
नेपालगन्ज, १२ फागुन – जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) ले बाँके निर्वाचन क्षेत्र नं. २ अन्तर्गत डुडुवाको कम्दीमा चुनावी सभा आयोजना गरेको छ।
आफ्ना उम्मेदवार कमरुद्दिन राईको पक्षमा माहोल बनाउन आज चुनावी सभा गरेको हो । चुनावी सभालाई सम्वोधन गर्दै बाँके क्षेत्र नं.२ का प्रतिनिधिसभा उम्मेदवार राईले सबै उम्मेदवारलाई अहिले कमरुद्दिनबाट त्रासमा रहेको बताए ।
आफुले जनताको हितमा काम गरेका कारण अन्य सबै उम्मेदवार डराएको बताए । पैसा र पावरमा जनतालाई भ्रममा पार्न खोजिएको भन्दै उनले आक्रोश पोखे । उनले विपक्षीहरु आफ्नो डरले जनतालाई आफ्नो पक्षमा पार्न पैसाका ठेकेदारहरु घरघरमा पुगेको टिप्पणी गरे । उनले बाँके क्षेत्र नं.२ मा भएको विकास निर्माणमा जसपाका अध्यक्ष उपेन्द्र यादवको हात रहेको बताए ।

पार्टीको नाममा गद्दार गर्नेहरुले विकास गर्न नसक्ने र विकास पनि नगरेको टिप्पणी गरे । उनले मोहम्मद इस्त्यिाक राईले जसपाबाट टिकट लिएर जितेको भन्दै बाँके क्षेत्र नं.२ मा भएको विकासको कामको श्रेय पनि जसपाले लिने बताए ।
मधेशी तथा मुस्लिम जनतालाई धोका दिएर जानेहरुले विकास नगर्ने र त्यस्ता स्वार्थि व्यक्तिहरुलाई परास्त गर्न उनले मतदाताहरुसँग आग्रह पनि गरेका छन् । उनले पैसाको लोभमा, रक्सीको लोभमा आफ्नो मत नहाल्न आग्रह गरे । यो चुनाव अत्यन्तै महत्वपूर्ण रहेकाले जनताको हितमा काम गर्नेलाई मत दिन आग्रह गरे । उनले आफु त्यसका लागि सधैं जनताको साथमा हुने पनि दावी गरे ।
