Sunday, September 28सत्यम खबर
Shadow

जेन–जी आन्दोलन तथा नेपालगन्जको अवस्था

चन्द्रेश्वर राज त्रिपाठी
मितिः २०८२ असोज १ गते, बुधबार
जेन–जी आन्दोलन र त्यसले दिएको सन्देशलाई आउने दिनमा कसरी समेट्न सकिन्छ भन्नेतर्फ सम्पूर्ण नेपाली जनताको ध्यान जानु पर्ने अहिलेको वर्तमान अवस्थाबाट पाठ सिक्नु जरुरी रहेको छ । यही भदौ २३–२४ गते देशभर जेन–जी आन्दोलनमा करीब ७२ जना युवाहरुले शहादत प्राप्त गरिसकेका छन् भने १ हजार भन्दा बढीले अझ पनि स्वास्थ्य उपचारत रहेका छन् भने खर्बौ बराबर आर्थिक भार देश माथि आई लागेको छ । हामी बाँके जिल्लाको सन्दर्भमा कुरा गर्नु पर्दा यहाँ रहेका सम्पूर्ण सरकारी कार्यालयहरु आगोमा खरानी भईसकेका छन् भन्दा फर्क पर्दैन होला ।
जेन–जी आन्दोलनलाई हामी र हाम्रो टीमले नजिकबाट नियालेको छ । नेपालगन्ज उपमहानगरपालिकाको गेट अगाडी बिपि चौकबाट शुरुवात गरिएको आन्दोलनमा बिहान १० बजेसम्म त्यति युवाहरु भेला नभएपनि त्यसलगत्तै हजारौं युवाहरुको हुल देखिएको दृश्यहरु देख्न पाईन्छ । त्यहीबाट शुरु भयो नेपालगन्ज उपमहानगरपालिकामा आगजनी । जहाँ देशमा व्याप्त भ्रष्टाचार, राजनीति खिचातानी, बेरोजगारी लगायतका मुद्दालाई लिन सकिन्छ । त्यसमा ठूलो मलजलको काम भदौ २३ गते नेपाल सरकारद्वारा अन्धाधुन्ध गरिएको गोली प्रहारलाई लिन सकिन्छ । जसमा १९ जना कलिलो विद्यार्थी भाईबहिनीहरुले ज्यान गुमाएका थिए । सो रिसले लाखौं नेपाली जनता सडकमा आउन बाध्य भए । एउटा गलत निर्णयको परिणाम हो, जसले देशलाई २० वर्ष पछाडी धकेलेको छ ।
बिपि चौकबाट विभिन्न नारासहित हजारौंको संख्यामा निस्केको प्रदर्शनले विकराल रुप लिन शुरु गरेको थियो । त्यतिकैमा पुष्पलाल चौक तिर केटाहरुले ट्राफिक लाईट, मुर्ति, प्रहरी बिट लगायतका सामान तोडफोड गरेको समाचार आयो, त्यसपछि धम्बोझी चौक तथा त्यस अगावै नेकपा एमाले पार्टी कार्यालय तथा नेपाली काँग्रेसको पार्टी कार्यालयमा आगजनी भईसकेको थियो ।
धम्बोझी चौकमा रहेको हजारौं जेन–जीको भिडलाई त्यस लगत्तै जिल्ला प्रशासन कार्यालय तर्फ जाउँ भनी हल्ला चल्यो र भिडको बाटो जिल्ला प्रशासन कार्यालयतर्फ प्रस्थान गरेको देखिन्छ । जिल्ला प्रशासन कार्यालयमा केही समय सशस्त्र प्रहरीले सुरक्षा दिन खोजे पनि नियन्त्रण बाहिर हुँदा आफ्नो ज्यानको रक्षाका लागि पछाडी हटेपछि भिड भित्र प्रवेश गरी सम्बन्धित कार्यालयमा आगजनी, तोडफोन लगायतको दृश्य देखियो ।
त्यस लगत्तै भिड मालपोत कार्यालयमा पुगेको देखियो । मालपोत कार्यालयमा समेत पहिले देखि नै सुरक्षाकर्मीहरु भागेको अवस्था देखिएको थियो । जहाँ भिडलाई नियन्त्रण गर्ने कुनै संयन्त्र थिएन । सो भिडले तोडफोड जारी गरेको थियो । सोही अवस्थामा त्यहाँ भित्र रहेका कुर्ची, टेबुल, दराज, शिशा, चारपंग्रे गाडी, पानीका जारहरुलाई समेत तोडफोड गरी एकठाउँ राखी आगो लगाईएको दृश्य देखियो ।
त्यस लगत्तै भिड जिल्ला अदालततर्फ पुगेको पाईयो । तर यसबीचमा अर्को जत्था पनि थियो । जसले नापी कार्यालय, सरकारी वकिल कार्यालयलगायतमा पुगेर आगजनी तथा तोडफोड गरेको थियो । जेन–जी हुन वा घुसपैठ गरेका कुनै पार्टीका कार्यकर्ता हुन । त्यो भन्न सक्ने अवस्था देखिएको थिएन त्यस हुलमा । जता पनि नारा लगाएको पाईएको थियो । सोही क्रममा भिड अगाडी बढ्दै गणेशमान चौक पुगेको थियो । दुई हुलमा बाँडिएको थियो भिड । एउटा धम्बोझी चौकबाट बागेश्वरी हुँदै जिल्ला प्रशासन कार्यालय पुगेको थियो भने अर्को धम्बोझी चौक हुँदै बिपि चौकको बाटोबाट गणेशमान चौक पुगेको थियो । सोही क्रममा भिडले राजस्व अनुसन्धान कार्यालय, नेपालगन्जमा तोडफोड तथा आगजनी गरेको पाईएको थियो भने सोही ठाउँमा रहेको गणेमानको मुर्ति समेत तोडफोड गरिएको थियो ।
त्यतिबेलासम्म शुक्रबार दिनको २ बजे बजी सकेको थियो । जस बेला बिपि चौकमा हजारौं युवाहरु मुखमा मास्क लगाएर नेपालगन्ज उपमहानगरपालिका भित्र दनदन दन्कीरहेको आगोको दृश्य हेर्दै चर्को नारा लगाईरहेका थिए । भिड यति उग्र भईसकेको थियो की उपमहानगरपालिका भित्र रहेको कर्मचारीहरुको मोटरसाईकलमा समेत आगो लगाएका थिए । उपमहानगर भित्र केही सामान बचेन सम्पूर्ण खरानी भईसकेको अर्को दिन शनिबार पुग्दा सरसफाईमा खटिएका कर्मचारी तथा प्रशासकीय अधिकृतद्वारा जानकारी गराईएको थियो ।
सोही अनुसार सरकारी वकिल कार्यालयमा समेत दिउँसो आगजनी भएको थियो भने रातीको बेला त्यहाँ रहेको सम्पूर्ण सामानहरु चोरी गरेर जगिएको जानकारी त्यहाँ कै कर्मचारीहरुद्वारा गराईएको थियो । जहाँ भारतीय नागरिकको आधार कार्ड देखाउँदै कर्मचारीहरुले भारतीय नागरिक समेत लुटपाटमा रहेको आशंका गरिएको थियो । सोही अनुसार जिल्ला अदालतमा समेत केही बाँकी नरहेको अवस्थामा त्यहाँ बैंकमा जम्मा गर्न राखिएको करीब १५ लाख बढी नगद रकम समेत लुटेर लगिएको जानकारी त्यहाँ कै कर्मचारीद्वारा गराईएको थियो ।
सोही अनुसार ट्राफिक चोकमा समेत आगजनी गरिएको थियो । जहाँ आम नेपाली जनताका मोटरसाईकलहरु विभिन्न मितिमा सवारी दुर्घटना, जरिवाना, मुद्दामा राखिएको थियो । सो मोटरसाईकल समेतमा आगो लगाईएको थियो भने कार्यालय भित्र रहेका सम्पूर्ण सामानहरुमा आगो लगाईएको थियो । अर्को दिन शनिबार बिहान जाँदा त्यहाँ जलाईएका सामानहरुलाई निभाउँदै कबाडीहरुले चोरी गरेर लैजाँदै गरेको देखिएको थियो ।
शुक्रबार नै करीब ४–५ बजे नेपालगन्ज भन्सार कार्यालयमा जेन–जीका युवाहरु पुगी तोडफोड तथा आगजनी गरेका थिए । तर सो पछि त्यहाँ छेउछाउमा रहेका गैर जेन–जीहरुले लुटपाट शुरु गरेका थिए । भान्सार कार्यालयमा रहेको खाद्यान्न, मोटरसाईकल, ब्याट्री रिक्सा लगायत सामानहरु लुटेर लगिएको भिडियो दृश्य नै देखाईएको थियो । त्यहाँबाट आफ्नो सुरक्षाका लागि भन्सार प्रमुख तथा उनका मातहतका केही कर्मचारीहरु स्वयं भारततर्फ शरण लिन भागेका थिए । त्यस लगत्तै सीमानाकामा समेत आगजनी तथा तोडफोड गरिएको थियो ।
यी माथि उल्लेखित घटनाहरु नेपालगन्ज उपमहानगरपालिका भित्रका मात्र हुन् भने सबै नअटाउन पनि सक्छन् । जुन २४ गते शुक्रबारका दिन नेपालगन्जको विभिन्न ठाउँमा घटाईएका थिए । जसको अगुवा कोही थिएन तर नाम जेन–जीको थियो । यहाँ बुझ्नु पर्ने के छ भने जेन–जीको नाममा घुसपैठ भएकै हो । जस घटनामा जेन–जी युवा पुस्तालाई प्रयोग गरिएको पाईन्छ । जेन–जीले कहिले पनि आगजनी, तोडफोड, लुटपात गर्ने उद्देश्यका साथ प्रदर्शन शुरु गरेको थिएन । जेन–जीले त सार्वजनिक सञ्जाल बन्द तथा देशमा व्यप्त भ्रष्टाचार बारे बिरोध गर्न प्रदर्शनको शुरुवात गरेको थियो । तर हत्यारा नेपाल सरकारका सम्बन्धित पक्षले सो भावना बुझ्न नसकेपछि देश नै २० वर्ष पछाडी धकेलिएको छ । अहिले पनि समय छ, बुझ्नुस युवा पुस्ताले के चाहेका छन् । जसले २७ घण्टा भित्र देशको स्वरुप नै परिवर्तन गर्न सक्छन् । त्यो शक्तिलाई देश निर्माणमा कसरी प्रयोग गर्न सकिन्छ भन्ने तर्फ सम्पूर्ण नयाँ पुराना राजनीतिक दलहरुको ध्यान केन्द्रित हुन किन सकेको छैन ? यत्ति विध्वांस हुँदा समेत राजनीतिक दलका नेताहरु तथा उनका कार्यकर्ताहरुको चेतना किन खुल्न सकेको छैन । आफू भित्र सुधार मागेका छन् नेपाली जनताले । त्यो सुधारको सुरुवात गर्ने बेला आएको छ । जिम्मेवारी हस्तान्तरण गर्ने बेला आएको छ ।
कहाँबाट शुरुवात भयो त्यो ठूलो व सानो हुन सक्छ तर अन्त्य कसरी भएको छ त्यो महत्वपूर्ण विषय बनेको छ । आज नेपाली जनताले के खोजेका छन्, यो महत्वपूर्ण विषय हो । सो अनुसार आफूलाई परिमार्जित गरी अगाडी आउन सक्नु पर्दछ । वास्तविक जेन–जी लाई त एनजीओले हाईजेक गरेकै हो । त्यसमा दुई मत छैन । हामी देशको बारेमा सोचौं । व्यक्तिगत स्वार्थभन्दा माथि उठेर । देश रोएको अवस्थामा हामी कसरी सुत्न सकेका छौं । हामी अगाडी आउनु पर्छ । भए गरेका कमीकमजोरीहरुलाई सुधार गरी देशलाई अगाडी बढाउनु पर्छ । देशका युवा शक्तिलाई पहिचान गर्न जरुरी छ । आज जेन–जी प्रदर्शन र नेपालगन्जको अवस्था कस्तो देखिएको छ । यसबारे सोच्नु पर्ने बेला आएको छ । विगतमा भएका, घटेका घटनाहरुले केही न केही सन्देश दिईरहेका छन् । अब हामी कुन बाटो जाने त्यो हाम्रो विवेकले गर्ने बेला आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *