Friday, May 16सत्यम खबर
Shadow

दोस्रो शारदा मेयर कप T-20 क्रीकेट प्रतियोगिता सुरु

सल्यान, ६ बैशाख – शारदा नगरपालिका र क्रिकेट संघ सल्यानको समन्वयमा आयोजना गरिएको दोस्रो शारदा मेयर कप T-20 क्रीकेट प्रतियोगिता शनिबार लुहापिङ खेल मैदानमा सुरु भएको छ ।

कार्यक्रम शारदा नगरपालिकाका प्रमुख प्रकाश भण्डारीको अध्यक्षता र ललितपुर महानगरपालिकाका प्रमुख चिरी बाबु महर्जनको प्रमुख आतिथ्यतामा उद्घाटन भएको हो ।

प्रमुख अतिथि महर्जनले उद्घाटन समारोहलाई सम्बोधन गर्दै शारदा नगरपालिकाले खेल क्षेत्रको प्रवर्द्धनमा राखेको योगदानको प्रशंसा गर्दै प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गर्नुभयो । साथै, भविष्यमा क्रिकेटको विकासका लागि ललितपुर महानगरपालिकाबाट आवश्यक सहयोग गरिने बताउनुभयो ।

शारदा नगरपालिका प्रमुख प्रकाश भण्डारीले प्रतियोगितालाई मर्यादित, अनुशासित र सफल बनाउन खेलाडी र प्रशिक्षकहरुलाई निर्देशन दिँदै सहभागी पालिकाहरुलाई धन्यवाद प्रकट गर्नुभयो। उहाँले भगिनी सम्बन्ध कायम रहेको ललितपुर महानगरसँगको सहकार्यप्रति आभार व्यक्त गर्नुभयो।

नगर उपप्रमुख सुस्मिता सापकोटाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ सल्यानका अध्यक्ष डिल्ली रावत, क्रिकेट संघ सल्यानका अध्यक्ष तथा वडा नम्बर २ का अध्यक्ष सबिन हमाल लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख केशरकुमार न्यौपाने, शारदा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटा, विभिन्न नगरपालिका तथा गाउँपालिका वडा अध्यक्ष, कार्यपालिका सदस्य, सञ्चारकर्मी, सुरक्षाकर्मी, स्थानीय बासिन्दा र खेलाडीहरुको उल्लेखनीय सहभागीता रहेको थियो ।

उक्त अवसरमा प्रमुख अतिथि चिरी बाबु महर्जन ओललगायत अतिथिहरुलाई मायाको चिनो स्वरूप सल्यानी खुकुरी प्रदान गरिएको थियो।

कार्यक्रमको सहजीकरण शारीरिक नगरपालिका शिक्षा शाखा प्रमुख लिलाधर बबालले गर्नुभएको थियो । प्रतियोगिता वैशाख १५ गतेसम्म सञ्चालन हुनेछ भने जिल्लाका ८ वटा पालिकाले सहभागिता जनाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *