
नेपालगन्ज, ९ अषाढ – नेपालगन्ज उपमहानगरपालिकाको नगरसभाको १३औं अधिवेशन आज सुरु भएको छ । नगरसभाको १३ औं अधिवेशनमा नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरिएको छ । नगर प्रमुख प्रशान्त विष्टले नीति तथा कार्यक्रम र उपप्रमुख कमरुद्दिन राईले बजेट प्रस्तुत गर्नु भएको हो ।
उपप्रमुख राईले आगामी आर्थिक बर्ष २०८÷०८१ का लागि १ अर्ब ६७ करोड ५६ लाख १ हजार ५ सय ८७ रुपैयाँको अनुमानित आयव्यय विवरणसहितको बजेट नगरसभामा प्रस्तुत गर्नुभएको छ । यो बजेट चालू आर्थिक बर्षको भन्दा ४ करोडले बढी हो । चालू आर्थिक बर्षका लागि १ अर्ब ६३ करोड ६५ लाख ७२ हजार ४ सय रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरिएको थियो । संघीय तथा प्रदेश सरकारबाट प्राप्त भएको आय अनुमान तथा आन्तरिक आय समेतको आधारमा अनुमानित बजेट नगरसभामा प्रस्तुत गरिएको हो ।
बजेट बक्तब्य वाचन गर्दै राईले समग्र नगर विकासका लागि वडा कार्यालयहरुसंगको सहकार्यलाई आत्मसाथ गर्दै चालू आर्थिक बर्ष जस्तै आगामी आर्थिक बर्षका लागि पनि २५ करोड रुपैयाँ सिलिङ उपलब्ध गराउने व्यवस्था गरेको उल्लेख गर्नुभयो । नेपालगन्ज उपमहानगरपालिकाले आन्तरिक आय १८ करोड र राजश्व÷अनुदान बचत मौज्दात २० करोड हुने अनुमान गरेको छ । कुल आम्दानीको अधिकांश भार केन्द्रिय सरकार र प्रदेश सरकारहरुबाट प्राप्त हुने अनुदान भएकाले आन्तरिक राजश्वको दायरा बढाई आन्तरिक स्रोत बृद्धि गर्ने कार्यक्रमलाई अभियान कै रुपमा अघि बढाइने उपप्रमुख राईले बताउनुभयो ।
नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख विष्टले आगामी आर्थिक बर्षमा शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, सुशासन प्रबद्र्धनलाई प्राथमिकता दिइएको बताउनु भयो । नीति तथा कार्यक्रममा विद्यालयहरुलाई सूचना प्रविधिमैत्री बनाउने, गुणस्तरीय शिक्षामा जोड, स्थानीय पाठ्यक्रम कार्यान्वयन, निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने, योगमैत्री नगर बनाउने, पाँच बर्ष भित्र क्षयरोग मुक्त उपमहानगर घोषणा गर्ने, जमुनाहा नाकामा हेल्थ डेस्क सञ्चालन गरी सरुवाजन्य रोगको रोकथाम, निगरानी र व्यवस्थापन गर्ने, राँझा विमान स्थललाई अन्तर्राष्ट्रिय विमान स्थल बनाउन आवश्यक पहल गर्ने उल्लेख छ ।
यस्तै होटल व्यवसायीसंगको सहकार्यमा होटल परिसरमा सार्वजनिक शौचालय निर्माणका लागि आवश्यक पहल गर्ने, बर्षातको समयमा हुने डुबान कम गर्नको लागि नालीहरुको प्रभावकारी रुपमा सरसफाई तथा व्यवस्थापन गर्ने, नेपालगन्जको ऐतिहासिककला, संस्कृति झल्किने गरी वडा नम्बर २० स्थित सुर्खेतरोडमा प्रवेशद्वार स्थापना गर्ने, आफ्नै भवन नभएका वडा कार्यालयहरुको भवन निर्माण कार्यलाई प्राथमिकता दिने, बागेश्वरी मन्दिरलाई थप व्यवस्थित र सौन्दर्यकरण गर्न पूर्वतर्फ बागेश्वरी चिल्ड्रेन पार्क निर्माण गर्ने, अब्यवस्थित बसोबासलाई व्यवस्थि तगर्न रिङरोडको विकाससंगै वरपरका जग्गाको ल्याण्ड पुलिङ मार्फत जग्गा विकास गरी सामूहिक बस्ती विकास गर्ने कार्यका लागि आवश्यकपहल गर्ने, आधुनिक प्रविधिको प्रयोग गरी कागजको प्रयोग घटाउँदै लगिने, नागरिकका लागि सहज अनलाइन सेवाको विकास गर्ने, डिजिटलाइज्ड सेवा प्रदान गर्ने विषयहरु नीति तथा कार्यक्रममा समेटिएको छ ।
नीति तथा कार्यक्रममा आगामी २ बर्षभित्र १५ शैयाको आधारभूत अस्पताल सञ्चालनका लागि प्रदेश तथा संघीय सरकारसंग पहल गर्ने, ६० बर्ष पुगेका स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन एवम् सम्मानसहित विदाई गरिने, प्लाष्टिकको झोलाको प्रयोगलाई न्यूनीकरण गर्ने, हरित नेपालगन्ज बनाउन सडकको दायाँ–बायाँ विरुवा रोप्ने, श्रम सूचना बैंक स्थापना, रोजगार मेला सञ्चालन गर्ने, रोजगारी सिर्जना गर्ने, सहकारीहरुको निरन्तर अनुगमन गरी नियमनको दायरा भित्र ल्याइने, हामी सुधार्छौं हाम्रो सहकारी भन्ने विशेष अभियानमा सम्पूर्ण सहकारीकर्मीहरुलाई सामेल गराई सहकारीप्रतिको विद्यमान गुम्दो जनविश्वासलाई रोक्दै समृद्धि सम्भव छ सहकारीमार्फत भन्ने वातावरण निर्माण गर्दै लैजाने, कृषिउपजमा नेपालगन्जलाई आत्मनिर्भर बनाउने, सामाजिक सुरक्षा भत्ता विद्युतीय प्रणाली (इउफटी) मार्फत उपलब्ध गराउने, सामुदायिक कुकुरलाई बन्ध्याकरण गरी आवश्यक व्यवस्थापन गरिने, सुशासन कायम गर्नका लागि हेल्प डेस्क, डिजिटल नोटिस बोर्ड, सार्वजनिक सुनुवाई, सामाजिक परीक्षण लगायतका कार्यलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने, अतिक्रमण भएका सडक पेटीहरु खाली गराई व्यवस्थापन र अनुगमन गर्ने उल्लेख छ ।
नगर प्रमुख विष्टले प्रस्तुत नीति तथा कार्यक्रम नेपालगन्ज उपमहानगरपालिकाको आर्थिक, सामाजिक, मानवीय, पूर्वाधार लगायतको विकासका निम्ति कोशेढुंगा सावित हुने विश्वास ब्यक्त गर्नु भयो । प्रस्तुत नीति तथा कार्यक्रम र बजेटमाथि छलफल गर्दै आजको बैठक स्थगित गरिएको प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजालले जानकारी दिनुभयो । थप छलफल गर्न अर्को बैठक बोलाइनेछ ।
