धनतेरस: धार्मिक, पौराणिक तथा आधुनिक समाजमा यसको महत्व
-क्षितिज विक्रम खनाल
मितिः २०८२ कार्तिक १ गते, शनिबार
कार्तिक कृष्ण पक्षको त्रयोदशी तिथिमा मनाइने धनतेरस हिन्दू संस्कृतिको अत्यन्त महत्वपूर्ण पर्व हो, जसले तिहार वा दीपावलीको औपचारिक सुरुवात गर्दछ। ‘धन’ अर्थात् सम्पत्ति र ‘तेरस’ अर्थात् त्रयोदशी तिथि यी दुई शब्दको संयोजनले बनेको ‘धनतेरस’ केवल धनसम्पत्तिको पूजा मात्र होइन, आरोग्य, समृद्धि र आन्तरिक प्रकाशको प्रतीक हो। यस दिनको महत्व भौतिक, धार्मिक र दार्शनिक सबै दृष्टिलेअत्यन्त गहिरो छ। हिन्दू परम्परामा दीपावलीको समय केवल उज्यालो बाल्ने र नयाँ वस्तु किन्ने मात्र होइन, जीवनमा नकारात्मकता हटाएर आत्मशुद्धि र सन्तुलनको सुरुवात गर्ने पर्व हो। धनतेरस त्यस पर्व यात्राको पहिलो दिन हो , जहाँ शरीर, मन र आत्माको सन्तुलनलाई धन, स्वास्थ्य र विवेकको रूपमा पूजा गरिन्छ।
पौराणिक दृष्टिले धनतेरसको मूल जड समुद्र मन्थनसंग सवन्धित छ। कथा अनुसार देवता र असु...







