नेपाल–भारत सम्बन्ध: इतिहास, मधेस र वर्तमान चुनौती
प्रेमचन्द्र झा
मितिः २०८३ बैशाख ६ गते, आईतबार
नेपाल–भारत सम्बन्धबारे बहस चलिरहँदा सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नेपाली मधेसी समुदायको दैनिक जीवनसँग जोडिएका विषयहरू फेरि एकपटक राष्ट्रिय विमर्शको केन्द्रमा आएका छन्। विशेषगरी भारतीय बजारबाट किनिने दैनिक उपभोग्य वस्तुमा कर लगाउने सरकारी निर्णयले सीमावर्ती जनजीवनमा प्रत्यक्ष प्रभाव पारेको भन्दै व्यापक असन्तोष व्यक्त भइरहेको छ। तर यो विषयलाई केवल भावनात्मक प्रतिक्रिया वा तात्कालिक असन्तोषको रूपमा बुझ्नु पर्याप्त हुँदैन; यसको गहिराइ राज्य संरचना, आर्थिक नीतिको चरित्र, भूराजनीतिक यथार्थ र ऐतिहासिक सम्बन्धको जटिल अन्तर्क्रियासँग जोडिएको छ।
नेपाल र भारतबीचको सम्बन्ध सामान्य छिमेकी सम्बन्धभन्दा फरक हुनुको मूल कारण केवल सांस्कृतिक निकटता मात्र होइन, बरु संरचनागत अन्तर निर्भरता पनि हो। खुला सिमाना, श्रम बजारको आदानप्रदान, उपभोग्य वस्तुको आपूर्त...









