Friday, April 24सत्यम खबर
Shadow

मुस्लिम कब्रिस्तानको विवाद चरममा

नेपालगन्ज, १८ असोज – नेगउमनपा ४ नं. वडा सल्यानीबाग नजीक रहेको मुस्लिम कब्रिस्तानको विवाद अहिले चरममा पुगेको छ । केही दिन अगाडी देखि यो विवाद बाहिर आएको हो, केही महिनाअघि मुस्लिम कब्रिस्तानको उत्तरतर्फको पर्खाल अग्लो पारी त्यस कब्रिस्तानको पछाडि रहेको जमिन प्लटिंग गरिएको थियो । कब्रिस्तान पछाडि रहेको जमिन प्लटिंग गर्ने क्रममा कब्रिस्तानको पर्खाल जुन कि एक प्रकारले एल आकारको थियो त्यसलाई भत्काई नयाँ पर्खाल खडा गर्दा ३ मीटर जति कब्रिस्तानको जमिन हराएको थियो । यसै कारणले यहाँ अहिले मुस्लिम कब्रिस्तानको विवाद चरममा पुगेको छ ।
कब्रिस्तानको दक्षिणतर्फ राप्ती पथ जाने मूल सडकको उत्तरपट्टी विगत समय करीब ५४ वटा पसल निर्माण गरिएको थियो । यो पसल निर्माण गराउने उद्देश्य एउटा मात्र थियो कि पसलबाट उठेको भाडा रकम गरीब निर्धन मुस्लिमलाई सहयोग गर्दै कुनै गरीब परिवारको मुस्लिमको छोरा छोरीको बिहे हुँदा त्यसमा रकम दिइ सघाउनु, मुस्लिम बच्चाहरुको शिक्षा स्वास्थ्य र बेरामी पर्दा उपचारमा सघाउनु तर अहिलेसम्म भाडा स्वरुप उठेको करोडौं रकम विगतदेखि आजसम्म कोसँग जम्मा छ कुन अवस्थामा छ ? कस–कसले भाडा रकम उठाएर आफूसँग राखेका छन् । यसबारे कसैलाई पनि जानकारी छैन ।
मुस्लिम कब्रिस्तान सञ्चालक समितिको साधारणसभा कहिल्यै नबोलाइएको, समुदायलाई जानकारी हुने गरी रकमको हर हिसाब सार्वजनिक नगरिएको, संस्थाको नविकरण गरी वैधानिकता नदिएकोले यसबाट नेपालगञ्जका मुस्लिम समुदय कब्रिस्तान सञ्चालक समितिबाट रुष्ट भई कब्रिस्तान संघर्ष समिति खडा गरी आन्दोलित बनेका छन् । यो कब्रिस्तान संघर्ष समिति मुस्लिम समाजका अगुवा व्यक्तित्व बाबु खाँ पठानको संयोजकत्वमा गठित भएको छ । केही दिन अघि सो संघर्ष समितिले बाँके जिल्ला प्रशासन कार्यालयमा कब्रिस्तानको हरहिसाब सार्वजनिक गराउन निवेदन दर्ता गराएको छ ।
यस्तो निवेदन संघर्ष समितिले प्रशासन कार्यालयमा कैयन पटक दर्ता गराएको देखिन्छ तर उनीको सुनुवाई नभएपछि बुधवार दिन कब्रिस्तान संघर्ष समितिका पदाधिकारीहरुले यस पत्रिकासँग कुराकानी गर्दै भने, मुस्लिम समुदायको कब्रिस्तानबारे आफ्नो गुनासो तर्फ प्रशासनले सुनुवाई नगरे कानूनी रुपमा न्याय पाउने बाटो अपनाउने छौं यहाँ सुनुवाई नभए राजधानीमा पुगेर आवाज उठाउँछौं र आवश्यक परे मुस्लिम समुदाय आन्दोलित पनि बन्नेछ भन्ने किसिमको राय व्यक्त गरे ।
मुस्लिम कब्रिस्तान संघर्ष समितिका संयोजक बाबु खाँ पठानले यस पत्रिकासँग कुराकानी गर्दै भने, इस्लामी नियममा जहाँ व्यक्तिको शरीर सिपुर्दे खाक गरिएको छ त्यसको माथि कुनै प्रकारको निर्माण कार्य गर्न मनाही गरिएको छ । तर सहाबारोडस्थित मुस्लिम कब्रिस्तानको चिहान खनी त्यसको माथि पसल निर्माण गर्नु इस्लामी शरीयतको खिलाफमा छ । अझ पसल निर्माण गर्ने कार्य जारी छ । अब राप्तीपथदेखि सल्यानी बागतर्फ जाने बाटोतर्फ पनि पसल निर्माण गर्ने प्रक्रिया चलेको छ यस्तो कार्यको मुस्लिम समुदाय विरोध गरी रहेका छन् कब्रिस्तानको पवित्रता बनाई राख्न त्यहाँ पसल निर्माण गराउनु उचित छैन । कब्रिस्तानमा पवित्रता बनाई राख्न पर्खाल थोरै अवश्य पनि अग्लो पार्न सकिन्छ । अहिलेसम्म कब्रिस्तान संचालक समितिले कुनै प्रकारको कब्रिस्तानको हरहिसाब सार्वजनिक गरेको छैन । कुनै व्यक्ति दिवंगत हुँदा त्यसको परिवार सदस्यले आफ्ना व्यक्तिको अन्तिम संस्कार गर्न लैजाँदा कब्र खने वापत १ हजार रु. बुझाउने गर्छ । अहिलेसम्म हजारौं हजार व्यक्तिबाट उठेको रकम सार्वजनिक गरिएको छैन ।
कब्रिस्तानको केही जमिन पनि खरिद गरिएको छ, त्यो रकम चन्दाबाट उठेर खरीद गरिएको हो । जति पनि आवश्यक निर्माण कार्यहरु भएका छन् त्यो पनि चन्दाबाटै भएको हो । कब्रिस्तानको लागि कुनै ठूलो रकम चाहिँदैन तर करोडौं रकमको घोटाला गरिएको छ । यो घोटालाको पर्दाफास गर्न निमित्त संघर्ष समिति खडा गरिएको हो । जायज मागलाई दबाउन अब सकिँदैन हामी कुनै व्यक्तिको विरोधी होइनौं, यस कारण कुनै व्यक्तिको नाम पनि लिँदैनौं, कब्रिस्तान सबै नेपाली नागरिकको हो, यस कारण यसको संरक्षण संवद्र्धन गर्ने दायित्व सबैको हो भने । कुराकानी गर्दा संघर्ष समितिका दर्जनौं पदाधिकारीहरुको त्यहाँ उपस्थिति रहेको थियो । यसरी कब्रिस्तानमा अनियमितता बारेको विवाद अझ बढ्ने सम्भावना रहेको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *