Thursday, May 14सत्यम खबर
Shadow

१७औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्डमा कोहलपुर प्रथम

नेपालगन्ज, ३१ वैशाख – १७औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड छनोट प्रतियोगिताको उपाधि कोहलपुर नगरपालिकाले जितेको छ । नेपालगन्ज रंगशालामा भएको बाँके जिल्ला स्तरीय रनिङ्ग शिल्ड छनोट प्रतियोगितामा नेपालगन्ज उपमहानगरपालिका दोस्रो र खजुरा गाउँपालिका तेस्रो भयो । कोहलपुर नगरपालिकाले २२ स्वर्ण, ९ रजतर १३ कास्य पदक प्राप्त गर्दै यस वर्षको उपाधि जितेको हो ।

दोस्रो भएको नेपालगन्ज उपमहानगरपालिकाले प्रतियोगितामा १५ स्वर्ण, ११ रजतर १९ कास्य पदक जितेको थियो भनेखजुरा गाउँपालिकाले ८ स्वर्ण, ४ रजत तथा ९ कास्य पदक जितेको थियो । बिजेताहरूलाई कोहलपुर नगरका नगर प्रमुख पूर्ण प्रसाद आचार्यले पुरस्कार प्रदान गर्नु भएको थियो । कोहलपुर नगरपालिकाले यस अघि १६ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जितेको थियो ।

प्रतियोगितामा राप्ती सोनारी गाउँपालिकाले अनुशासन तर्फ उत्कृष्टताको पुरस्कार पाएको छ । यसैगरी छात्र–छात्रा कबडडीको दुबै बिधातर्फ खजुरा प्रथम भएको थियो । छात्र एथलेटिक्स तर्फ कोहलपुर, खजुरा र नेपालगन्ज तथा छात्रातर्फ नेपालगन्ज, राप्ती सोनारी र कोहलपुरले क्रमश प्रथम, द्वितीय र तृतीय स्थान ल्याएका छन् ।

यसैगरी छात्र भलिबल तर्फ कोहलपुर, बैजनाथ र नेपालगन्ज क्रमश प्रथम, द्वितीय र तृतीय भएका छन् भने छात्रा भलिबल तर्फ कोहलपुर, राप्ती सोनारी र नेपालगन्ज क्रमश प्रथम, द्वितीय र तृतीय भएका छन् ।

यसैगरी मार्सल आर्ट -उसु) तर्फ नेपालगन्ज प्रथम, मार्सल आर्ट -कराँते)तर्फ नेपालगन्ज, कोहलपुर र खजुरा क्रमश प्रथम, द्वितीय र तृतीय भएका छन् ।
बाँके जिल्ला खेलकुद विकास समितिको आयोजनामा सुरु भएको प्रतियोगिता वैशाख २८ देखि ३० गते सम्म चलेको थियो ।

प्रतियोगितामा नेपालगन्ज उपमहानगरपालिका, खजुरा गाउँपालिका, कोहलपुर नगरपालिका, नरैनापुर गाउँपालिका, जानकी गाउँपालिका, बैजनाथ गाउँपालिका र राप्तीसोनारी गाउँपालिकाको सहभागिता रहेको आयोजक बाँके जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख सन्तोष श्रेष्ठले जानकारी गराउनु भयो ।

राष्ट्रपति रनिङ्ग शिल्ड छनोट प्रतियोगितामा भलिबल, एथ्लेटिक्स, कबड्डी, कराते, तेक्वान्दो, उसु खेल समावेश गरिएको छ ।
बाँके जिल्ला स्तरीय १७ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड छनोट प्रतियोगिताको विजेता खेलाडीहरुले लुम्बिनी प्रदेश स्तरीय प्रतियोगितामा सहभागिता जनाउने अवसर पाउने छन् ।

प्रदेश स्तरीय प्रतियोगिता जेठ १ देखि ३ गते सम्म दाङमा संचालन हुनेछ । प्रदेश स्तरीय राष्ट्रपति रनिङ्ग शिल्डमा छनोट भएका खेलाडीले काठमाडौैमा जेठ ६ देखि ८ गतेसम्म सहभागिता जनाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *