पूर्व खेलाडी समाज बाँकेको दोस्रो वार्षिक साधारणसभा सम्पन्न
नेपालगन्ज, २४ जेठ – पूर्व खेलाडी समाज बाँकेको दोस्रो वार्षिक साधारणसभा शनिबार नेपालगन्जमा सम्पन्न भएको छ । अग्रज तथा युवा खेलाडीहरूको उल्लेखनीय सहभागिताबीच सम्पन्न साधारणसभाले संस्थाको वार्षिक गतिविधि समीक्षा गर्नुका साथै आगामी कार्ययोजना तय गर्ने विषयमा व्यापक छलफल गरेको छ ।
समाजका अध्यक्ष प्रकाशबहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त बिष्ट प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो । कार्यक्रममा विशेष अतिथिका रूपमा सुरेन्द्र हमाल तथा समाजका सल्लाहकार अजितकुमार शर्मा रहनुभएको थियो ।
कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै विशेष अतिथि हमालले खेलकुद राष्ट्रको पहिचान र गौरवसँग जोडिएको क्षेत्र भएको उल्लेख गर्दै पूर्व खेलाडीहरूको अनुभव, दक्षता र नेतृत्वलाई खेलकुद विकासमा उपयोग गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले खेल जीवनबाट प्राप्त अनुभवल...









