरकारका कुरा चियाको सुर्की सँग शुरुहुन्छ र चियासँगै सकिन्छ । उत्कृष्ट कथाको शृंखलामा भमरो पनि परेको छ । नियतको नियती स्पष्ट देखिएको छ कथामा । किताब किनेर नपढ्ने पठन संस्कृतिको माथिको पटाक्षेप यथार्थमा कोरिएको छ ।क्रान्तिको पल्ला कुन बेला पल्टिन्छ फुलारामलाई के थाहा । जयरामको क्षमता प्रदर्शन सकारात्मक सन्देश युक्त कथा बनेको छ । कुरो र मनको चुरो फरक छ समानतामा । भेदभाव कथामा क्रान्तिको सानो झिल्को देखिन्छ । जो चोर उसैको ठूलो स्वर उखान चरितार्थ छ परिणाममा । सामाजिक यथार्थ बोकेको छ बुढेसकालले । हेडसर जिम्मेवारीको बोझले थिचिने र अपजसको बोझ त्यसैमा थपिने ब्यवसायीक यथार्थ हो । योजना समयमै तुहिएकाले कोहि बरबाद हुन बाट जोगाएको छ कथाले । शंकाको सकारात्मक अन्त्यले मिठास थपेको छ । बिद्रोहको नयाँ झुल्कोले उज्यालो थपेको छ । परिक्षाको परिक्षण सकारात्मक छ । चेतना पनि त दुईथरी देखिए । बालक माथी पनि लवाइ खुवाइले फरक पारेको देखाइएको छ । अपराधको परिणाम बोकेको छ अपराध कथाले । माया पनि कहिलेकाही कसैको छायामा पर्छ भन्ने दर्शाएको छ मायाले । इच्छा सामाजिक समस्याको उजागर हो । विभेद अर्को एक क्रान्तिमय कथा हो जहाँ नारीको आवाज बुलन्द सुनिन्छ । ज्योतिषी नेपाली समाजको अन्धविश्वास चिर्न आएको कथा हो । रजस्वलाको उत्सव पनि नारीमाथिको दमन बिरुद्ध उभिएको छ । अस्पतालको दलाली आफैं एकदिन आफै असहयोगको सिकार भएको छ ।

लघुकथाको मर्म हो बिरोधाभाष ! जुनसुकै कथामा एकैखाले बिरोधाभाषले पाठकले पाउने स्वादमा कमि आउँछ । विचार र ब्यवहारमा देखिने असन्तुलनले नै समाज असामाजिक हुँदै गएको हो भन्ने सारभूत भाव भेटिन्छ अधिकांस कथामा ।
देखाउने र चपाउने दाँत दुईथरी छन् अधिकारकर्मीका । योगाभ्यासको महत्व बोकेको छ जीवनबुटीले ।अभिशप्त जिन्दगीबाट पाउने मुक्ती बनेको छ मृत्यु उन्मुक्ती भित्र ।एक योजनावद्द आयोजना हो सार्वजनिक बेइज्जत गर्ने बौद्धिक चोरी कथा । समयको अन्तरालले पनि बिरिधाभाषी बनाउँछ भन्ने दृष्टान्त हो आमा । प्रकृतिका तर्क र घटना अति सरल लाग्छन् । जमाना फेरिएको प्रसंग टुटेको स्पष्ट देखिन्छ । विचारको लडाइँमा पनि मानवियता जिउँदो देखाइएको छ मानवता मा ।
संकल्प एक सुधारोन्मुख मनोवृत्तिको ऐना हो । छोरी एक जन्मेक्षा कथा हो । माता पिताको सेवा गर्नेहरूले सम्मान पाएको देखाउनु एउटा उदाहरण हो समाज सुधारको । दाइजो र इज्जतको औकात पनि पैसासँग नै जोडिएको स्पष्ट बुझिन्छ । सन्तान केवल जैबिक मात्र हुन्न साहित्यिक संग्रह पनि सन्तान हो भन्ने बुझाउन प्रयास भएको छ सन्तानमा ।
निरन्तर लघुकथा (तेश्रो कृतिसम्म) लेखिरहनु कल्पना जिज्ञासुको अथक लगन हो भन्छु म । प्रत्येक लघुकथालाई एक एक वाक्यमा टिपोट गरिसक्दा एउटा निष्कर्ष भेटिन्छ सकारात्मक सोचको । समाज बिरोधाभाषी छ । त्यसलाई चिर्न आवश्यक छ । कथामा कतै शिर्षक बलियो र कथा फितलो । कतै कथा बलियो र शिर्षक फितलो भएको हो कि । केही ठाउँमा छपाई त्रुटि पनि भेटिन्छन् तर सरल बनोट र कोमल काल्पनिकिले सबै कथा सिँगारिएका छन् ।
नारी हस्ताक्षर भए पनि धेरै कथा सामाजिक छन् । मियोमा नारी हुनु त सामाजिक यथार्थता नै हो । कथामा पात्र चयन र उपस्थितिमा मज्जाले ध्यानाकर्षण भएको देखिन्छ भने सम्बाद टुटेको देखिन्छ कतै फड्किएको जस्तो लाग्छ । प्रसंग टुटेको छ केही कथामा जसलाई सारमै समेटियो ।
कल्पध्वनि सारमा पठनिय अनि संग्रह योग्य कृति बनेको छ । सफलताको शुभकामना ।
कोहलपुर –४, बाँके
