
नेपालगन्ज, २२ कार्तिक – पूर्वसांसद एवं बाँकेका कांग्रेस नेता बादशाह, जग्गा कारोबारी रमेश थापा, उनकी श्रीमति रत्नादेवी थापा, फुपुकी छोरी विष्ट, स्थानीय निजामुद्दिन, नीता, पूजा, रत्नादेवी, रमेश, जुवेदा इद्रिसी, ओमकारलगायतले जग्गा हड्पेको उजुरी प्रहरी कार्यालयमा दर्ता छ ।
सम्पत्ति सम्बन्धी विवादमा उनी सांसद छँदै कुर्मीलाई हातपात र दुर्व्यवहार गरेकाले यो घटनामा उनी जोडिएका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेले स्थानीय नन्कुन्नी धोबीको शंकास्पद मृत्यु र निर्मला कुर्मी बेपत्ता भएको घटनामा अनुसन्धान नगरेको भन्दै स्थानीय अधिकारकर्मी र पीडित परिवारका सदस्य काठमाडौं पुगेर धर्नामा बसेका थिए ।
कुर्मी एकाएक बेपत्ता हुनुमा उनको सम्पत्ति हडप्न खोज्ने समूहको भूमिका रहेको भन्दै स्थानीयले अनुसन्धानको माग गरेका थिए । गत वर्ष मंसिरमा किटानी जाहेरीसहित अपहरण तथा शरीर बन्धकमा मुद्दा चलाउन अधिकारकर्मीले जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएका थिए । तर, त्यसको पनि अनुसन्धान भएन ।
अधिकारकर्मी रुबी खानको नेतृत्वमा धर्ना र अनशनमा बसेका महिलाहरूसँग सरकारले २ कात्तिकमा छानबिन समिति गठन गर्ने सहमति गरेको थियो । सहमतिलगत्तै, गृह मन्त्रालयका सहसचिव हिरालाल रेग्मीको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरिएको थियो ।

छानबीका क्रममा निर्मलाको नेपालगन्ज परसपुरको ४ बिघा ८ का १० धुर खेत पार्वती विष्ट हुँदै अहिले नेपालगन्ज उपमहानगरपालिका–१८ बस्ने रत्नादेवी थापाका नाममा छ । थापा व्यापारी रमेश थापाकी पत्नी हुन् । निर्मलाले जग्गा नामसारी गरेकी विष्ट पनि रमेशकी फुपूकी छोरी हुन् । यसले निर्मलाको जग्गा हात पार्न रमेश थापाको योजना बढी देखिन्छ भने घरसहित जग्गा हात पार्न उनकै छिमेकी निजामुद्दिन इद्रिसी सक्रिय भएका देखिन्छन् ।
निजामुद्दिनले निर्मलाको घरसहितको साढे २ का जग्गा श्रीमती जुवेदा इद्रिसीका नाममा नाममा ल्याएर पूजा लामालाई बिक्री गरिसकेका छन् । निर्मलाको घरजग्गा किन्ने पूजा लामा र नीता बर्माले रमेश थापाकी पत्नी रत्ना थापाले किन्न लागेको ४ बिघा ८ का १० धुर खेतको लिलामी प्रक्रियामा समेत साथ दिएका छन् । यस हिसाबले हेर्दा निर्मलाको जग्गा हडप्ने प्रकरणमा पार्वती, निजामुद्दिन, नीता, पूजा, रत्नादेवी, रमेश, जुवेदा इद्रिसी, ओमकारलगायतको नाम देखिएको छ ।
अधिकारकर्मीले निर्मला २०६६ सालको कुटपिट घटनापछि नै बेपत्ता भएको बताउँदै आएका छन् । “बादशाह कुर्मीको कुटपिटको घटनापछि मैले निर्मलालाई देखेकी छैन,” महिला अधिकार मञ्चकी रुबी खानले भनिन् । नामसारी गरेको दुई महिनामै उनको खेतीबारी भएको ४ बिघा ८ का १० धुर जग्गा बर्दियाको साबिक धधवार गाविस–४ की पार्वती विष्टका नाममा गरिएको छ ।
मालपोत कार्यालयको रेकर्डअनुसार २०६९ भदौ ७ मा रजिस्टूेसन नम्बर ५३०ख को पारित राजीनामाले कित्ता नम्बर ९१, ३६१, १०७, १०९, ३३२, १९, ५८, ८५, १७५, १७६, १७८, ३२८ को पूरै जग्गा निर्मलाले पार्वती विष्टका नाममा बिक्री गरेको देखिन्छ ।
(स्रोतः दस्तावेज, २०७८ कार्तिक २१ गते)
