कांग्रेसको अबको मार्गचित्र : पुनर्जागरणको संघर्ष र नयाँ युगको खोज
रमेश कुमार बोहोरा
मिति : २०८२ असोज ३१ गते, शुक्रबार
नेपालको राजनीतिक इतिहासमा नेपाली कांग्रेस एउटा यस्तो शक्ति हो जसले देशलाई लोकतन्त्रको उज्यालोमा पुर्यायो तर अहिले आफ्नै छायाँभित्र हराएको जस्तो देखिन्छ । इतिहासमा अंकित त्याग, संघर्ष र बलिदानका गौरवपूर्ण पानाहरू अहिले केवल स्मृतिको तहमा सीमित भइरहेका छन् । मुलुक पुनः संक्रमणकालीन जटिलताबाट गुज्रिरहेको छ जहाँ पुराना शक्ति संरचनाहरू ढल्दै छन् र नयाँ पुस्ता सडकमा परिवर्तनको स्वर उठाइरहेछ । यही अवस्थामा नेपाली कांग्रेस आफैंसँग प्रश्न गरिरहेको छ । हामी कहाँ छौं र अब कहाँ जाने ?
सन् १९४७ मा प्रजातान्त्रिक मूल्य र मान्यताको बीज रोप्ने उद्देश्यले स्थापित भएको नेपाली कांग्रेसले राणा शासनविरुद्धको क्रान्तिमा निर्णायक भूमिका खेलेको थियो । बी.पी. कोइरालादेखि गणेशमान सिंह र किशुनजीहरूसम्मको नेतृत्वले देशलाई लोकतन्त्र, संविधान र नागरिक अधिकारका म...







