Monday, April 13सत्यम खबर
Shadow

मंगलबारदेखि पितृ पक्ष (सोह्र श्राद्ध)शुरु

– मनोज कुमार कौशल
नेपालगन्ज, ३ असोज – वैदिक सनातन धर्मावलम्बीको पितृ पक्ष यही मंगलबारदेखि शुरु हुनेछ ।
पितृपक्ष १४ दिनको हुन्छ र १५ औं दिनमा पितृको विसर्जन गरिन्छ । यस कारण वैदिक सनातन धर्मावलम्बीहरु आफ्ना पितृहरुको स्मरण गर्दै बिहानपख पितृहरुलाई जल अर्पण गर्ने प्रचलन रहेको छ ।
पितृपक्षमा दिवंगत भएका पितृहरुको आगमन हुन्छ यस कारण बिहान कालो तिल, चामलको अक्षत, गंगा जल, चन्दन, फूल, पानीमा मिसाई कुश हातमा समाती पितृहरुलाई जल अर्पण गर्ने गरिन्छ । जल अर्पण गर्दा पूर्व दिशातर्फ भगवान सूर्य नारायणलाई श्री सूर्य देवाय तृप्यामी शब्द उच्चारण गर्दै सूर्य नारायणलाई सोझो अंजुलीले जल अर्पण गर्दै तस्मेय स्वधा भन्ने गरिन्छ ।


त्यस्तै उत्तर दिशातर्फ देउताहरुको वास छ यस कारण उत्तरतर्फ देउतागणहरुको स्मरण गर्दै ओमकृष्णाय नमः ओम नारायणाय नमः, नमः ओम माधवाय नमःको शब्द उच्चारण गरी जलअर्पण ३ पटक गर्ने गरिन्छ । त्यस्तै दक्षिणतर्फ पितृहरुको वास छ यस कारण अस्मत पितृ कश्यप गोत्र भन्दै आफ्ना पितृहरुको नाम छुट्टा छुट्टै लिई तस्मेय स्वधा उच्चारण गरी जल अर्पण ३ पटक गर्ने गरिन्छ । यस समय पितृगणहरुलाई औंठाको दायाँ तर्फबाट ३ पटक पानी हल्लाएर ओम श्री पितृदेवाय तृप्यामी शब्द उच्चारण गर्दै थोरै थोरै जल दायाँ बायाँको बगलबाट जल अर्पण गर्ने गरिन्छ ।
पश्चिमतर्फ भने कुनै प्रकारको सनातनीको इष्ट देव र पितृ देव छैनन् । यस कारण पश्चिम दिशामा कुनै प्रकारको जल अर्पण गर्ने गरिँदैन । संसारमा रहेका विभिन्न व्यक्तिलाई विभिन्न दोषहरु लाग्ने गर्छ यसमा देउताको दोष, ग्रहदोष, वास्तु दोष लगायत दोषहरु लाग्दा विभिन्न समस्या उत्न्न हुन्छ यसमा पनि पितृको दोष लागे धेरैप्रकारको समस्या उत्पन्न हुन्छ जस दोषलाई सहजै समाप्त पार्न सकिँदैन ।


यस कारण पितृहरुलाई खुशी पार्न १४ दिनसम्म पितृहरुलाई भक्तिभाव ढंगले जल तर्पण गर्ने र १५औं दिन भक्तिभाव ढंगले विसर्जन गर्ने परम्परा छ । पितृपक्षमा कपाल खौराउनु अनिवार्य छ र शुद्ध भोजन पानीको मात्र सेवन गरी शुद्ध आचरण राख्ने र साद्गीपूर्ण वस्त्र धारण गर्ने प्रावधान छ । उत्तर र पूर्व तर्फ जल अर्पण गर्दा सुतीको कपडा बाँया काँधमा राख्ने र दायाँ खुट्टा अगाडि बायाँ खुट्टा पछाडि राखेर बस्ने त्यस्तै दक्षिणतर्फ जल अर्पण गर्दा सेतो कुशको आँैंठी औंलामा धारण गरेर पितृहरुलाई जल अर्पण गर्ने समेत प्रावधान छ ।
यस्तै पितृ दिवंगत रहेको तिथिमा श्राद्ध गराउनु पर्छ, यसमा यथाशक्तीको संख्यामा ब्राम्हण र ब्राम्हणीहरुलाई बोलाएर सबैभन्दा उनको खुट्टा धुनो, भोजन गराउने कार्य गरेपछि उनीहरुलाई आफुसक्दो दान दिने परम्परा रहेको छ । यसैलाई श्राद्ध भोज भनिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *