
– मनोज कुमार कौशल
नेपालगन्ज, १८ असोज – नेपालगन्ज उमनपा ८ नं. वडा बुलबुलिया गाउँ नजीक रहेको हिन्दु शम्शान भूमिमा काठको अभाव भएपछि त्यहाँ दिवंगतहरुको अन्तिम संस्कार गर्न कठिनाई परेको छ ।
नेगउमनपा ८ वडा समिति कार्यालयले हिन्दु शम्शान भूमिमा अन्तिम संस्कार कार्य गराउन आवश्यक रहेको काठ सर्वसुलभ ढंगले उपलब्ध गराउन शैलेन्द्र जोशी पण्डालाई नियुक्त गरेको थियो । अहिलेसम्म शम्शान भूमिमा काठ न्यूनतम मूल्यमा उपलब्ध गराउने कार्य भई रहेको थियो । तर भाद्र महिनादेखि त्यहाँ काठको अभाव भएको छ जसको कारण दिवंगत भएका परिवार सदस्य मृतकको अन्तिम संस्कार गर्न बाहिरबाट चर्काे मूल्यमा काठ खरीद गर्न बाध्य बनेका छन् ।
शम्शान भूमिमा अहिलेसम्म रु. १ हजारमा ५ क्विन्टल काठ उपलब्ध गराउने कार्य भइ रहेको थियो तर अब काठको अभाव भएपछि बाहिरबाट खरीद गर्दा १२ सय रु. प्रति क्विन्टलमा काठ खरीद गर्नु पर्ने बाध्यता छ । काठ अभावको सम्बन्धमा यस पत्रिकाले शैलेन्द्र जोशी पण्डासँग कुराकानी गर्दा उनले भने, श्रावण महिनासम्म काठको अभाव थिएन तर भाद्र महिनामा पानी परेपछि जिल्ला वन कार्यालयले जंगलबाट काठ ढुवानी गराई ल्याउन सकेको छैन यस कारण अब हिन्दु शम्शान भूमिमा काठ छैन ।
काठ उपलब्ध गराउन मैले ८ नं. वडा अध्यक्षसँग आवश्यक पहल गरी दिन आग्रह गरेको थिएँ जसमा वडाध्यक्षले छिट्टै काठको अभाव हट्ने आश्वासन दिएका छन् । मलाई महिनाको पारिश्रमिक पाउने गरि त्यहाँ राखिएको होइन काठ बिक्री गर्दा २(४ सय रु. बचत हुन्छ नभए पनि काम भने गरी राख्छु जहाँसम्म काठको अभाव छ त्यसको पूर्ति गराउने प्रयास भइ रहेको छ । हामीसँग पर्याप्त काठ थियो तर कोरोना संक्रमणबाट धेरै संख्यामा व्यक्तिहरुको मृत्यु भएकोले धेरै परिमाणमा काठ खर्च भएको छ । कोरोना नभएको भए हामीसँग धेरै परिमाणमा काठ थियो अभाव हुने थिएन जानकारी गराउँदै भने ।
८ नं. वडा अध्यक्ष सुरेन्द्रकुमार वैश्यसँग काठ अभावबारे जानकारी लिँदा उनले भने, काठको अभाव निश्चित रुपमा भएको छ, जसको कारण दिवंगत भएका परिवार सदस्य बिचल्लीमा परेका छन् । उनीहरु अहिले बाध्यतावश पनि महँगो मूल्यमा काठ खरीद गरी आफ्ना आफन्तको अन्तिम संस्कार गरी रहेका छन् । हामीसँग काठ खरीद वापत ३ लाख रकम जति छ १–२ दिनभित्रै काठको अभाव हटाउने प्रयास गर्नेछु भने ।
उनले भने, यस उमनपाको जनसंख्यामा वृद्धि भइरहेको छ । यस कारण आउँदो समयमा काठको अभाव अवश्य हुनेछ । यस कारण हिन्दु शम्शान भूमिमा विद्युत शवदाह गृह निर्माण गर्नुपर्ने सोच अहिलेदेखि नै बनाउनु जरुरी छ । यस्तो सोच अहिलेदेखि नै बनाए ५–६ वर्षपछि विद्युत शवदाह गृह निर्माण गर्न सजिलो हुन्छ । यो योजना ल्याउन म सम्बन्धित निकायमा कुरा उठाउने छु भन्दै उनले ८ नं. वडामा रहेको यो शम्शान भूमि धेरै नै पुरानो छ, यस कारण यहाँ आधुनिकता र सौन्दर्यकरण गर्नु जरुरी छ ।
शम्शान भूमिलाई एक हदसम्म व्यवस्थित बनाउँदै पक्की सडक बगैंचा प्रतिक्षालय निर्माण गर्दै पर्याप्त प्रकाश आउने बिजुली जडान गरिएको छ । केही दिन अघिसम्म बगैंचाको हेरचाह गर्न मालीलाई राखेको थिएँ । केही समयदेखि माली नआएको कारण बगैंचा अव्यवस्थित बन्न पुगेको छ । चाँडै नै मालीको व्यवस्था गरी आकर्षक ढंगको बगैंचा निर्माण गराउने कार्य हुने बताए ।
