Saturday, February 21सत्यम खबर
Shadow

नेपाललाई मेडल दिलाउन खेलाडीको भूमिका अहंम : केन्द्रीय सदस्य थापामगर

नेपालगन्ज, ८ फागुन – नेपालगन्जमा शुक्रबारबाट प्रथम नेपालगन्ज आदर्श तेक्वान्दो दोजाङ्ग प्रतियोगिता २०८२ सुरु भएको छ । नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्य श्रीमान थापा मगरले प्रतियोगिताको उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै थापा मगरले आफुहरुलेसमेत खेलेको इतिहास नेपालगन्ज रंगशालासँग जोडिएको बताउनुभयो । प्रतियोगितामा सहभागि भएका खेलाडीहरुले शशक्त ढंङले खेलेर प्रतियोगिता सफल बनाउन अनुरोध गर्नुभयो । राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा भएका प्रतियोगितामा बाँके खेलाडीको योगदानले नै नेपालले मेडलहरु ल्याउन सफल भएको समेत थापामगरले उल्लेख गर्नुभयो ।

देशका लागि खेलाडीहरुको भूमिका अहम रहेकाले सम्पूर्ण खेलाडीहरुप्रति संघले गर्व गरेको थापाले उल्लेख गर्नुभयो । नेपाल तेक्वान्दो संघ जिल्ला कार्यसमिति बाँकेका अध्यक्ष प्रकाश लामिछानेको अध्यक्षतामा भएको उद्घाटनमा जिल्ला खेलकुद विकास समिति बाँकेका प्रमुख सन्तोष श्रेष्ठले स्वागत मन्तब्य व्यक्त गर्नुभएको थियो ।

लामो समयदेखि नेपालगन्जमा कुनै प्रकारको तेक्वान्दो प्रतियोगिता नभएकोले प्रथम पटक तेक्वान्दो प्रतियोगिता आयोजना गरिएको आदर्श तेक्वान्दो दोजाङ्गका चन्द्र प्रकाश श्रेष्ठले जानकारी दिनुभयो । प्रत्येक युवा तथा नागरिक अनुशासित, सभ्य, राष्ट्रप्रेमी र स्वस्थ रहे मात्र आफ्नो ठाउँ तथा जिल्ला र देशको परिवर्तनमा सहभागी हुन सक्ने भएकाले यस्तो प्रतियोगिताको निरन्तरतामा जोड दिने श्रेष्ठको भनाई छ ।

‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने गरिन्छ,’ श्रेष्ठले भन्नुभयो, ‘यसको मुलमन्त्र पनि सबै संस्थाले पालना गर्नुपर्छ ।’ आदर्शको लक्ष्य पनि अब यस्तो प्रतियोगितालाई नियमित गर्नु रहेको श्रेष्ठले बताउनुभयो । उद्घाटनमा विशेष अथितिका रुप्मा राष्ट्रिय खेलकुद परिषदका पूर्व केन्द्रीय सदस्य राजेन्द्र कुमार शाही, मध्यपश्चिम खेलकुद विकास समितिका प्रशिक्षण प्रमुख जयन्त कुमार श्रेष्ठ, लुम्बिनी तेक्वान्दो संघका उपाध्यक्ष महेश थापालगायतको उपस्थिति रहेको थियो ।

प्रतियोगिता संचालनका लागि आयोजकले निजी क्षेत्रसंग सहकार्य गरेको छ । प्रतियोगितामा २० वटा दोजाङ्गबाट करिब तीन सय जना खेलाडी सहभागी हुने छन् । प्रतियोगितामा विजेता, उपविजेता र तृतीय हुनेलाई मेडल प्रमाणपत्र र नगद प्रदान गरिने जनाइएको छ । बिहान ७ बजेदेखि सुरु हुने प्रतियोगितामा उपस्थितिका लागि सबै खेलप्रेमीलाई आयोजकले आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *