
महेश चौधरी
डुडुवा, भाद्र ११–अबिरल बर्षाका कारण बाँकेको डुडुवा गाऊँ पालिका वडा नं.१, २, ३, ४ र ५ को अधिकतर गाऊँहरु डुबानमा पर्ने सम्भावना बढदै गईरहेको छ ।

वडा नं.१ स्थित पिपरहवा र कन्धैपुर्वाको बीचमा रहेको सडक डुडुवा खोलाले कटान गरी रहेको कारण स्थानीयहरु आवत जावतमा समस्या हुने भनी गुनासो गरेका छन । उक्त बाटो कटे हाम्रो गाऊँ डुबानमा पर्ने भनि स्थानिय वासीहरुको भनाई रहेको छ । डुडुवा खोला नजीक रहेको प्रायः जसो गाऊँहरु डुबानमा पर्ने सम्भावना बढीरहेको देखिन्छ ।

यसै गरी अबिरल बर्षाले गर्दा गाऊँ भित्र पानी जमी घरहरु भस्किरहेका छन । डुडुवा वडा नं.३ स्थित बनकटवा गाऊँमा आज परेको पानीले गर्दा गणेश खटिकको घर भस्किएको हो । राती पानी पर्दा घरको दिवाल खस्ने आवाज आउने बित्तिकै घरबाट बाहिर भागी आएको, घरमा रहेको लत्ता कपडा, धान गहूं समेतको नोक्सानी भएता पनि मानवीय क्षति नभएको कुरा खटिकले बताउनु भएको हो ।

यसै गरी मयाराम चमार, बटखरी चमार, राम सूरत कोरी, कुरकुट चमार, लक्ष्मण चमार र भुजउ चमार समेतका घरको दिवाल भस्किएको हो । गाऊँमा भरिएको पानीलाई इनजन लगाई बाहिर फाल्न प्रयासरत रहेको उक्त गाऊँमा सहरी बिकास मन्त्रालयको लगानीमा नयाँ बाटो निर्माणाधीन रही हाल पानी निकासका लागि नाली नभएको कारण गाऊँ भित्रै पानी जमी घरहरु भस्की रहेको स्थानिय वासीहरुको भनाई रहेको छ । यसै गरी गाऊँ पालिकाले पनि गाऊँ भित्र निर्माण गरेको आर.सी.सी. बाटोमा बाटो निर्माण गर्दा पानी निकासका लागि नाली निर्माण नगरी लापरवाही गरेको कुरा स्थानिय वासीहरुको गुनासो रहेको छ । यसै गरी वडा नं.३ स्थित राजारामपुर्वा, लोधपुर्वा, कटहिया, रमपुर्वा डुबानमा पर्ने सम्भावना बढदै गई रहेको छ भने हलबलडोली गाऊँमा पनि पानी लागी घरहरु भासिने कुरा स्थानियवासीहरुले बताएका छन ।
