
नेपालगन्ज, १५ कार्तिक – दोस्रो नेपालगन्ज नेशनल स्वीमिङ च्याम्पिनसीप २०२५ को शनिबार दोस्रो दिनका खेलहरु बिहानैदेखि सुरु भएका छन् ।

प्रतियोगिताका प्रमुख पौडी प्राविधिक विष्णु खड्काका अनुसार शनिबार थप २६ इभेन्ट हुनेछन् । जसमा २५ मिटरदेखि ४०० मिटरसम्मका विभिन्न विधाका स्पर्र्धाहरु रहेका छन् ।
पहिलो दिनको खेलमा ललितपुरको सगरमाथा स्वीमिङ क्लबले ३१ पदकसहित खेलमा अग्रता लिएको छ ।

प्रतियोगिताका प्रमुख पौडी प्राविधिक विष्णु खड्काका अनुसार शुक्रबार भएका २६ इभेन्ट मध्ये सगरमाथा क्लब एक्लैले १९ स्वर्ण, ६ रजत र ६ वटा काँस्यसहित ३१ पदक जितेर अग्रता लिएको छ । क्लबले जितेको स्वर्ण पदक मात्रै प्रतियोगिताको कूल स्वर्ण पदकको ७३ प्रतिशत हो । ललितपुरकै जेम्स स्कुलले ५ स्वर्ण, १० रजत र २ काँस्य गरी १७ पदक जितेर दोस्रो अग्रता लिएको छ ।

नेपालगन्जको आदर्श माध्यमिक विद्यालयले १ स्वर्ण ४ रजत र १ काँस्य पदक गरी ६ पदक, ललितपुर कै लिटिल एञ्जल्स स्कुलले १ स्वर्ण, २ रजत र ३ काँस्य गरी ६ पदक, बाँके कोहलपुरको शिखा एकेडेमीले एउटा पनि स्वर्ण नजिते पनि ३ रजत र ५ काँस्यसहित ८ वटा पदक जितेको छ ।

नेपालगन्ज कै स्प्रिङडेल स्कुल र काठमाडौंको युनिग्लोब स्कुलले समान दुई दुई काँस्य पदक जितेका छन् ।
नेपालगन्ज स्वीमिङ क्लब बाँके, काठमाडौैंकोे राई स्कुल र कोशी प्रदेशले पनि समान एक एक काँस्य पदक जितेका छन् । प्रतियोगितामा देशभरबाट १५० जना खेलाडीको सहभागिता रहेको छ ।
