फोनिजकाे एक दिने निःशुल्क स्वास्थ्य चेकजाँचमा ३ सय ४८ जनाले लिए सेवा
नेपालगन्ज, १५ फागुन - नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बाँकेले आयोजना गरेको एक दिने निःशुल्क स्वास्थ्य चेकजाँच कार्यक्रममा ३ सय ४८ जनाले सेवा लिएका छन्।
नेपाल मगर दिवसको अवसर पारेर सञ्चालन गरिएको उक्त स्वास्थ्य शिविर बाँकेको कोहलपुर न्युरोड खुल्ला मञ्च र खजुरा गाउँपालिका वडा नं. ३ बहुउद्देश्यीय सभाहल मा सम्पन्न भएको थियो। कोहलपुरमा १ सय ८८ जना र खजुरामा १ सय ६० जना गरी जम्मा ३ सय ४८ जनाले निःशुल्क स्वास्थ्य परीक्षण तथा परामर्श सेवा लिएको फोनिज बाँकेका अध्यक्ष अशोक थापा मगरले दिनुभयो।
स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको शिविरमा रक्तचाप, मधुमेह (सुगर), सामान्य स्वास्थ्य परीक्षण, परामर्श सेवा लगायत आवश्यक प्राथमिक उपचार प्रदान गरिएको थियो। विभिन्न उमेर समूहका स्थानीय सर्वसाधारण, ज्येष्ठ नागरिक तथा महिलाहरुको उल्लेखनीय सहभागिता रहेको आयोजकले जनाएको छ।
...









