
मिति २०७८ भाद्र २८
शुभम शर्मा
आदिकालदेखि कजरी तीज र हरितालिका तीज पर्व वैदिक संस्कृति मान्नेहरुले मनाउँदै आएका छन् । यो पर्व केही शताब्दीदेखि होइन बरु आदिकालदेखि मनाइँदै आएको कुरा ग्रन्थहरुमा उल्लेख रहेको पाइन्छ । यो पर्व भाद्र शुक्ल द्वितियादेखि पञ्चमीसम्म ४ दिनसम्म मनाउने प्रचलन छ । हरितालिका तीज पर्व माता पार्वतीसँग जोडिएको छ भने कजरी पर्व भगवान शिव र पार्वती दुवैसँग जोडिएको छ ।
नेपाली संस्कृतिमा हरितालिका तीजको व्रत राखे यसबाट सुख, समृद्धि पाउने र मनोवाञ्छित वरको प्राप्ति हुने रहेकोले युवतीहरु राम्रो जीवनसाथी पाउन यो व्रत राख्ने गर्छिन् । भविष्य पुराणमा यस पर्वलाई हरितालिका तीज भनि उल्लेख रहेको छ । माता पार्वतीको बिहे भगवान विष्णुसँग हुन लागेकोमा उनीसँग विवाह नहोस् बरु भगवान शिवसँग होस् यस्तो चाहना माता पार्वतीले राखेकाले उनीका सखीहरुले उनलाई हरण गरेर जंगलमा लुकाएको हुनाले यस पर्वलाई हरितालिका भनिएको हो । माता पार्वती आर्यमूलको हुनु हुन्थ्यो भने भगवान शिव अनार्य रहेको समेत उल्लेख पाइन्छ ।
यसरी शिव पार्वतीको मिलनको क्षणलाई हरितालिका तीज पर्व भनि मनाउन शुरु गरिएको हो । हरितालिका तीज नेपालमा मनाइन्छ भने नेपालको तराई क्षेत्रमा यसलाई कजली वा कजरी तीज भनि मनाइने गरिन्छ । यी दुवै पर्वको उद्देश्य एउटै छ तर हरितालिका तीज र कजरी तीज व्रत मनाउने परम्परा छुट्टा–छुट्टै प्रकारको छ हरितालिका तीज पर्व मनाउने श्रद्धालुहरु दर खाने परम्परा निर्वाह गर्दै हप्तौं दिनसम्म स्वादिलो भोजन ग्रहण गर्ने र नाचगान गरी रमाउने परम्परा छ ।
कजरी तीज व्रत मनाउनेहरु यस पावन अवसरमा माछा, मासु, मदिराको सेवन गर्दैनन् बरु यस अवसरमा शुद्ध, सात्विक आचार विचारहरु राख्छन् । अपामार्गले दाँत माझ्ने, व्रतमा पानीसम्मको सेवन गर्दैनन पुरै समय शिव र पार्वतीको उपासनामा व्यतीत गर्छन् । यसरी यो पर्व उपासनाको हो । शुद्ध सात्विक ढंगले उपासना गरे यसबाट विभिन्न मनोकामना पूरा हुने मान्यता रहेको छ । शिव उपासकहरु यस समयमा एकान्तवास गरी शिव शक्तिको जागरण आफ्नो मनमा गर्छन् विगतमा तीज पर्व भड्किलो ढंगले मनाउने परम्परा थिएन हरितालिका पर्व होस् वा कजरी तीज यस पर्वमा माछा मासु मदिराको त्याग गरी शुद्ध भोजन ग्रहण गर्ने गरिन्थ्यो यसमा पनि शुद्ध भोजन, दूध दहीले बनाइने परिकारलाई बढी महत्व दिइन्थ्यो तर अब यो पर्व भड्किलो ढंगले मनाउन शुरु भएको छ । पहिले मन्दिरमा मनाउने गरिएको यो पर्व दर खाने आडमा महँगो होटल रेष्टोरेन्टमा मनाउन शुरु गरिएको छ ।
यस कारण हरितालिका तीज पर्वको मौलिकता नै लोप भएको छ । कजरी तीज पर्व आज पनि विगत वैदिककाल अनुसार मनाइने गरिएकोले यसमा जति शुद्धता र सादगीपन छ त्यति हरितालिका तीज व्रतमा छैन । यो पर्व विशेषकर रुपमा मधेशी मूलका नारीहरु मनाउने गर्छन् कजरी तीज पर्वलाई आधुनिकताले छुन नसकेकोले यो पर्व भक्तिमय ढंगले शुद्धताले आज पनि मनाइन्छ । कजरी तीज पर्व मनाइन्छ तर यसको प्रचार प्रसार भने बढि गरिँदैन जब शिव र शक्तिको उपासना नै गर्नुछ भने दिखावटी किन गर्ने ?
यस्तो अधिकांशहरुमा मान्यता आजसम्म विद्यमान छ यसरी एक किसिमले भन्ने हो भने हरितालिका तीज पर्वको नाम कजरी तीज पर्व विशुद्ध रुपले धार्मिक छ । शिव शान्त हुनु हुन्छ उहाँको उपासना शान्त ठाउँमा गरे मात्र उनीलाई खुशी पार्न सकिन्छ जहाँ कोलाहल हुन्छ जहाँ दिखावटीपन हुन्छ शिवको उपस्थिति त्यहाँ कहिल्यै पनि हुँदैन । यसरी एक किसिमले तीज पर्वको मौलिकता नै हराएको छ । आज जुन प्रकारको तीजको अवसरमा दोहोरी गीत गाउने गरिन्छ यसबाट नकारात्मक सन्देश जाने गरेको छ । विगतमा तीज व्रत राख्ने महिलाहरु यस्तो नकारात्मक सन्देश गीतको माध्यमबाट दिने गर्दैनथे, उनीको गीतमा भक्तिको सन्देश मात्र हुने गथ्र्याे ।
अहिले यस्तो नकारात्मक सन्देश दिइने गीतहरु आधुनिक शैलीमा बन्न शुरु भएको छ । नवरात्रि पर्व, गणेश चतुर्थी, तिहार पर्वमा विभिन्न धार्मिक गीत बन्ने गर्छ तर त्यो फिल्मी गीतमा आधारित हुन्छ यस्तो गीतले धार्मिक आस्थामाथि चोट पु¥याउने र धार्मिक आस्था घटाउने कार्य गरेको छ । आगामी समयमा तीज पर्व अन्धो शैलीले आधुनिकतातर्फ नबढोस् यसको लागि सबै सचेत र सजग बन्नु जरुरी छ । यसको लागि महँगो होटलमा दर खाने, अश्लीलता प्रकट गर्ने कपडामाथि रोक लगाउनु जरुरी छ ।
यस्तै प्रकारको अश्लीलता र छाडापन बढ्दै गए यसबाट वैदिक सनातन धर्मलाई ठूलो हानी नोक्सानी हुनेछ । अहिले त अति नै छाडापन आएको छ अरुको लहलहैमा लागेर अवधीभाषी समुदाय कजरी तीजको मौलिकता बिर्सेर नजानेर हरितालिका तीज पर्व होटलमा मनाउन शुरु गरेका छन् । हरितालिका तीजको संस्कृति र कजरी तीजको संस्कृतिमा के फरक छ उनीले जानेका छैनन् जसरी वर्षायाममा भ्यागुता हिलोमा उफ्रिँदै टर्र टर्र गर्न शुरु गर्छन् त्यसै प्रकार अन्य भ्यागुता अर्का भ्यागुताको नक्कल गरी टर्र(टर्र कराउन शुरु गरेका छन् ।
समुदायको पहिचान त्यसको संस्कृति सभ्यताबाट हुन्छ जुन समुदाय आफ्नो संस्कृति र सभ्यतालाई बिर्सिन्छ त्यसको पतन छिट्टै नै हुन्छ । हरितालिका तीज संस्कृति अनुसार मनाउनु चाहिँ ठीक हो तर आफ्नो कजरी तीजको संस्कृति अनुसार अवधीभाषी समुदायले संरक्षण संवद्र्धन गर्दै मनाउनु पर्छ । यस्तो उनीले गर्न सकेनन् भने उनीको संस्कृति र सभ्यता लोप हुन्छ यो खतराको महसुस उनीले गर्न सक्नुपर्छ ।
कजरी तीजको मौलिकता अवधीभाषी समुदायले बिर्सेकोले यो क्षण अत्यन्तै दुःखद छ । अहिले पनि समय छ हरितालिका तीज पर्वको सम्मान गर्दै कजरी तीजलाई पनि मान्यता दिलाउने प्रयासमा लागौं । विगतमा सुर्य षष्ठी छठ पर्व नेपालको पूर्वी क्षेत्रमा मात्र मनाइन्थ्यो यस पर्वलाई राष्ट्रिय पर्वको मान्यता दिलाउन नेपाल सद्भावना पार्टीका संस्थापक नेता मध्येका गजेन्द्र नारायण सिंहले लामो समयसम्म संघर्ष गरी छठलाई राष्ट्रिय पर्व स्थापित गराउन ठूलो प्रयास गरे । अब कजरी तीज पर्व विलुप्त भई रहेको छ । यसलाई बचाउन सबैतर्फबाट जोडदार ढंगले आवाज उठ्नु जरुरी छ । जसरी देशभरी हरितालिका तीज पर्वले पहिचान बनाएको छ । त्यस्तै नै पहिचानकजरी तीजलाई पनि दिलाउन सबै नै पहल गरौं ।


