
– मनोज कुमार कौशल
नेपालगन्ज, २२ कार्तिक – वैदिक सनातन धर्मावलम्बीहरुको महान चाड धन्वन्तरी जयन्ती (धनतेरस), दीपावली, भाईटीका पर्व हर्षाेल्लास सम्पन्न भएको छ । धनतेरस पर्वमा देउताहरुको वैद्य चिकित्सक भगवान धन्वन्तरीको पुजा गरी अर्काे दिन दिपावली र त्यसको लगत्तै शनिवार दिन भाई टीका पर्व हर्षाेल्लास सम्पन्न भएको छ ।
देउता र असुरहरु मिलेर समुन्द्र मन्थन गर्दा भगवान धन्वन्तरी र माता लक्ष्मीको प्राप्ति भएको कुरा वैदिक ग्रन्थहरुमा उल्लेख रहेको छ । भगवान धन्वन्तरी समुन्द्र मन्थन हुँदा हातमा अमृत कलश लिएर प्रकट हुनु भएको थियो यस कारण उनी आरोग्य, स्वास्थ्य, आयु र तेज कान्तिका देउता हुन् । हरेक वर्ष कात्तिक महिनाको कृष्ण पक्षको त्रयोदशीका दिन धनतेरस पर्व मनाइन्छ । धनतेरस पर्वको दिनमा गरिएको भाडाकुडा, गरगहना किनमेलललाई शुभ मानिन्छ । धनतेरस पर्व लगत्तै दीपावली पर्व मनाइन्छ । त्रेतायुगमा भगवान राम १४ वर्षको वनवास पुरा गरी अयोध्या पुग्दा त्यहाँका नागरिकले खुशियाली गर्दै उहाँको स्वागत गर्दै घर–घरमा झिलीमिली बत्ती बाली दिपावली गरेकोले त्यसै परम्परा अनुसार आज कलियुगसम्म यो पर्व मनाइँदै आइएको छ ।
दीपावली पर्व भगवान राम ११ लाख ९६ हजार ११६ वर्ष अघिको समय जन्म लिनुभन्दा अघिदेखि मनाउँदै आएको छ तर सो समय यसको नाम दीपावली थिएन बरु यसलाई दीपाली पर्व भन्ने गरिन्थ्यो वैदिक सनातन धर्मावलम्बीहरुको विभिन्न चाड पर्व श्रावण महिनादेखि शुरु हुन्छ यस महिनामा श्रीकृष्ण जन्माष्टमी पर्व, गुडिया पर्व, नाग पंचमी, काँवर उठाउने जस्तो पर्वको शुरुआत हुन्छ असोज महिनामा नवरात्रि, दशहरा बडमा दशैं पर्व सम्पन्न गरिँदै कात्तिक महिनामा दिपावली जस्तो पर्व सम्पन्न गर्ने गरिन्छ । कात्तिक १६ गते काग तिहार, १८ गते दीपावली, १९ गते गोवर्धन पुजा गोरु, पुजा गर्दै शनिवार दिन भाईटीका पर्व सम्पन्न गरिएको हो ।
अब बुधवार दिन अर्थात २४ गते सुर्य षष्ठी छठ पर्व प्रारम्भ गरी छठी मइयाको व्रत पुजा गरिनेछ यो पर्व पनि धेरै नै प्राचीन छ । छठी माताको व्रत माता सीताले पनि गर्ने गरेको उल्लेख ग्रन्थहरुमा पाइन्छ सुर्य उपासनाको यो महान पर्व सुर्य षष्ठी अर्थात छठ व्रत यही बुधवार दिन हर्षाेल्लासका साथ मनाउने तयारी शुरु भएको छ । कार्तिक शुक्ल षष्ठीका दिन अस्ताउँदो सुर्यलाई अर्घ दिएर मनाइने छ । यस पर्वमा देशभरीका विभिन्न जिल्लाहरुमा रहेका नदी, तलाउ, सरोवर लगायतका जलाशयका कुण्डमा पुगी सुर्यास्त तथा उदाउँदो सुर्यलाई अर्घार्पण गर्ने तयारी रहेको छ ।

श्रद्धा निष्ठापूर्वक ढंगले मनाइने यो कठिन छठ पर्व अरवा अरवाइन विधिसँगै शुरु हुन्छ । कार्तिक शुक्ल चौथीदेखि विधिवत शुरु हुने यो पर्वमा उसिनेको धानको चामल, कोदो, माछा मासु, मसुरो सहितका धार्मिक अनुष्ठानका लागि अशुद्ध मानिएका खाद्य वस्तु खान छाडेर व्रतको संकल्प गरिने अरवा अरवाइन विधिसँगै व्रतालुहरुले छठको पर्व मनाउने तयारी शुरु गर्छन् । अरवा अरवाइन गरेका व्रतालुहरुले चौथी तिथिमा नहाय खाय पवित्र स्नान गरेर शुद्ध खाने कुरा खाइने, पञ्चमी तिथिमा राति १ छाक मात्र अलिनो खानेकुरा खाएर खरना विधि सम्पन्न गरिन्छ ।
पर्वको मुख्य दिन षष्ठी तिथिमा निराहार व्रत बसेर साँझपख पवित्र जलाशयहरुमा पुगेर अस्थाउँदो सुर्यलाई अर्घ दिने संझाकै अरख संझिया घाट दिएर सप्तमीको दिन बिहान उदाउँदो सुर्यलाई अर्घ चढाएर भोरका अरखको विधि सम्पन्न गर्दै यो पर्व सम्पन्न गरिने तयारी रहेको छ । षष्ठी तिथिका दिन साँझ संझुका अरखसँगै सप्तमीका दिन बिहान भोरका अरख दिउञ्जेल व्रतालुे सुर्यको महत्व र छठी माईको पुकारा गर्दै गीत गाएर यो पर्व मनाउँछन् ।
उपासकको इच्छित माग पूर्ति गर्ने भगवान सुर्यको उपासनाले सन्तान सुखको प्राप्ति रोगव्याधि नलाग्ने वैदिक सनातन धर्मावलम्बीहरुको विश्वास रहेको छ । यस पर्वमा भगवान सुर्यसँगै माताका रुपमा आराधना गरिने षष्ठी तिथिको महत्ता गाइने हुनाले पर्वको नाम नै छठ भनिएको वैदिक मतका विद्वानहरुको भनाई रहेको छ । विगत वर्ष २०७६ चैत्र ११ देखि कोरोनाको संक्रमण बढ्दा लकडाउन गरिएको थियो जसको कारण विगत वर्ष बडा दशैं र दीपावली छठ पर्व धेरै नै प्रभावित बनेको थियो । २०७७ मा पनि यस्तै अवस्था रह्यो तर यस वर्ष तिव्र गतिले भ्याक्सिनेसन अभियान चलाइएकोले कोरोना महामारी थोरे मत्थर परेको देखिन्छ ।
कोरोनाको संक्रमण घटेकोले नेपाल भारत सीमा सुचारु गरियो जसको कारण सीमा पारीको भारतीय बजार रुपैडिहामा पुगी सर्वसाधारणले सस्तो मूल्यमा सरसामान किनमेल गर्ने मौका पाए यसको परिणाम यो आएको छ कि यस वर्ष दिपावली छठ लगायत भव्यताले मनाउने मौका मिलेको छ । यस दीपावली पर्वमा त्रिभुवन चोक सदरलाईनमा विगत वर्षदेखि लाग्दै आएको पुजा सामग्री पसल, देवी देउताको प्रति बिक्री गर्ने पसल, भाडाकुडा, बच्चाले खेल्ने खेलौना पसल त्यस्तै फलफूल, भुजा, लइया, चुरा र मिठाईका पसल उल्लेख्य रुपमा स्थापित भयो । यस्तो पसलमा किनमेल गर्नेहरुको घुइँचो रह्यो तर पटाखा आतिसबाजीको पसल लागेको देखिएन ।
पटखा नपड्के दीपावली पर्व फिक्का रहने गर्छ प्रहरीले पटका भारतबाट भित्रिन नदिने तमाम प्रयासहरु गर्दा पनि उमनपामा पर्वमा पटका भारी मात्रामा पड्काइयो । दीपावली पर्वको समय उमनपाको कैयन वार्डहरुमा लक्ष्मी, गणेश भगवान कुबेरको प्रतिमा स्थापित गरी पुजा आराधना गरिएको छ यो प्रतिमा आइतवार सिधनियाघाटस्थित राप्तीमा लगी सेलाइएको छ । कार्तिक २५ गते बिहीवार दिन किराँत धर्मावलम्बीहरुको फाल्गुनानन्द जयन्ती रहेको छ । यस जयन्तीमा नेवाः समुदाय नेपाल संवत ११४२ शुक्रवार मनाएका छन् ।
नेपाल संवत भव्यता र हर्षाेल्लासपूर्वक मनाउन नेवाः समुदायले विशेष तयारी गरेका थिए । २६ गते र २९ गते दिन तुलसी विवाह सम्पन्न गरिनेछ अर्काे सोमवार दिन अर्थात २९ गते दिन हुने तुलसी विवाहलाई ठूलो एकादशी कार्तिक स्नान भनिन्छ । यस दिन वैदिक सनातन धर्मावलम्बीहरु बिहानै नदीमा पुगी स्नान गर्ने र गरीबगुर्वालाई दान दक्षिणा दिन्छन् । यस दिन मोमफली बदाम, सिंघाडा, उखु लगायतको सेवन गर्ने परम्परा रहेको छ । कार्तिक स्नानपछि वैदिक सनातन धर्मावलम्बीहरुको सबै पर्व एक प्रकारले सम्पन्न हुन्छ । अर्काे महिना मंसिरमा शुक्रवार ३ गते गुरुनानक जयन्ती, मंसिर २३ गते सिता विवाह पंचनीको आयोजन हुने छ ।
