नेपालगन्ज, १२ जेठ – राष्ट्रिय प्रजातान्त्रिक उद्योग व्यापार संगठन बाँकेका अध्यक्ष नन्दलाल वैश्यले अबेररातीसम्म बजार व्यवस्थापन गर्न प्रमुख जिल्ला प्रशासन कार्यालयलाई ज्ञापनपत्र बुझाएका छन् ।
कोरोनाकालदेखि आर्थिक मन्दीको अवस्थामा समेत राती ८–९ बजे नेपालगन्जको बजारमा प्रहरी परिचालन गरी बजार बन्द गर्न लगाउने गरिएको हुँदा अब उप्रान्त यसतर्फ सम्बन्धित पक्षको ध्याना जाओस् जसले गर्दा नेपालगन्जमा रहेका उद्योगी व्यापारीहरुलाई थोरै भएपनि राहत हुन सक्ने संगठनका सचिव मदनराज शर्माले बताउनुभयो ।
आज शुक्रबार जिल्ला प्रशासन कार्यालयमा बुझाईएको ज्ञापन “उपरोक्त सम्बन्धमा यस नेपालगंज उपमहानगरपालिका क्षेत्रको बजार रात्री ८÷९ बजेसम्म मात्र खोलिने तथा यस पछि सम्पूर्ण बजार व्यापार सम्बन्धि कार्यमा बिराम दिने प्रहरी प्रशासनको आदेशले गर्दा व्यापारिक क्षेत्रलाई ठूलै आर्थिक संकटको मुहानमा खडा गरेको छ । एकतर्फ नाका पारीबाट हुने खुला व्यापार तथा आवश्यक सेवा वस्तुहरुको अनुकूल मूल्यले गर्दा हजारौंको संख्यामा नेपालगंजबासी सीमा पारीको रुपैडीहा बजारबाट दैनिक जीवनमा आवश्यक पर्ने सबै जसो वस्तुहरुको खरीद कार्यले नेपालगंज शहरको बजार व्यवस्थापनलाई अधिकांस मात्रामा घाटातर्फ धकेलेको छ । दोस्रो तर्फ सरकारले प्रत्येक जीवन उपयोगी वस्तु माथि अधिक कर प्रणालीले सीमाको बजारदेखि प्रतिस्पर्धामा धेरै पछाडी रहेको हुँदा, नेपालगंजका व्यापारीहरु नराम्रो तरिकाले आर्थिक घाटाको शिकार हुन बाध्य छन्” भनी उल्लेख गरिएको छ ।
ज्ञापनपत्रमा अगाडि “यस समस्याको अतिरिक्त प्रहरी प्रशासनको अस्पष्ट एवं अकारण ८–९ बजे रात्रीसम्म मात्रै बजार खुला रहने निर्णयले साना, मझौला साथै ठूलै ऋण लिएर व्यापार थालेका व्यापारीहरुका लागि आर्थिक दिवालियापन जस्तो बजार वातावरणको सृजना गर्ने सम्भावना प्रबल रुपमा स्पष्ट छ । राज्यको जिम्मेवारी, कसरी व्यापारीको लागि अनुकूल वातावरण हर सम्भव तरिकाले गर्ने भन्ने हो । जसबाट प्रत्येक शहरको यथोचित आर्थिक प्रगतिबाट व्यक्ति, परिवार, समाज तथा समूल राष्ट्रको आर्थिक उन्नति होस्” भनी उल्लेख गरिएको थियो ।
‘‘बजार–व्यापारबाट प्राप्त हुने कर नै राज्य कोषको आर्थिक सशक्तिकरणमा थप टेवा पु¥याउने काम गर्छ भन्ने कुरा स्पष्ट छ । नेपालगंज शहरमा हरेक स्तरका व्यापारीहरु छन् । विभिन्न उपाय गरेर, ऋण लिएर तथा घर सटर भाडा तिरी व्यापार गर्दै आएका छन् । लामो समयको विनाशकारी जनयुद्ध र लगभग तीन वर्षको कोरोना महामारीको अघात पछि यदि व्यापारीहरुले व्यापार गर्नका लागि प्रयाप्त समय पाउँदैनन् भने व्यापार घाटा सँगै हजारौ परिवार आर्थिक रुपले बर्बाद हुन जान्छ भन्ने कुरा स्पष्ट छ । ग्राहकहरु ५ बजेसम्म आफ्नै काममा व्यस्त हुन्छन् । ५–६ बजेपछि नै ग्राहकहरु अधिकांश संख्या बजारमा देखा पर्छ । यस स्थितिमा यदि रात्रीको ८–९ बजे भित्र बजार बन्द रहने हो भने नेपालगंज बजारलाई ठूलै आर्थिक संकटको सामना गरी रहनु पर्ने चुनौती रहँदै आएको स्पष्ट छ” भनी उल्लेख गर्नुका साथै “अतः यसलाई अझ गम्भिर संकटको मारबाट बचाउन छिटो नै अर्को आदेश जारी गरी बजार ११–१२ बजेसम्म खुला रहने निर्देशन प्रशासनबाट आउने छ भन्ने सम्पूर्ण व्यापारीहरु साथै राष्ट्रिय प्रजातान्त्रिक उद्योग व्यापार संगठन बाँकेको मांगसहित हार्दिक अनुरोध छ” भनी संगठनका अध्यक्ष बैंश्य र सचिव शर्माद्वारा हस्ताक्षरित ज्ञापनपत्र बुझाईएको थियो ।