
खजुरा, ३१ वैशाख – न्यु बागमति युवा क्लबले प्रथम अशोक स्मृतिकप -यु–२०)फुटबल प्रतियोगितामा सफलता हासिल गरेको छ । न्यु बागमति युवा क्लबले बुधबार योगिनी युवा क्लबलाई १–० ले पराजित गरेको छ । खजुरा गाउँपालिका–४ डी गाउँस्थित मिनि रंगशाला मैदानमा भएको खेलमा न्यु वागमतिको लागि अनिपाल शाहीले खेलमा निर्णायक गोल गर्नु भएको थियो । शाहीले ४८औं मिनेटमा गोल गर्दै बागमतिलाई जित दिलाउनु भयो । खेलमा शाही प्लेयर अफ द म्याच घोषित हुनु भयो ।

उहाँलाई आयोजकश्री दिफेमस महिन्द्र दल गण भु.पु संघ बाँके अध्यक्ष कृष्णलाल गिरी र प्रतियोगिता संयोजक एवम् खजुरा गाउँपालिका वडा नम्बर ४ का निर्वतमान अध्यक्ष तिलकवीर सुनारलगायतले पुरस्कृत गर्नु भएको थियो ।
श्री दिफेमस महिन्द्र दल गण भु.पु संघ बाँकेको आयोजना, सुन्दर विहानी युवा क्लब जानकीगाउँपालिका–०४बाँकेको सहआयोजना र ब्रदर्श एफसीको विशेष सहयोगमा भैरहेको प्रतियोगितालाई एलिसा ज्वैलर्सले मुख्य प्रायोजन गरेको छ । जेठ ३ गते सम्म चल्ने प्रतियोगितामा १२ टिमको सहभागिता रहेको छ ।
पुर्व फुटबल खेलाडी अशोक विकको स्मृतिमा भैरहेको प्रतियोगितामा २० वर्ष उमेर समुहका खेलाडीलाई सहभागि गराइएको छ । प्रतियोगिताको विजेता टिमले ५१ हजार रुपैयाँ, उपविजेताले ३१ हजार रुपैयाँ, ट्रफी, मेडल, प्रमाणपत्र पाउने आयोजकश्री दिफेमस महिन्द्र दल गण भु.पु संघ बाँके अध्यक्ष कृष्णलाल गिरीले बताउनु भयो । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई ५ हजार रुपैयाँ, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोल किपरलाई जनही २ हजार ५ सय रुपैयाँ, ट्रफी, प्रमाणपत्र प्रदान गरिनेछ ।

प्रतियोगिताको प्रथम पुरस्कार रकम रु.५१ हजार रुपैयाँ खजुरा गाउँपालिका वडा नम्बर ४ निवासी हाल अमेरिकामा रहनु भएका समाजसेवी तथा खेलप्रेमी लीलबहादुर थापाले प्रायोजन गर्नु भएको प्रतियोगिता संयोजक एवम् खजुरा गाउँपालिका वडा नम्बर ४ का निवर्तमान वडा अध्यक्ष तिलकवीर सुनारले जानकारी गराउनु भयो ।
त्यस्तै प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई फायर फास्ट फुड एण्ड रेष्टुरेन्टले जनही १ हजार रुपैयाँ प्रायोजन गरेको छ ।
२० वर्ष उमेर समुहका खेलाडीले प्रतिस्पर्धा गरिरहेको प्रतियोगितामा कालिका युवा क्लब, न्यु डाँफे स्पोर्टस क्लब, मोडेल एफसी, धम्बोझी एफसी, न्यु दर्पण स्पोर्टस क्लब, ब्रदर्श एफसी, सिमलघारी, चन्द्र ज्योति, खजुरा–११ -आयोजक), योगिनी युवा क्लब, बागमति युवा क्लब र महिन्द्र दल गण भुपुको सहभागिता रहेको छ ।

प्रतियोगिता अन्तर्गत आज वैशाख ३१ गते बिहिबारको खेलमा आयोजक खजुरा–११ र चन्द्र ज्योति युवा क्लबले प्रतिस्पर्धा गर्ने प्रतियोगिता संयोजक तिलकवीर सुनारले जानकारी गराउनु भयो ।
