Monday, April 13सत्यम खबर
Shadow

हत्या घटनाको निष्पक्ष जाँच होस्

मितिः २०७८ असोज ३ गते
शुभम् शर्मा
२०७८ श्रावण महिनामा बाँके जिल्लाको जानकी गाउँपालिका वडा नं. २ बेलभार अन्तर्गत रहेको नेवाजी गाउँमा बस्ने नन्कुन्नी धोबीलाई दाईजोको कारण उनीका श्रीमान राम कुमार धोबी, जेठाजु इतबारी धोबी लगायत मिलेर हत्या गरेको घटना ।
त्यस्तैै २०७८ श्रावण महिनामा नै नेगउमनपा वडा नं. १७ परसपुरमा रहेकी एक जना विधुवा महिला निर्मला कुर्मीको अपहरणपछि शरीर बन्धकमा पारेपछि उनीको हत्या घटनाले के बुझिन्छ भने यहाँ घरेलु हिंसा चरममा छ र यहाँको प्रशासन यस्तो घटना रोक्न असक्षम छ ।
यी दुवै घटना घटेपछि पीडित पक्षले न्याय पाउन बाँके जिल्ला प्रहरी कार्यालयमा पुगी जाहेरी निवेदन दर्ता गराउने प्रयास ग¥यो तर पीडक पक्षतर्फ लागेको प्रहरीले उनीको गुनासो सुन्ने प्रयास नगरी कार्यालयबाट धकेली बाहिर निकाल्यो । यी दुवै घटनाको ढाकछोप गर्न केही राजनीतिक दलका स्थानीय नेता लागी परेकोले पीडित पक्षले अहिलेसम्म न्याय पाउन सकेको छैन । यसरी यहाँ विधिको शासन नरहेको आफै नै प्रष्ट हुन्छ ।


राजनीतिक दबावले गर्दा अपराधी उन्मुक्ति पाएका छन् । पीडित पक्ष अझ पीडित बनेको छ । जबदेखि यी दुवै हत्याको घटना भएको छ, महिला अधिकारकर्मी निरन्तर रुपमा बाँके जिल्ला प्रशासनको मुख्य गेटमा धर्ना दिँदै आएका थिए । करिब १९ दिनदेखि यो धर्ना कार्यक्रम चल्दै आएको थियो । तर स्थानीय प्रशासन यस्तो धर्ना कार्यक्रमतर्फ न त देख्ने प्रयास गरेको छ, न त उचित न्याय दिलाउने आश्वासन नै दिएको छ । भर्खरै बाँकेमा न्याय नपाएपछि महिला अधिकारकर्मीहरु न्याय पाउनका लागि शुक्रवार दिन नेपालगन्जबाट काठमाडौंसम्म पैदल यात्रामा लागेका छन् ।
यसबाट के बुझिन्छ भने न्याय अहिले हराएको छ, जसको कारण यस्ता अपराधले निरन्तरता पाएको छ । अन्य समयमा प्रशासनले महिला हक अधिकारको नारा फलाक्दै आएको छ तर महिलाप्रति यस्तो घटना घट्दा त्यो आँखा चिम्लेको हुन्छ । यस्तो कार्य एकदमै गलत हो । यसबाट अन्य विभिन्न अपराध फस्टाउने मौका पाउँछ । जहाँसम्म प्रहरीको कुरा छ । यो दुवै घटना आत्म हत्याबाट भएको छैन बरु यो हत्याको घटना हो तर वास्तविक कुरा त्यस समय छर्लंग हुन्छ, जब यसको निष्पक्ष छानबीन हुन्छ ।
यस कारण अहिले पनि समय छ सम्बन्धित निकाय यी दुवै घटनाको वास्तविक कुरा बाहिर ल्याउन छानबीन समिति गठित गरोस् । छानबीन भएमात्र सत्यतथ्य बाहिर आउँछ ।
भन्ने गरिन्छ, न्याय पाउन लामो समय लाग्छ यसको लागि निरन्तर संघर्ष चलाउनु पर्छ । यो संघर्ष महिला अधिकारकर्मी चलाउँदै आएका छन् यसबाट एक दिन सत्यको जीत अवश्य हुन्छ असत्य अवश्य नै पराजित हुन्छ । यसको लागि लामो समयसम्मको लागि संघर्ष चलाउनु आवश्यक छ । निर्मला कुर्मीको हत्या घटनाको ढाकछोप गर्न केही राजनीतिक दलका नेताको नाम सामुन्ने आई सकेको छ । यस्ता नेतालाई जनताले उचित समयमा उचित जवाफ अवश्य दिन्छन्, नन्कुन्नी धोबी र निर्मलाको हत्या घटनाले प्रहरीको ठूलो बदनामी भएको छ । यसबाट प्रहरीको भूमिका नै संदिग्ध बनेकोले सत्य सेवा सुरक्षणम्को मूल मन्त्र बोकेको प्रहरीले आफ्नो छवि सुधार्नको लागि पनि निष्पक्षता अपनाई वास्तविक अपराधीलाई कडा दण्ड सजायं दिलाउन अघि बढ्नुपर्ने अहिलेको माग हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *