
नेपालगन्ज, २२ असोज – भारत सरकारले बाढी पहिरोले प्रभावितका लागि आपत्कालीन राहत सामग्री हस्तान्तरण गरेको छ ।
भारत सरकारका तर्फबाट भारतीय राजदूतावास काठमाडौंका द्वितीय सचिव नारायण सिंहले सोमवार बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई आपत्कालीन राहत सामग्री हस्तान्तरण गरेका हुन् ।
भारत सरकारले उपलब्ध गराएको आपत्कालीन राहत सामग्रीमा टार पोलिन, स्लीपिङ्ग ब्याग, कम्बल, क्लोरिन ट्याब्लेट र पानीका बोतल सहितको ४.२ टनको मानवीय सहायताको खेप भारतबाट नेपालगन्ज ल्याई पु¥याइएको हो ।
भारत सरकारले अन्य अत्यावश्यक सरसफाइ सामाग्री तथा औषधीका साथसाथै अन्य राहत सामाग्रीको पनि व्यवस्था गरिरहेको छ जुन छिट्टै उपलब्ध गराइने काठमाडौं स्थित भारतीय दूतावासले जनाएको छ ।
छिमेकी मुलुक होस् वा अन्य मुलुक सङ्कटको बेला भारत सदैव पहिलो रेस्पोन्डरको रूपमा रहेको छ । २०७२ सालको भूकम्पपछि नेपाललाई सहयोग गर्न भारत सरकारले सबैभन्दा सुरुमा तत्परता देखाएको थियो र बाह्य मुलुकमा अपरेसन मैत्री नामक सबैभन्दा ठुलो विपद् राहत अभियान सञ्चालन गरेको थियो ।
भारतले २०८० साल कार्तिकमा जाजरकोटमा भूकम्प गएपछि पनि राहत सामाग्री उपलब्ध गराई सहयोग गरेको थियो । हालै आएको बाढी र पहिरोले निम्त्याएको विनाशमा नेपाल सरकारलाई हर सम्भव सहयोग गर्न भारत सरकार तत्पर रहेको काठमाडौँ स्थित भारतीय दूतावासले जानकरी दिएको छ ।