मनसुन आयो मल आएन , मलमा भारतकै सहारा
काठमाण्डौ, २६ असार –मधेस प्रदेशमा पर्ने सिरहाको भगवानपुर गाउँपालिका–१ सिनुरियाका किसान राजकुमार साहले धान रोप्न खेत तयार पारिसकेका छन्। खेत तयार पारेर एक सातादेखि रासायनिक मल खोज्न सहकारी र डिलर धाइरहेका साहले मल पाएका छैनन्। उनलाई डेढ बिघा खेतका लागि डिएपी, युरिया र पोटास मल चाहिएको छ।
कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङबाट ‘मल किसानलाई होइन, डिलरलाई दिन्छौं’ भन्ने जबाफ पाएपछि उनी डिलरकहाँ धाइरहेका छन्। ‘धान रोप्ने समय घर्किंदै गएको छ,’ उनले भने, ‘मलका लागि डिलरहरू धाउँदैछु। कृषि सामग्री र साल्ट ट्रेडिङले डिलर (कृषि सहकारी) लाई मल दिने बताउँछन्। सहकारीमा जाँदा मल छैन भनेर फर्काउँछन्।’
धनुषाको गणेशमान चारनाथ नगरपालिका नवटोलीका भगत महतोले पनि मलका लागि गाउँदेखि जनकपुरधामसम्म धाउन थालेको साता नाघ्यो। तर उनले मल पाएका छैनन्। सप्तरी मधुपट्टीका किसान राजदेव यादवले बिनामल धान रोपिरहेका...









