
नेपालगन्ज, ७ वैशाख – अन्तर्राष्ट्रिय आमन्त्रण लुम्बिनी कप महिला फुटबल प्रतियोगिता अन्तर्गत शनिबार बाँकेको नेपालगन्ज रंगशालामा भएको दोस्रो खेलमा नेपाल पुलिस क्लब बिजयी भएको छ । भारतको सिलिगुरी एफसीलाई ४–० ले हराउँदै नेपाल पुलिस क्लबले जित सुनिश्चित गरेको हो । पुलिसको जितमा निर्मला उपाध्यायले दुई तथा मिना देउवा र कप्तान निरु थापाले एक गोल गरेका हुन् । सुमन सुवेदीको कप्तानीमा रहेको पुलिसले पहिलो हाफमै चार गोल गर्न सफल भएको थियोे । मिनाले खेलको १३ औं मिनेटमै पहिलो गोल गरिन् भने पाँच मिनेटपछि नै निर्मलाले पुलिसको लागि दोस्रो गोल गरेकी हुन् ।
खेलको १८ मिनेटमै दोस्रो गोल बेहोरेपछि भारतीय क्लब दबाबमा आएको थियो । भोरतीय टोलीले २२औं मिनेटमा तेस्रो गोल बेहो¥यो । रक्षकले बक्सभित्र हातले बल छोएपछि रेफ्री कृष्ण खत्रीले पुलिसलाई पेनाल्टी अवसर दिएका थिए । निर्मलाले ३०औं मिनेटमा व्यक्तिगत दोस्रो तथा टोलीको लागि चौथो गोल गरेकी हुन् ।
दोस्रो हाफमा भने भारतीय टिम सिलिगुरीले सुधारिएको खेल खेलेको थियो । यद्यपी भारतीय टोलीले गोल गर्र्न भने सकेनन् । नेपालगन्ज रंगशालामा पुलिसले राष्ट्रिय टिमबाट खेलिसकेका गोलकिपर उषा नाथ, समिक्षा घिमिरे, अमृता जैशी, सुस्मा तामाङ र निरुलाई मैदान उतारेको थियो । खेलको प्लेयर अफ दि म्याच पुलिसकी स्टूाइकर निर्मला घोषित भइन् ।
यो जित संगै शनिबारको बिजेता विभागीय टोली नेपाल पुलिस क्लब प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । अब पुलिसले सेमीफाइनलमा वैशाख ९ गते अर्काे विभागीय टोली त्रिभुवन आर्मी क्लबसँग खेल्नेछ । आर्मीले उद्घाटन खेलमा सुदूरपश्चिम प्रदेश फुटबल संघलाई ४–० ले हराउँदै सेमी फाइनलको यात्रा तय गरेको हो ।
खेलको प्लेयर अफ दि म्याच पुलिसकी स्ट्राइकर निर्मलालाई शिक्षासेवी तथा आयोजक संस्था अन्तरालका सल्लाहकार लोकेन्द्रबहादुर शाह र रमादेवी शाहले ५ हजार नगद हस्तान्तरण गरेका थिए । खेलसुरु हुनु अघि फिफा र भारतको एन्थम बनाईएको थियो । आजको प्रतियोगिता अखिल नेपाल फुटबल संघका पुर्व केन्द्रिय उपाध्यक्ष गोबर्धन सिङ सम्झानाले फुटबल हस्तान्तरण गरेपछि सुरु भएको हो ।
आजको खेल समापन पछि नेपाल पुलिस क्लबका टिम कोच सुमन सुवेदीले खेलाडीहरुले राम्रो प्रस्तुति गरेको बताए । यस्तै नेपाल पुलिस क्लबका क्याप्टेन निरु थापाले घरेलु मैदानमा खेल्न पाउदा खुशी ब्यक्त गरीन । साथै उनले लामो समयपछि यस्तो खेल भएको बताउदै नियमित खेल हुन आवश्यक रहेको बताईन ।
यस्तै भारतको सिलिगुरी एफसीका टिम कोच अमनदिप चौराशियाले अर्को पटक हुने खेलमा उत्कृष्टता प्रदर्शन गर्ने र जित हासिल गर्ने हौसला मिलेको बताए । उनले खेलको ब्यबस्थापकिय पक्षको प्रशंसा समेत गरे । यस्तै सिलिगुरीका क्याप्टेन यमुना पुर्तिले खेल उत्साहजनक नै भएको र अर्को पटक फेरी खेल्न आउने इच्छा भएको बताइन । आज आईतबार अपरान्ह ४ बजे हुने खेलमा बाँके फुटबल संघ र रौतहट जिल्ला फुटबल संघबीच प्रतिस्पर्धा हुनेछ ।
पहिलो पटक आयोजना भएको लुम्बिनी कपमा आठ टोली सहभागी छन् । घरेलु टिम बाँके–११, सशस्त्र प्रहरी बलको एपिएफ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश फुटबल संघ, सुदूरपश्चिम प्रदेश फुटबल संघ, रौतहट जिल्ला फुटबल संघ र भारतको सिलगुडी फुटबल क्लबले उपाधिका लागि प्रतिस्पर्धा गरिरहेका छन् । बाँके जिल्ला फुटबल संघको सहकार्यमा भएकोे प्रतियोगिताको विजेताले ५ लाख ५ हजार ५५५ रुपैयाँ र उपविजेताले २ लाख ५० हजार रुपैयाँ, ट्रफी, मेडल प्राप्त गर्नेछन् । हरेक खेलका प्लेयर अफ द म्याच र प्रतियोगितामा विधागततर्फ उत्कृष्ट हुनेलाई पनि पुरस्कृत गरिने आयोजक अन्तरालले जनाएको छ ।