
काठमाडौं, १८ असोज – नेपालको सीमा चीनले अतिक्रमण गरेकोमा राष्ट्रिय एकता अभियानले राजधानीस्थित माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ ।
अभियानले माइतीघर मण्डलामा चीनको विरुद्ध प्रदर्शन गर्दै चिनिया राष्ट्रपति सि जिनपिंगको पुतला समेत जलाएको छ । प्रदर्शनकारीहरुले विरोध प्रदर्शन गर्ने क्रममा चाइना हस्तक्षेप बन्द गर, नेपाली भूमिमा अतिक्रमण बन्द गर, नाकाबन्दी खुल्ल्ला गर भन्ने किसिमको नारा लगाएका थिए ।
विस्तारवादी नीति राखेको चीनले हुम्लाको २ वटा ठाउँमा बलमिच्याई गर्दै नेपाली भूमि भित्र पसेर अवैध गतिविधिहरु गरेको पाइएको छ । हुम्लामा रहेको १२ नम्बर पिल्लर चीनले आफै बनाएको खुलासा गृह मन्त्रालयका सहसचिव जयनाराण आचार्यले गरेका थिए । लाप्चा भञ्ज्यांग लिमीको लाप्चा क्षेत्रमा सिमाना अतिक्रमण भएको छ भने सिमानामा रहेको ९.२ को सीमा स्तम्भको बीचमा एकतर्फी रुपमा तारबार गरेको पाइएको छ । हुम्लाको सीमा ५.१ र ५.२ तारबार गरी चीनले सो क्षेत्र आफ्नो तर्फ पारेको छ । पुरानो ५.२ नं.को जंगे पिल्लर पनि उखेलेर नयाँ बनाएको फेला परेको छ । गप्पुतोयामा पनि नेपाली भूमि अतिक्रमण भएको देखिएको छ ।
नेपालले बनाएको बाटो समेत चीनले आफ्नो तर्फ पारेको छ । त्यहाँका स्थानीय वासिन्दाहरु यस्तो अतिक्रमणको विरोध गर्दा चिनियाँ सैनिक र प्रहरी उनीलाई धम्क्याउँदै आएको छ । नेपालभित्र पर्ने सलोंगजोंगमा चीनले आफ्नो भौतिक सुरक्षा प्रयोजनमा उपयोग गर्न शुरु गरेको छ । चीनले हुम्लाबाटै मानसरोवर कैलाश दर्शन गर्ने स्थानलाई आफ्नो रहेको दावी गर्दै आएको छ । हुम्लाबाट निर्वाचित प्रदेशसभा सदस्य जीवनबहादुर शाहीले सबैभन्दा पहिले ज्यान जोखिम मोलेर चीनले नेपाली भूमि अतिक्रमण गरेको तथ्य बाहिर ल्याएका थिए ।
अहिले सरकारले समिति बनाएर अध्ययन गर्दा आधिकारिक रुपमा सीमा मिचिएको कुराको पुष्टि भएको छ । हालै लिमी लाप्चा गाउँपालिकाको उपाध्यक्षले जहाँ हामीले कैलाश मानसरोवर दर्शन गर्ने ठाउँ छ त्यो भन्दा केही पश्चिमतर्फको नेपाली भूमिमा चिनियाँहरुले आफ्नो देशको झण्डा लगाएको खुलासा गरेका छन् ।
चीनले नेपालीभूमि अतिक्रमण गरेकोमा देशभरी नै आक्रोश फैलेको छ । यसैको परिणाम स्वरुप राष्ट्रिय एकता अभियानले माइतीघर मण्डलामा चीन विरुद्ध प्रदर्शन गर्दै चिनिया राष्ट्रपति सि जिनपिंगको पुतला जलाएको छ । यो विरोध प्रदर्शन अभियानका केन्द्रिय संयोजक विनय यादवले आयोजना गरेका थिए । यस्तो विरोधको स्वर अब देशभरी नै उठ्न थालेको छ । तर चीनका हिमायती केही राजनीतिक दलका नेता र केही चिनियाँ परस्त नेपाली नागरिक जुनकि अरु समयमा भारतको विरोधमा चर्काे स्वर उठाउने गर्थे उनीहरु अहिले चीनको विरोधमा बोल्न नचाही मौन छन् । (आजको सामनाबाट)
