
नेपालगन्ज, २९ मंसिर – दैनिक रुपमा राष्ट्रिय जनावर गाई काटिने कार्य हुन लागेपछि राप्रपा नेपालका नगर अध्यक्ष हुकुम केसीसहितको टीम जिल्ला प्रशासन कार्यालय बाँकेमा ज्ञापनपत्र बुझाएको छ ।

राष्ट्रिय जनावर तथा हिन्दू धर्मावलम्बीहरुको आस्थाको केन्द्रको रुपमा रहेको गाईलाई बाँके जिल्लाको विभिन्न स्थानहरुमा काट्ने, तस्करी गर्ने लगायत कार्य तत्काल रोक्न तथा यसकार्यमा संलग्नहरुलाई कडाभन्दा कडा कानुनी कारवाही गर्न ज्ञापनपत्रमा मांग गरिएको नगर अध्यक्ष केसीले बताएका छन् ।
राप्रपा नगर अध्यक्ष केसीका अनुसार पटक पटक प्रशासनलाई गुहार गरिएको तथा अब पनि त्यसतर्फ सम्बन्धित पक्षको ध्यान केन्द्रित नभएको अवस्थामा हामी आफै कानून हातमा लिन बाध्य हुने चेतावनी समेत दिएका छन् ।
राप्रपा नगर अध्यक्ष केसीको टिमद्वारा जिल्ला प्रशासन कार्यालय बाँकेमा बुझाईएको ज्ञापनपत्रमा ‘नेपालको संविधान तथा प्रचलित कानुनले राष्ट्रिय जनावर गाईलाई संरक्षण गर्ने स्पष्ट व्यवस्था गरेको सर्वविदितै छ । गाई नेपाली समाजको धार्मिक, सांस्कृतिक तथा राष्ट्रिय पहिचानसँग गहिरो रूपमा जोडिएको पवित्र जनावर हो ।’ भनी उल्लेख गरिएको छ ।

‘तर पछिल्लो समय हाम्रो जिल्ला तथा आसपासका क्षेत्रमा गाईको अवैध मारकाट, तस्करी तथा दुरुपयोगका घटनाहरू बढ्दै गएको खबरले हामी सम्पूर्ण नागरिक अत्यन्तै दुःखी, चिन्तित र आक्रोशित भएका छौं । यस्तो कार्यले कानुनको ठाडो उल्लंघन मात्र होइन, सामाजिक सद्भाव, धार्मिक आस्था तथा राष्ट्रिय भावनामाथि गम्भीर आघात पुर्याइरहेको छ’ बुझाईएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
‘अतः१. गाईको मारकाटमा संलग्न दोषीहरूलाई तत्काल पहिचान गरी कानुन बमोजिम कडा भन्दा कडा कार्वाही गरियोस् ।, २. यस्ता गैरकानुनी कार्यहरू रोक्न सुरक्षा निकायलाई थप सक्रिय बनाइयोस् ।, ३. गाई संरक्षणका लागि नियमित अनुगमन तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरियोस् ।, ४. भविष्यमा यस्ता घटनाहरू नदोहोरिन कडा कानुनी व्यवस्था प्रभावकारी रूपमा लागू गरियोस् ।, हामीलाई पूर्ण विश्वास छ कि जिल्ला प्रशासन कार्यालयले यस गम्भीर विषयलाई उच्च प्राथमिकतामा राखी आवश्यक कदम चाल्नुहुनेछ ।’ भनी ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
