
रास्वपा कार्यकर्ताको प्रदर्शन पोखरामा
पोखरा, ३ कार्तिक – सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पक्राउ गरिएको विरोधमा पोखरामा रास्वपाका कार्यकर्ताले प्रदर्शन सुरु गरेका छन् ।
रास्वपा नेता, कार्यकर्ताले मानव अधिकार चोक चिप्लेढुंगामा शनिबार बिहान साढे ११ बजेपछि प्रदर्शन सुरु गरेका हुन् । प्लेकार्ड, व्यानर लिएर सडकमा उत्रिएका उनीहरुले सरकारविरुद्ध चर्काे नाराबाजी गरिरहेका छन् । प्रदर्शनमा जिल्ला तहका नेताले भाषण गरिरहेका छन् ।
सूर्यदर्शन लगायतका सहकारी ठगी र संगठित अपराधको अभियोगमा लामिछानेलाई शुक्रबार काठमाडौंस्थित पार्टी केन्द्रीय कार्यालयबाटै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले पक्राउ गरेको थियो । लगत्तै लामिछानेलाई स्थलमार्गबाट यहाँ ल्याएर जिल्ला प्रहरी कार्यालय कास्कीलाई जिम्मा लगाइएको हो ।
लामिछानेलाई संसद...