Monday, April 13सत्यम खबर
Shadow

सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

खजुरा, ३० चैत – सितापुर युनाइटेड क्लबले दोस्रो योगिनी गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । सितापुरले राईजिङ स्टार क्लबलाई २–० ले पराजित गर्दै च्याम्पियन बनेको हो ।

सितापुर युनाइटेडको जितमा शम्भु थारु र संगम सारु मगरले १–१ गोल गर्नु भयो । शम्भुले खेलको ५५औं मिनेट र संगमले ६३औं मिनेटमा गोल गर्नु भयो । उपाधिसँगै विजेता सितापुर युनाइटेड क्लबले ५१ हजार रुपैयाँ र उपविजेता राईजिङ स्टारले २५ हजार रुपैयाँ प्राप्त गरेको छ ।

प्रतियोगितामा सितापुर युनाइटेडका अर्पण थारु सर्वोत्कृष्ट खेलाडी घोषित हुनु भयो । उहाँले नगद ३ हजार ५ सय रुपैयाँ प्राप्त गर्नु भयो । प्रतियोगितामा उत्कृष्ट गोलकिपर सितापुर युनाइटेडका विवेक थारु,उत्कृष्ट रक्षक सितापुर युनाइटेडका विवेक थारु, उत्कृष्ट मिड फिल्डर राईजिङ स्टारका बसन्त पुन, उत्कृष्ट स्ट्राइकर सितापुर युनाइटेडका सुदिप राना मगरले प्राप्त गर्नु भयो । विधागत रुपमा उत्कृष्ट हुने खेलाडीले जनही २ हजार प्राप्त गर्नु भयो ।

प्रतियोगितामा अनुशासित खेलाडीको रुपमा आयोजक योगिनी युवा क्लब ‘ए’ का कप्तान गौरव थापा र उदयीमान खेलाडीको ट्रफी योगिनी युवा क्लब ‘बी’ का रबि खत्रीले प्राप्त गर्नु भयो ।

प्रतियोगिताको विजेता, उपविजेता, सर्वोत्कृष्ट र विधागत रुपमा उत्कृष्ट हुने खेलाडीलाई खजुरा गाउँपालिका अध्यक्ष डम्बर विक तुफान, आयोजक योगिनी युवा क्लबका अध्यक्ष कमल पुन, खजुरा गाउँपालिका खेलकुद विकास समिति सदस्य सचिव छवि विष्ट, योगिनी युवा क्लबका संस्थापक अध्यक्ष तरिन्द्र थापा, हरित सृजना सामुदायिक वन उपभोक्ता समुहका कार्यबहाक अध्यक्ष यामबहादुर महतारा, योगिनी मावि विद्यालय व्यवस्थापन समिति अध्यक्ष राजकिशोर महतारा, गौघाट टोल विकास समिति अध्यक्ष नरेन्द्र भारती, खजुरा गाउँपालिका वडा नम्बर २ सदस्य लक्ष्यबहादुर ओली, प्रतियोगिता संयोजक गणेश राई लगायतले पुरस्कृत गर्नु भयो ।

योगिनी युवा क्लबको आयोजनामा चैत २२ गते देखि सुरु भएको प्रतियोगितामा बाँके र बर्दियाका १३ टिमको सहभागिता रहेको थियो ।

प्रतियोगितामा मोडेल एफसी क्लब, सीतापुर युनाइटेड, जय किसान स्पोर्टस क्लब, मानवी स्पोर्टस क्लब, २७ स्टार क्लब, राईजिङ स्टार, एक्स आर्मी लेजेन्ड, चन्द्र ज्योती युवा क्लब, केवाईसी, योगिनी युवा क्लब ‘ए’, योगिनी युवा क्लब ‘बी’ र एक्टिभ युवा क्लबको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *