
नेपालगन्ज, ७ पुस – नेपालगन्जमा हुन लागेको लुम्बिनी कप महिला फुटबल प्रतियोगितामा बाँके जिल्ला फुटबल संघले सहकार्य गर्ने भएको छ ।
बाँके जिल्ला फुटबल संघको बैठकले नेपालगन्ज रंगशालामा हुन लागेको लुम्बिनी कप महिला फुटबल प्रतियोगितामा सहकार्य गर्ने निर्णय गरेको हो । अन्तरालको आयोजनामा फागुनमा लुम्बिनी कप महिला फुटबल प्रतियोगिता हुँदैछ ।
बाँके जिल्ला फुटबल संघका अध्यक्ष एवम् अखिल नेपाल फुटबल संघका केन्द्रिय सदस्य भोजराज शाहीले महिला फुटबलको विकासमा प्रतियोगिताले महत्वपुर्ण भुमिका खेल्ने भएकोले सहकार्य गरेको बताउनु भयो ।
उहाँले भन्नु भयो, ‘हामी निकै खुसी छौं । फुटबल भनेको सामुहिक भावनाबाट खेल्ने गरिन्छ । फुटबलको विकासमा निजी क्षेत्रको महत्वपुर्ण भुमिका हुन्छ । नेपालगन्जमा अन्तरालले गर्ने प्रतियोगिताले यहाँको फुटबल लोकप्रियता र खेलाडी उत्पादनमा सहयोग गर्ने भएकोले सहकार्य गर्ने निर्णय गरेका हौं ।’
नेपालगन्जमा हुन लागेको लुम्बिनी कप महिला फुटबल पश्चिम नेपाल कै ठुलो प्रतियोगिता हो । यसअघि प्रतियोगिताको लोगो सार्वजनिक भैसकेको छ ।
नेपाली राष्ट्रिय महिला फुटवल टिमको पहिलो कप्तान रमा सिंह र वर्तमान कप्तान एन्जिला तुम्बाप्पो सुब्बाले संयुक्त रुपमा लुम्बिनी कपको लोगो सार्वजनिक गर्नु भएको थियो ।
फागुनको अन्तिम साता नेपालगन्ज रंगशालामा हुने लुम्बिनी कपमा नेपाल र भारतका ८ टिमको सहभागीता रहने अनुमान गरिएको छ । आयोजक अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले बाँके जिल्ला फुटबल संघसँगको सहकार्यले प्रतियोगितालाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नु भयो । उहाँले भन्नु भयो,‘बाँके जिल्ला फुटबल संघ फुटबल खेलाडी र फुटबलकर्मीको अभिभावक हो । संघको सहकार्यले हामीलाई थप उत्साही बनाएको छ । यो सहकार्यले प्रतियोगिताको स्तरलाई बढाउन सहयोग गर्नेछ ।’
प्रतियोगितालाई प्रभावकारी बनाउन अन्य तयारीहरु तिव्र गतिमा अगाडी बढिरहेको शाहले बताउनु भयो । प्रतियोगिताको बारेमा थप जानकारी आगामी दिनमा सार्वजनिक गर्ने उहाँले बताउनु भयो ।