भारत-पाक सम्बन्ध : एससीओमा सहकार्य, सार्कमा ‘पानी बाराबार’
काठमाण्डौ, ३ कार्तिक – मुख्यतः क्षेत्रीय सुरक्षा मुद्दा, आतंकवाद, जातीय पृथकतावाद र धार्मिक अतिवादविरुद्धको लडाइँदेखि क्षेत्रीय विकासमा केन्द्रित भई गठित एससीओमा चीन, रुसजस्ता शक्तिशाली राष्ट्र पनि भएकाले भारत र पाकिस्तानको द्वन्द्वको असर न्यून भए पनि सार्कमा यी दुई देशको ‘जुागाको लडाइँ’ ले गर्दा एक दशकदेखि बैठकसम्म बस्न सकेको छैन
काठमाडौँ — भारतीय वायु सेनाको विमानबाट विदेशमन्त्री एस जयशंकर मंगलबार बिहान पाकिस्तानको राजधानी इस्लामाबाद उत्रिए । दुई देशबीच लामो समयदेखि कायम तनावकै बीच भारतीय विदेशमन्त्रीबाट पाकिस्तानको भ्रमण भएको हो ।
भ्रमणको उद्देश्य द्विपक्षीय नभई क्षेत्रीय संगठनको बैठकमा सहभागिता मात्र रहेको भारतीय विदेशमन्त्री जयशंकरले इस्लामाबाद उड्नुअघि नै जनाउ दिएका थिए । ‘यो भ्रमणमा कुनै पनि द्विपक्षीय विषयमा कुराकानी हुँदैन,’ नयाँदिल्लीबाट इस्लामाबाद उड्नुअघि जयशंकरले भनेका थिए...









