
मितिः २०७८ असोज ३ गते
विद्रोही
छिमेकी देश चीनको जिनजियांग र सिक्यांग प्रान्तमा उईगर समुदायको ठूलो बसोबास छ । यिनी उईगर समुदाय इस्लाम धर्मका अनुयायी हुन् । यसकारण यिनीहरु मुस्लिम हुन तर यसै कारण चीनले सधैं यिनीहरुको हक अधिकारको हनन गर्दै दमन समेत गर्दै आएको छ । उईगर मुस्लिमलाई त्यहाँ शिक्षा पाउने अधिकारबाट बञ्चित गरिएको छ । उईगर मुस्लिमप्रति यति मात्रै ज्यादती छैन । त्यहँँ मुस्लिमको प्रचलित नाम राख्न मनाही छ । प्रमुख इस्लामी ग्रन्थ पढ्न रोक लगाइएको छ । नमाज लगायत लुकीछिपी ढंगले पढ्ने गर्छन् उनी । त्यहाँ मस्जिद छ तर माइकबाट अजान दिन मनाही गरिएको छ । जस उईगर मुस्लिमले चीनको विरुद्धमा आवाज उठायो । त्यसको दमन गरिएको छ । चीनको बंकरमा करीब २ लाख जति उईगर मुस्लिमलाई बन्धक बनाई दास जस्तो राखिएको समाचार बारम्बार प्रकाशित हुँदै आएको छ । जुन वस्तु चीनियाँको लागि खाद्य वस्तु छ त्यो वस्तु मुस्लिम समुदायमा अखाद्य मानिएको छ त्यस्तो अखाद्य वस्तु उनीहरुलाई खान दिइएकोछ । बडो विषम परिस्थितिबाट गुज्री रहेका छन् उईगरहरु । विरोध गर्ने उईगर समुदायका मुस्लिमलाई चीनले पृथकतावादी र आतंकवादी घोषणा गरेको छ ।

विद्रोही
अन्य देश जहाँ लोकतन्त्रको स्थापना छ मुस्लिमलाई बराबरीको हक अधिकार दिइएको छ । त्यहाँ कथमकदाचित मुस्लिम समुदायमाथि कुनै अपराध घट्छ भने अन्यहरु सरकारलाई बदनाम पार्न बढीचढी ढंगले विरोध गर्छन् । मुस्लिम समुदाय फिर्का फिर्का, समुदाय समुदाय, कबिला कबिला, विभिन्न पन्थमा विभाजित छन् । आफ्नो मत अर्काको शिरमाथि जबरजस्ती थोपार्ने प्रयास सधैं त्यस्ताहरु गर्दै आएका छन् । कतिपयसम्म उनी एक अर्कामाथि हिंसक प्रहार गर्न पनि चुक्दैनन् । यस्ता हिंसक प्रहारबाट हजारौं हजारको मृत्यु भएको, तमाम अपांग बनेको घटनाहरु छन् । उदाहरणको रुपमा लिऊँ भने पाकिस्तानमा रोजिन्दा यस्ता घटनाहरु घट्ने गर्छन् विभिन्न मतकाहरुको छुट्टा छुट्टै आतंककारी संगठनहरु छन् । जुनकि एकअर्कामाथि रोजिन्दा आक्रमण गर्छन् । यस्तो आक्रमण मात्र सार्वजनिक स्थानमा हुँदैन । मस्जिदमा नमाज पढ्दा बम विष्फोट, नमाज पढ्दा नमाजीहरुमाथि गोली प्रहार भएको अनगिनत घटनाहरु छन् ।
ताजा घटना लिऊँ भने अफगानिस्तानमा भर्खरै यस्तै घटनाहरु घट्नशुरु भएको छ । अफगानिस्तानमाथि भर्खरै तालिबानी आतंककारीले गरेको कब्जा कुनै नीतिगत वा धार्मिक छैन । बरु यो पूर्ण रुपले राजनीतिक छ, पाकिस्तान पोषित हक्कानी ग्रुपले अफगानिस्तानको शासनमाथि पूर्ण रुपले कब्जा गरेको छ र मुल्ला बरादर ग्रुपको अपहेलना गरेको छ । यिनी दुई समूहको अब सत्ताको लागि लडाई हुन शुरु भएको छ । पाकिस्तानले आफूपक्षधर पख्तुन र बलुच समुदायलाई सत्तामा कब्जा गराउन विगत दिनदेखि प्रयास गर्दै आएको छ यसको परिणाम अहिले देखा परेको छ । भर्खरै पख्तुन र बलुचको वर्चस्व अफगानिस्तानमाथि भएको छ पाकिस्तान पोषित त्यस मुस्लिम समुदायले यसअघि अफगानिस्तानका वास्तविक भूमिपुत्र हजारा, उज्बेक, ताजिक (शिया) समुदायको ठूलो संख्यामा हत्या गराउँदै आएको छ । पख्तुन, बलुच, हजारा, शिया, उज्बेक, ताजिकहरु पनि मुस्लिम नै हुन् तर आफ्नो मत जबरजस्ती अर्काको शिरमाथि थोपार्न पाकिस्तानले पख्तुन र बलुचलाई आफ्नो हातमा लिएर अन्य मुस्लिमको हत्या गराउँदै आएको छ ।
यस्तै उदाहरण अन्य देशको पनि छ विगतमा इराकमा सद्दाम हुसैनका अति नजिक रहेको केमिकल अली नामको आतंकवादीले लाखौं लाख शिया मुस्लिममाथि केमिकल हाली हत्या गराएको थियो । नाइजेरियामा बोको हराम नामको आतंकवादी संगठन छ यसले पनि इस्लामको नाममा इस्लाम धर्मावलम्बीमाथि नै ज्यादती गर्दै क्रिश्चियन र मुस्लिम समुदायको युवती, बालिकाको अपहरण गरि विभिन्न उत्पीडन गर्दै आएको छ । मुस्लिम धर्ममा एउटा शब्द छ त्यो हो मुनाफिक जुन मुस्लिम उदार विचारको हुन्छन्, अन्य धर्म समुदायका व्यक्तिसँग मिलेर बस्छन्, नाजायज रुपमा हत्या हिंसा गर्दैनन् त्यसलाई मुनाफिक भएको भन्दै कट्टरपन्थीहरु उनको हत्या गर्छन् ।
त्यसो त कट्टरपन्थी विचार राख्नेहरु अन्य धर्म सम्प्रदायलाई काफिर, मुश्रिक भन्दै शताब्दियौंदेखि हत्या हिंसा गरिँदै आएको छ तर मुनाफिक करार दिई त्यस्ताले उदारवादी मुस्लिम समुदायको अधिकांश रुपमा हत्या गरेको सम्पूर्ण विश्वको इतिहास छ । यसको अतिरिक्त जसले मजार, दरगाहमा उपासना गर्दैन त्यस्तालाई मजार, दरगाहमा उपासना गरेकोमा उपहास गर्ने, त्यस्तामाथि तमाम ज्यादती गर्ने गरेको अनगिनत घटनाहरु छन् मजार, दरगाहको उपासना गर्ने मुस्लिम उदार स्वभावको हुने गर्छन् अन्यहरु अत्यन्त उग्र विचारधाराको हुन्छन् । विश्वको कुख्यात आतंकवादी ओसामा बिन लादेन, अलजवाहरी, बगदादी लगायतहरु मजार, दरगाहमाथि आस्था राख्ने गर्दैनथे तर जब कुरा आउँछ, मुस्लिम समुदायमाथि उत्पीडनको त्यससमय यिनी जस्ताको मुख बन्द हुन्छ । पाकिस्तान, तुर्की, साउदी अरब जस्ता देश मुस्लिम समुदायमाथि उत्पीडन हुँदा ठूलो विरोधका स्वर उठाउने गर्छन् ।
तर जब उईगर र ताजिक, उज्बेक, शिया लगायतमाथि दमन हुन्छ । त्यस समय उनीहरु आफ्नो मुख बन्द राख्छन् । साउदी अरबका क्राउन प्रिन्स सलमान जबदेखि आएका छन् त्यहाँ कट्टरता केही घटेको छ अब त्यहाँ अन्य धर्मावलम्बीहरुको सम्मान हुन शुरु भएको छ, प्रिन्स सलमानको कारणले नै साउदी महिलालाई धेरै हक अधिकारहरु मिलेको छ । तर पाकिस्तान र तुर्की जस्ता देशमा कट्टरता अझ बढ्दै गएको छ । अहिले चीनका नागरिक उईगर मुस्लिममाथि चीनले चरम उत्पीडन गर्न शुरु गरेको छ । तर उईगर मुस्लिमको समर्थनमा यी दुवै देश आजसम्म एक शब्द पनि बोलेका छैनन् । अफगानिस्तानमा इस्लामको दुहाई दिँदै अहिले तालिबान सत्तामा बसेको छ । त्यसले पनि उईगर मुस्लिमको समर्थनमा बोल्न चाही रहेको छैन । बरु त्यो चीनको अगाडि अहिलेदेखि नै कचौरा थाप्न शुरु गरेको छ । यस्तो कार्य पहिले देखि नै पाकिस्तान गर्दै आएको छ । त्यसले पहिले अमेरिकाको अगाडि भिक्षाको कचौरा बढायो र भिक्षा निरन्तर रुपमा प्राप्त गर्दै रह्यो कहिले अलकायदाका आतंकवादी तपाईलाई दिन्छौं भनि अमेरिकी डलर पचायो कहिले खुल्लमखुल्ला भिक्षा लिइयो । अब अमेरिका पाकिस्तानलाई भिक्षा दिन बन्द गरेको छ । जसको कारण अब त्यसले चीन अगाडि भिक्षाको कचौरा बढाउन शुरु गरेको छ भन्ने गरिन्छ, संगतले गुण मिल्छ जस्तो संगत हुन्छ त्यस्तो नै गुण पनि मिल्छ । पाकिस्तान र तालिबान भनेको एकै नै हो, यसै कारण तालिबानको संगत पाकिस्तानसँग छ । संगतको कारण त्यो पनि अब चीनसँग भिक्षा माग्न शुरु गरेको छ । तर कुरा हो नीतिको इस्लाम सम्पूर्ण विश्वमा फैलाउनु छ । यसको अभियान सैयौं वर्षअघि शुरु गरिएको थियो । मुस्लिमले अर्का मुस्लिमको हत्या गर्नु हुँदैन, एक मुस्लिममाथि संकट पर्दा अर्का मुस्लिमले त्यसको संकट टार्न अघि बढ्नुपर्छ तर फलाना समुदाय, फलाना मतको फलाना समुदाय, मुनाफिक आदि भनि एक मुस्लिमले नै अर्कामाथि ज्यादती कति दिन गर्ने हो त ? इस्लामी पवित्र ग्रन्थहरुमा इकरा भन्ने शब्द उल्लेख छ, यसको अर्थ हो पढ्नु । यस कारण पढ्नु सबै मुस्लिमको बराबरीको हक अधिकार हो, त्यो चाहे महिला होस् वा पुरुष पढ्नु छ भने विदेशसम्म पुग्नु अनिवार्य रहेको कुरा त्यस्ता ग्रन्थहरुमा उल्लेख छ । तर आज एक पन्थ अर्काे पन्थलाई दबाउन इकरा शब्दतर्फ देख्ने कुनै प्रयास गरेका छैनन् ।
चीनिया नागरिक उईगर मुसलमानलाई पढ्न नदिन चीन सरकारले मनाही गरेको छ यस्तो कार्य निन्दनीय र भत्र्सना योग्य छ । चीनको यस्तो कार्यको विश्वभरी नै विरोध हुनु जरुरी छ यसमा पनि सबै भन्दा पहिले इस्लामी देशहरुले यस्तो विरोधको आवाजउठाउनु जरुरी छ । शिक्षाको प्रसार मुस्लिमको सबै समुदायसम्म पुग्नसकेन भने अज्ञानता बढ्दै जान्छ धार्मिक कट्टरता पनि बढ्दै जान्छ जसको कारण आतंकवाद सम्पूर्ण विश्वमा बढ्ने खतरा छ । यस्तो आतंकवादबाट चीन, पाकिस्तान, तुर्की, साउदी अरब लगायत पनि बच्दैनन् । शिक्षा आजको समयमा अपरिहार्य छ मुस्लिमको सबै बालबालिका शिक्षित बनुन्, यस कुराको आज आवश्यकता छ । उइगर मुस्लिममाथि चीन सरकारले चरम ज्यादती बढाउँदा पाकिस्तानी, तालिबानी सोचकाहरु उईगर मुस्लिमतर्फ नदेखी घटित घटनाको ढाकछोप गर्न चीनमा गएर उईगर मुस्लिममाथि कुनै उत्पीडन नभएको भन्दै यस्तो घटनाको ढाकछोप गर्दै आएका छन् ।
तर वास्तविक कुरा हो कि चीनको विभिन्न ठाउँमा बसोबास गर्दै आएका सबै मुस्लिमको उत्पीडन भएको छैन तर जिनजियांग र सिक्यांगमा बस्दै आएका उईगर समुदायका मुस्लिममाथि उत्पीडन भएको हो यो कुरा दावीका साथ भन्न सकिन्छ ।
चीनमा प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र छैन त्यहाँ तानाशाही शासन छ मानवअधिकार, बराबरीको हक अधिकार पाउन जसले पनि आवाज उठाउँछ त्यसको सफाया गरिन्छ । तर उईगर मुस्लिम समुदायप्रति उत्पीडन झन झनै बढ्दै गएको छ उनीको समर्थनमा पाकिस्तान, तालिबान, तुर्की, साउदी अरेबिया लगायत मुस्लिम राष्ट्र बोली देउन् यसको आशा उईगर मुस्लिमले राखेका छन् । यस कारण मुस्लिम राष्ट्र हकको पक्षमा बोल्न जरुरी छ बातिलको विरुद्धमा संघर्ष गर्नु जरुरी छ जसले यो कार्य गर्छ त्यही नै सच्चा मुस्लिम हो । यस्तो कार्य गर्न त्यो सकेन भने हक पराजित हुन्छ बातिल विजयी हुन्छ । अफगानिस्तान, पाकिस्तान लगायत देशमा विद्यमान यस्ता घटनाहरुबारे लेखनी गर्दा तालिबानी सोचका व्यक्ति आफ्नो देशमा विद्यमान समस्याबारे लेखनी नगर्ने अर्काको देशबारे लेखनी किन गर्ने यस्ता कुराहरु कमेन्ट मार्फत लेखिँदै आइएको छ उनी जस्ताहरुसँग प्रश्न छ हाम्रो देश नेपालको संविधानले सबै नेपालीको हक अधिकार सुनिश्चित गरेको छ समान शिक्षा समान स्वास्थ्य, समान रोजगारको अवसर सबैलाई दिएको छ । हाम्रो यहाँ कुनै समस्या छैन । हाम्रो यहाँ हिन्दुको गुरुकुल, बौद्धको गुम्बा, मुस्लिमको मदरसाबाट शिक्षा दिइने कार्य हुँदै आएको छ शिक्षाको प्रचार प्रसारमा सरकारले कुनै रोक लगाएको छैन । तसर्थ नेपाल सरकारको विरोधमा किन लेखनी गर्ने त ? नेपाल सरकारले त सबै नेपाली चाहे जुन धर्म सम्प्रदायका हुन् सबैलाई बराबरीको हक अधिकार दिलाउन हिन्दु राष्ट्रलाई हटाउँदै देशलाई धर्म निरपेक्ष बनाएको थियो । के यो धर्म निरपेक्षता तालिबानी सोच राख्नेहरुलाई पचेन त ? उनीसँग प्रश्न छ कि हामी त विश्वको चाहे जुनसुकै राष्ट्र होस् चाहे त्यो क्रिश्चियन राष्ट्र हो वा इस्लामी राष्ट्र सबै धर्म निरपेक्ष राष्ट्र बनुन् सबै राष्ट्रमा प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्रको स्थापना होस् । यस्तो चाहना हामीले राखेका छौं । हाम्रो लागि विश्व एक परिवार हो विश्वको कुनै धर्म सम्प्रदाय जात जाति लिंगमाथि ज्यादती बढ्छ भने त्यसको विरुद्ध बोल्नु हाम्रो नैतिक कर्तव्य हो यो बोल्ने अधिकार नेपाल सरकारले हामी सबैलाई दिएको छ । अनि यस्ता ज्यादतीपूर्ण घटनाको विरुद्धमा लेखनी किन नगर्ने त ? यस्तो विरोधको स्वर शोसल मिडियाको मार्फत पनि उठाउन सकिन्छ । सबै उईगर मुस्लिमको पक्षमा बोल्न सकिन्छ जो उइगर मुस्लिमको पक्षमा खडा हुँदैन भने त्यस्ता संकीर्ण विचारधाराकाहरु चीनसँग डराउने डरछेरुवा व्यक्ति हुन्, यस्ताहरुसँग के सरोकार राख्ने ? उईगर मुस्लिमको समर्थनमा यहाँ मात्र होइन बरु सम्पूर्ण विश्वबाट सामुहिक रुपमा आवाज उठ्नु जरुरी छ । यो विरोधको स्वर उठेन भने उईगर मुस्लिमप्रति दमन अझ बढ्दै जाने सम्भावना छ ।

