
नेपालगन्ज, ४ चैत्र – नेपालगन्जमा जारी मेयर कप (पुरुष) क्रिकेट प्रतियोगितामा ज्योति स्पोर्ट्स एकेडेमीले वार्ड नं. १२ माथि ८३ रनको फराकिलो जित दर्ता गरेको छ। उत्कृष्ट ब्याटिङ र कडा बलिङ प्रदर्शनका कारण ज्योति स्पोर्ट्स एकेडेमीले प्रभावशाली जित हात पारेको हो।
पहिले ब्याटिङ गरेको ज्योति स्पोर्ट्स एकेडेमीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १९८ रनको विशाल योगफल तयार पारेको थियो। टोलीका कप्तान सिद्धान्त राज शाहीले ४७ बलमा शानदार १०० रन प्रहार गर्दै खेलको दिशा नै परिवर्तन गरे।
१९८ रनको लक्ष्य पछ्याएको वार्ड नं. १२ ले भने अपेक्षाअनुसार प्रदर्शन गर्न सकेन। टोली २० ओभरमा ८ विकेट गुमाउँदै मात्र ११५ रनमा सीमित रह्यो। विषाल वर्माले सर्वाधिक २६ रन बनाउँदा राम आर्याले २० रन र प्रमित आचार्याले १७ रन जोडे। अन्य ब्याट्सम्यानले दोहोरो अंकमा पुग्न संघर्ष गरे।

ज्योति स्पोर्ट्स एकेडेमीका बलरहरू निकै प्रभावशाली देखिए। निशान्त आचार्याले ४ ओभरमा २५ रन खर्चेर ३ विकेट लिएर उत्कृष्ट प्रदर्शन गरे। बिकाश शाहूले २ विकेट लिँदा रबिश वर्मा र अन्जेश शाहिले समान १/१ विकेट हात पारे।
यस जितसँगै ज्योति स्पोर्ट्स एकेडेमी प्रतियोगितामा बलियो दाबेदारको रूपमा प्रस्तुत भएको छ।
खेलको ‘प्लेयर अफ द म्याच’ ज्योति स्पोर्ट्स एकेडेमीका सिद्धान्त राज शाही घोषित भए।
