
नेपालगन्ज, ५ चैत्र – हुलाक सेवा विभाग द्रुत डाँक सेवाले ईएमएस सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरी यसको सेवा सुविधा बारे जानकारी गराएको छ । आज विहिबार हुलाक सेवा विभागको आयोजना तथा जिल्ला हुलाक कार्यालय बाँकेको समन्वय सहजीकरणमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख ज्ञानेन्द्रकुमार चौधरी थिए भने मनमाया ढकालको अध्यक्षतामा कार्यक्रम सम्पन्न गरिएको थियो ।

सो कार्यक्रममा सहजीकरण जिल्ला हुलाक कार्यालय बाँकेका वरिष्ठ हुलाक अधिकृत ज्ञानेन्द्र प्रसाद थारुबाट स्वागत मन्तब्य व्यक्त गरिएको थियो । अन्तरक्रिया कार्यक्रमको उद्देश्य बारे जानकारी गराउँदै ज्ञानेन्द्र प्रसाद थारुले भने हुलाक सेवा विभागले बाँकेमा यो अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेकोले हामी अगामी समयमा द्रुत डाँक सेवालाई जनतामुखी बनाउने कुरामा हौंसिएका छौं । यथेष्ट प्रचारप्रसार गर्न नसकिएकोले ईएमएस सेवा बारे जनतालाई कुनै विशेष जानकारी थिएन । यस कार्यक्रम मार्फत ईएमएस सेवा कार्यक्रम थप सेवामुखी बनाउने कुरामा प्रतिबद्धता जनाए ।

कार्यक्रममा हुलाक सेवा विभागका निर्देशक लिलाराज पौडेलले स्थापनाकालदेखि हालसम्मको हुलाक सेवाको गतिविधि बारे जानकारी गराए ।
त्यस्तै प्रस्तुतकर्ता सालिकराम बस्यालले द्रुत डाँक सेवा बारे जानकारी गराउँदै समयको माग र ग्राहकका चाहना अनुरुप छिटोछरितो र भरपर्दो तथा अत्याधुनिक कागजातहरु, मालसमान आदानप्रदान गर्ने हुलाक सेवा विभाग अतिरिक्त सञ्चालित व्यवसायिक कार्य सार्वजनिक गर्ने, ईएमएस सेवा बहु पक्षिय सार्वजनिक रुपमा सञ्चालित गर्ने भन्दै ईएमएस सेवाको विशेषता बारे जानकारी गराए ।
त्यस्तै जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङले आफ्नो अभिव्यक्तिमार्फत यो सेवालाई जनतामुखी, चुस्तदुरुस्त हुलाक सेवा बनाउनु पर्ने कुरामा जोड दिँदै यसलाई कानुनी रुपमा सुधार गरेर जानुपर्छ, जनतालाई सुविधा दिने खालको कार्यक्रम कार्यान्वयनमा ल्याउनु विचार राखे ।

हुलाक सेवाको शुरुवात बेलायतबाट भएको थियो । यस हुलाक सेवा संगठनमा १९२ वटा देशहरुको सहभागिता रहेको छ । नेपालमा १९३५ अर्थात १४७ वर्षको इतिहास छ । नेपालमा हुलाक घरको स्थापना यही समयमा भएको थियो । विगतमा नेपालको डाँक टिकट बाहिरबाट छपाउनु गरिएको थियो भने अहिलेसम्म १५ सय प्रकारको हुलाक टिकट छापि बिक्री वितरण भईसकेको छ । वर्तमान समय हुलाक सेवा विभागले देशमा नै हुलाक टिकट छपाई गरी बिक्री वितरण गरि रहेकोले हुलाकको कार्य निकै नै बिस्तृत भएको छ । ईएमएस सेवालाई अझ प्रभावकारी बनाए हुलाकको कार्य क्षमता अझ बढ्ने जनविश्वास रहेको छ ।

