Thursday, April 23सत्यम खबर
Shadow

दीपावली पर्वको महत्व

मितिः २०७८ कार्तिक २२ गते
लक्ष्मी गुप्ता
तिहार शरद ऋतुमा पर्छ शरह ऋतु अत्यन्त मनोरम्, सफा रसिलोका साथै जताततै फूलहरुले वरिपरिको वातावरणलाई मनमोहक बनाउने समय हो । यस समयमा विभिन्न किसिमका फूल फुलेर घर आँगन जताततै सजिएका हुन्छन् । घर वरिपरि खेतबारी भीरपाखामा हरियाली छाएको हुन्छ । वर्षभरि दुःख गरेका किसानको खेतमा धानका बाला झुलेका हुन्छन् । प्रकृतिको यस्तो अत्यन्तै रमणीय समयमा आउने चाड भएकाले तिहारमा मानिसहरुको मनमस्तिष्कमा रमाइलोपन छाएको हुन्छ । तिहार कार्तिक कृष्णपक्षको त्रयोदशी तिथिदेखि कार्तिक शुक्लपक्षको द्वितीया तिथिका बीचमा पाँच दिनसम्म मनाइने चाडहो । पाँच दिनसम्म मनाइने यो चाडको पहिलो दिन काग तिहार, दोस्रो दिन कुकुर तिहार, तेस्रो दिन गाई तिहार, चौथो दिन गोरु तिहार र पाँचौ दिन भाई तिहार मनाउने चलन छ । यो पाँच दिनलाई यमपञ्चक पनि भन्ने चलन छ । तिहारका यी पाँचवटै दिनमा घरघरमा दीपावली गरिने भएपनि विशेषगरि औंसीको साँझ वा गाई तिहारको साँझ लक्ष्मीको पूजा गर्ने दिनमा भव्य रुपमा घरका झ्याल ढोका लगायतका ठाउँमा फूलमालाले सजाएर दीप बालेर जताततै उज्यालो बनाउने भएकाले तिहारलाई फूल तथा दीपावलीको पर्व भन्ने गरिन्छ ।


तिहारका पाँच दिनमध्ये तिहारको पहिलो दिन कागको पूजा गरिन्छ । कागलाई यमराजको दूत र अत्यन्तै चलाख पन्छीको रुपमा लिइन्छ यसका साथै कागले टाढाटाढाका सूचना ल्याउने भएकाले कागको पूजा गरिएको हो भन्ने जनविश्वास रहेको छ । यसैगरि, कुकुरलाई नरकका राजा यमराजको दूत मानिन्छ । कुकुर गुणवान र विश्वासी प्राणी पनि हो । कुकुरले घरको सुरक्षा गर्नका साथै मालिकको अत्यन्त वफादार प्राणी भएकाले तिहारमा यमको पूजा गरिने किम्वदन्ती छ । कुकुरमा अत्यन्तै सुँघ्नसक्ने क्षमता भएकाले अहिलेको आधुनिक समाजमा विभिन्न तालिम दिएर सुरक्षालगायत अपराधीलाई पत्ता लगाउने अनुसन्धान कार्यहरुमा समेत प्रयोग गरेको पाइन्छ ।
मानिसले पत्त लगायन नसकेका कतिपय घटना तालिमप्राप्त कुकुराहरुको सहायताले अनसन्धान गर्न सहज भएको पाइन्छ । यसरी हेर्दा समाजमा कुकुरपूजाको महत्व रहेको पाइन्छ ।
यसैगरि तिहारको तेस्रो दिन गाईको पूजा गरिन्छ । गाईलाई हिन्दु संस्कृति अनुसार अत्यन्त सम्मान गर्ने प्राणीका रुपमा लिइन्छ र गौमाता भनि पूजा आराधना गर्ने चलन छ । गाई पूजाको दिन घरघरमा लक्ष्मीको पूजा गर्ने चलन छ । यस दिन बिहान नुहाइधुवाई गरी गाईलाई गरी गाईलाई माताका रुपमा पूजा गरिन्छ र लक्ष्मीको स्वागतार्थ घरका झ्याल ढोकामा सयपत्री, गोदावरी, मखमली लगायतका फूलका मालाले सिंगारी साँझ धन दौलतकी देवी महालक्ष्मीको भव्यताका साथ पूवा अर्चना गर्ने चलन छ ।
वैदिक परम्परा अनुसार लक्ष्मी मातालाई धनकी माता, शोभा, सौन्दर्य, सुख, समृद्धि, सौभाग्य, आरोग्य तथा सिर्जनाकी देवीको रुपमा मान्ने चलन छ । यस दिन विशेष गरेर हिन्दु धर्मावलम्बीहरुले आ–आफ्ना घरलाई लिपपोत, सरसफाई गरी घरको ढोकादेखि पूजा कोठासम्म रातो माटोले लिपेर अबिर, चामलको पिठो र फूलहरुले बाटोलाई सजाएर आव्हान गर्ने चलन छ । लक्ष्मीको स्वागतार्थ घरका ढोकामा सयपत्री फूलका मालाले सिंगारी यस दिन धनको सिंहासन मूल ढुकुटीमा बत्ती बालेर विशेष रुपमा पूजाआजा गरिन्छ ।
यसैगरी, यमपञ्चकको चौथो दिनलाई गोरु पूजाको दिन भनिन्छ । यस दिन गाईको गोबरबाट गोवद्र्धन पर्वतका आकारको आकृति बर्नाइ भगवान शिवको वाहन कृषकहरुको सहारा जसको सहायताबाट किसानहरुले अन्नबाली लगाउने र जीवनमा खाद्यपदार्थको आवश्यकता पूरा गर्ने गराउने माध्यम धर्तीपुत्र गोरुलाई पूजा गरी मालालगाई सम्मान व्यक्त गरिन्छ । यस दिनमा पुराण प्रसिद्ध दानी पुरुष बलि राजाको पनि पूजा गर्ने चलन छ । यसरी हेर्दा वर्षाैं दिनभरी किसानका खेतबारीमा जोत्न प्रयोग गरिने गोरुको पूजा गरी सम्मान अर्पण गरिने हुँदा हिन्दु संस्कृतिमा परिश्रमको इज्जत र सम्मान गर्ने चलन रहेको पनि देखिन्छ । तिहारको अन्तिम दिन अर्थात पाँचौ दिनलाई भाई तिहार भनिन्छ । भाइ तिहारका दिन दिदीबहिनीहरुले दाजुभाईहरुलाई टीका लगाई दिने चलन छ ।
किम्वदन्ती अनुसार मृत्यु देव यमराज पाँच दिनसम्म आफ्नो सम्पूर्ण कार्यभार चित्रगुप्तलाई सुम्पेर आफ्नी दिदी यमुनाको घरमा गएका र दिदी यमुनाले आफ्ना भाइ आएको खुसियालीमा दीपावली गरी उनको पूजा गरेकी थिइन् भन्ने शास्त्रीय मान्यता रहेको छ । दिदीको स्वागतमा यमराजले खुशी व्यक्त गर्दै आउने दिनहरुमा दिदीबहिनी र दाजुभाइहरुका बीचमा टीका लगाउने चलन हुनेछ भनेकाले तिहार पर्वको सुरुवात भएको किम्वदन्ती रहेको छ । यमराजकी दिदी यमुनाले भाइको पूजा गरेर टीका लगाइ दिएकाले भाइटिकाको चलन शुरु भएको तिहार आजसम्म आइपुग्दा पनि सामाजिक दृष्टिकोणले यसको महत्व अझै बढेको पाइन्छ । यस चाडले टाढाटाढा रहेका दाजुभाइ तथा दिदीबहिनीहरुको भेटघाटको अवसर प्रदान गर्ने हुनाले यसको सामाजिक महत्व हो यस दिनमा दिदीबहिनीहरुले आ–आफ्ना दाजुभाइहरुलाई भाइ टीकाको निमन्त्रणा दिइ निधारमा सप्तरंगी टीका लगाइ दिएर दीर्घायुको कामना गदै कहिल्यै नसुक्ने तेल, शिरमा घसी कहिल्यै नओइलाउने फूल मखमलीको मालाले सजाई पूजा गरेर ओखर फुटाएर आफ्ना दाजुभाइहरुका शत्रु बैरीको नास हो भनि आशिर्वाद दिने चलन छ । यसरी हेर्दा तिहारले दाजुभाइ तथा दिदीबहिनीहरुको बीचमा प्रगाण् माया,स्नेह तथा सद्भाव रहेको पुष्टि पर्छ । समाज परिवर्तनशील हुने भएकाले समयको क्रम सँगसँगै समाजका मूल्य र मान्यताहरु परिवर्तन हुँदै जान्छन् । समयसँगै आउने परिवर्तनले हाम्रा मेला,पर्व, संस्कृति र चलनहरुमा पनि काफी परिवर्तन आइ रहेका छन् । तिहारको यति ठूलो सांस्कृतिक र सामाजिक महत्व हुँदाहुँदै पनि यस भित्रका विकृति र विसंगतिहरु मौलाइ रहेका छन् । तिहारको नाममा पटका पड्काउँदा अंगभंग हुने, जुवातास खेल्ने, मादक पदार्थ सेवन गर्ने, झैंझगडा गर्ने जस्ता विकृतिहरु बढ्दै गइरहेको समाचारहरु आउने गरेका छन् । समाज परिवर्तनसँगै आधुनिकता तथा चाडबाडहरुका नाममा आउने अनेक किसिमका विसंगतिहरुको निराकरण गर्नु हामी सबैको दायित्व हो ।
हाम्रा चाडबाडहरु आधुनिक समाजको विकाससँगै खर्चिला, भड्किला र यिनीहरुको धार्मिक, सांस्कृतिक तथा सामाजिक मूल्इ र मान्यतालाई आधुनिकताको नवनिर्मित व्यवहारले ओझेलमा पार्दै गएको अग्रज नागरिकको बुझाइ छ ।
तिहारको सांस्कृतिक र सामाजिक महिमा आफैमा शास्त्रीय छ, सुसंस्कृत छ । यस सन्दर्भमा तिहारको महत्व र सौन्दर्यलाई घरका अभिभावक तथा समाजका अग्रज पुस्ताले नयाँ पिंढीलाई सिकाउनु पर्छ, बुझाउनु पर्छ । यसो भएमा हाम्रा चाडब पर्वहरुका शास्त्रीय मूल्य, मान्यता तथा सामाजिक महत्वहरु नयाँ पिंढीमा स्थानान्तरण हुँदै जान्छने् नयाँ पिंढीले समाजका स्थापित मूल्य र मान्यतालाई शिरोधार्य गर्दै जान सक्छन् ।
तिहारमा महालक्ष्मीको पूजा अर्चना गरेपछि घरघरमा दीपावली गरी भैलो र देउसी खेल्ने चलन पनि छ । औंसीको दिनमा “हे औंसी बार गाई तिहार भैलो” भन्ने गीत गाएर भैलो, देउसी खेल्ने गरिन्छ । यस किसिमको नाचगानको रमाइलोपनले साथीभाइको जमघट हुने, खुसियाली आदान प्रदान गर्ने, आपसी सद्भाव बढाउने वातावरणको सिर्जना गर्छ । रमाइलोपनको महसुस गराउँछ । तर आजभोलि देउसी, भैलो कार्यक्रमभित्र पनि विकृति र विसंगतिहरु भित्रिएका छन् । भैलो र देउसीलाई जबरजस्ती पैसा उठाउने, आयआर्जन गर्ने र जम्मा भएको रकमले वनभोज तथा ककटेल पार्टीहरु गर्ने संस्कृति बढिरहेको छ ।
आफ्नो इच्छाले दान गर्न चाहनेले जति सकिन्छ त्यति दान गर्नु स्वाभाविक हो परन्तु रकम तोकेर भैलो, देउसी खेल्ने, अरुलाई सताउने र जम्मा भएको रकमको दुरुपयोग गर्ने विकृतिको अन्त्य भने गरिनु पर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *