Tuesday, October 22सत्यम खबर
Shadow

आश्विन शुक्ल प्रतिपदामा पितृ विसर्जन हुने

मिति २०७८ असोज ११ गते
– रोहित मिश्रा
आश्विन शुक्ल प्रतिपदाको दिन पितृ विसर्जन हुने भएको छ । प्रत्येक आश्विन कृष्ण प्रतिपदादेखि पितृ पक्ष (१६ श्राद्ध) शुरु हुने गर्छ र आश्विन शुक्ल प्रतिपदासम्म रहन्छ । १६ वटा तिथिमा दिवंगत भएको पितृलाई सम्मानका साथ बिहान जल वैदिक मन्त्रोच्चारणका साथ तर्पण गर्ने कुरा प्रचलनमा रहेको छ ।
यस कारण यो पक्षलाई पितृ पक्ष भन्ने गरिन्छ । यस पक्षलाई केहीहरु प्रेत पक्ष पनि भन्छन् । व्यक्ति दिवंगत भएपछि विभिन्न योनीमा रहन्छ यसै योनीलाई प्रेत योनी भनिएको हो । पितृ पक्षको पहिलो दिन प्रतिपदा तिथिमा श्राद्ध गर्ने प्रथा रहेको छ । व्यक्ति जुन तिथिमा दिवंगत हुन्छ त्यही तिथिमा श्राद्ध कर्म गर्ने गरिन्छ । यसमा पुरुष दिवंगत भए पुरुष ब्राम्हणहरुलाई विधि विधानले भोज खुवाइन्छ जुन तिथिमा महिला दिवंगत हुन्छिन् त्यही तिथिमा महिला ब्राम्हिणीहरुलाई विधि विधान र श्रद्धाले भोज खुवाई यथाशक्य दान दिइने प्रचलन रहेको छ । वैदिक संस्कृति शास्त्रीय परम्परा अनुसार चल्छ यसै शास्त्रीय परम्परा अनुसार १६ श्राद्ध गर्ने परम्परा अनादिकालदेखि चल्दै आएको छ ।


वैदिक परम्परामा विभिन्न दोषहरु लाग्ने गर्छ यसमा गृह दोष, वास्तुदोष र पितृ दोष छ जोव्यक्ति पितृ पक्षमा आफ्ना पितृहरुको सम्मानमा विधि विधानले जल तर्पण गर्छन् ब्राम्हणलाई भोजन ग्रहण गराउँछन् यसबाट पितृ खुशी हुन्छन् र आशिर्वाद दिन्छन् जसको कारण व्यक्तिलाई मनोवाञ्छित फलको प्राप्ति हुन्छ । सन्तान निरोगी हृष्टपुष्ट र सुख शान्तिले जीवनयापन गर्न पाउँछन् । पितृको दोष लागे विभिन्न रोग व्याधि लाग्ने, घरमा दरिद्रता र अशान्ति आउने गर्छ यस्तो समस्या नआओस् यसका लागि सनातन संस्कृति मान्नेहरु पितृ पक्षमा शिरको कपाल खौराई नियमपूर्वक बिहान सुगन्धित जल पितृहरुलाई तर्पण गर्ने गर्छन् । १६ श्राद्धमा ब्राम्हण, ब्राम्हणीलाई भोजन ग्रहण गराउँछन् ।
पितृ पक्षमा दिवंगत पितृहरु पिण्ड ग्रहण गर्न, जल ग्रहण गर्न आफ्नो सन्तान बसेको मृत्युलोकमा आउने गर्छन् यस्तो कुरा धर्मशास्त्रहरु देमाद्रि, वीरमित्रोय निर्णय सिन्धु लगायत ग्रन्थहरुमा उल्लेख रहेको छ । यस पितृ पक्षमा जो सन्तान आफ्नो दिवंगत पितृहरुको उपेक्षा गर्दै जल तर्पण गर्दैनन् दिवंगत तिथिमा श्राद्ध भोजन गराउँदैनन् यसबाट पितृ रुष्ट भई त्यस्ता सन्तानलाई श्राप दिएर फर्किन्छन् ।
यसरी १६ श्राद्ध गर्नाले पितृहरुप्रति आफ्नो दायितवको बोध हुन्छ र यस्तो कार्य गरी पितृ ऋणबाट मुक्ति मिल्छ । वैदिक सनातन संस्कृतिमा ठूला मांगलिक कार्य गर्नु अघि नान्दीमुखी श्राद्ध, पितृको दिवंगत तिथिमा एकोरष्टी श्राद्ध, १६ श्राद्धमा पार्वणश्राद्ध १६ मा नै मृत्यु भएकाहरुको स्मरणमा एक अन्य पार्वण श्राद्ध तिर्थमा गरिने, तिर्थ श्राद्ध र बद्रीको ब्रह्म कपाल तिर्थमा गरिने ब्रम्ह कपाली जस्ता श्राद्ध कर्म प्रचलनमा रहेको छ । यो पितृ पक्षमा श्राद्ध नगर्दा विभिन्न दोषहरु लाग्छ । १६ श्राद्ध अपरान्ह कालमा गर्नुपर्ने शास्त्रहरुमा उल्लेख छ । नेपालको मधेश क्षेत्रमा बसोबास गर्ने सनातन संस्कृतिका व्यक्ति आफ्नो दिवंगत पितृहरुलाई जलतर्पण गर्न र पिण्ड दान गर्न अयोध्या, काशी, हरिद्वार लगायत तिर्थ स्थानमा पुग्ने गर्छन् । त्यस्तै नेपालको उपत्यकाहरु उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर उत्तर गया र रसुवाको संगमस्थल वेत्रावती देवघाट, त्रिवेणी लगायत तिर्थ स्थलमा पुगी पितृहरुप्रति श्रद्धाका साथ श्राद्ध कर्म गर्न पुग्ने गर्छन् । १६ श्राद्धमा कुनै कारणवश श्राद्ध कर्म गर्न नसके आश्विन कृष्ण औंसीदेखि आश्विन शुक्ल पंचमीसम्म गर्न सकिन्छ । यो समयमा पनि गर्न नसके कार्तिक कृष्ण औंसी अर्थात लक्ष्मीपुजाका दिन पनि गर्न सकिन्छ ।
कार्तिक कृष्ण औंसीमा पनि गर्न नसके वृश्चिक संक्रान्ति लाग्नुअघि सम्म अर्थात मंसिर अघिसम्म जुराएर गर्न सक्ने शास्त्रले बताएको छ । आश्विन शुक्ल पञ्चमी पछिका अष्टमी, द्वादसी र औंसी भरणी नक्षत्र र व्यातीपात योग परेका दिन जुनसुकै तिथि परेपनि रोकिएको १६ श्राद्ध कर्म गर्न सकिने शास्त्रमा व्यवस्था छ । निर्णय सिन्धु धर्म सिन्धु लगायत धर्म शास्त्रमा यो कुरा उल्लेख रहेको पाइन्छ । जो व्यक्ति १६ श्राद्ध गर्न असक्षम छन् आफै मन्त्र जप गर्न सक्दैनन् उनीहरुले ब्राम्हण मार्फत १०८ मन्त्र जप गरी पितृ दोषहरुबाट बच्न सक्छन् । वधिपूर्वक यस्तो जप १० महिनासम्म उनीले गराउनु पर्छ । यस पद्धतिले पितृहरुलाई तृप्ति मिल्ने कुरा शास्त्रमा उल्लेख छ । श्राद्धको अर्काे नाम हो श्रद्धा ।
श्रद्धा गरी आफ्ना पितृहरुलाई खुशी पार्न सकिन्छ । श्रद्धया यद्दियते तद् श्राद्धम् अर्थात श्रद्धाले जे पितृलाई दिइन्छ त्यहीबाट पितृ खुशी हुन्छन् यसैलाई श्राद्ध भनिएको छ । १६ श्राद्ध ४ प्रकारले गरिन्छ ३ पुस्तालाई मात्र पिण्ड दान दिएर गरिने कर्म एकापार्वण श्राद्ध हो । यस पितृ पक्षमा दिवंगत भएका नाममा यो श्राद्ध गरिन्छ । घर, मामाघरतिरका ३ पुस्तासम्मलाई पिण्डदान दिएर गरिने श्राद्धलाई द्विपार्वण श्राद्ध भनिन्छ । घरतर्फका लाई २ पिण्ड र मामाघरतर्फ १ पिण्ड दिएर गरिने १६ श्राद्धलाई त्रिपार्वण श्राद्ध भनिन्छ । घरतर्फका पितृलाई २ र मामाघर तर्फका पितृलाई २ गरी ४ वटा पिण्ड दिएर गरिने १६ श्राद्धलाई चतुपार्वण श्राद्ध भनिन्छ । आश्विन ५ गते मंगलवार देखि पितृपक्ष शुरु भएको हो यो पितृ पक्ष आश्विन २० गतेसम्म हुन्छ यसको अर्काे दिन अर्थात २१ गते घटस्थापना भई शारदीय नवरात्रि पर्वको प्रारम्भ हुन्छ । नेपालीहरु पितृ पक्ष १६ श्राद्धपछिबाट नवरात्रि र बडादशैं मनाउन शुरु गर्छन् । पितृ पक्षमा अहिले घर–घरमा श्राद्ध कर्म चली रहेकोले व्यक्ति शिरको कपाल खौराई पितृहरुप्रति श्रद्धा व्यक्त गर्दै धार्मिक परम्परा अनुसार बिहान पितृहरुलाई जल तर्पण र पितृ दिवंगत भएको तिथिमा आ–आफ्नो घरमा श्राद्ध कर्म गर्ने कार्य जारी राखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *