सञ्चार मन्त्रीलाई खुल्ला पत्र: राज्यको बेवास्ताले धराशायी बन्दै पत्रकारिता
रमेश कुमार बोहरा
मितिः २०८२ पौष ६ गते, आईतबार
माननीय सञ्चार तथा सूचना प्रविधि मन्त्रीज्यू यो खुला पत्र कुनै संगठनको औपचारिक ज्ञापन पत्र होइन । यो देशभरका हजारौँ श्रमजीवी पत्रकार, साना लगानीमा सञ्चालित सञ्चारमाध्यम र स्वरोजगारमुखी मिडियाको दैनिकीसँग गाँसिएको पीडा, संघर्ष र राज्यद्वारा गरिएको दीर्घकालीन बेवास्ताको लिखित साक्ष्य हो । यो भावनाले होइन, तथ्यले बोल्ने दस्तावेज हो । आग्रहमा होइन, अधिकारका आधारमा प्रश्न उठाउने पत्र हो । र यो चेतावनी पनि हो । यदि समयमै सम्बोधन भएन भने नेपाली सञ्चार क्षेत्रको आधारस्तम्भ क्रमशः कमजोर हुँदै अन्ततः धराशायी हुने निश्चित छ ।
नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको सचिवको तर्फबाट यस्तो खुला पत्र सार्वजनिक गर्न बाध्य हुनु स्वयंमा राज्य संयन्त्रप्रतिको गहिरो निराशाको प्रमाण हो । विगतमा मन्त्रालय, विभाग र सम्बन्धित निकायहरूसमक्ष पटक–पटक ज्ञापनपत्र बुझाइयो ।...






