
नेपालगन्ज, २६ भाद्र – हिन्दु धर्मावलम्बीहरुले हिन्दू आस्थामाथि नै चोट पु¥याउने खेल खेलिरहेको प्रति नेपालगन्जका हिन्दु धार्मिक संघसंस्थाहरुले आपत्ति जनाउँदै ज्ञापन पत्र बुझाएका छन् ।
विगत वर्ष झै यस वर्ष पनि दशैं तिहारको बेला मदिराको विज्ञापनका लागि हिन्दु धर्मावलम्बीहरुको धार्मिक आस्थामाथि चोट पुग्ने गरी विभिन्न शब्द तथा फोटो राखी विज्ञापन नगर्न नगराउन प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापनपत्र बुझाएका छन् ।

ज्ञापनपत्रमा ‘उल्लेखित सम्बन्धमा नेपाल एउटा बहुजातिय बहुभाषिक, बहुसांस्कृतिक हिन्दु राष्ट्र हो । यस तथ्यलाई नेपालको संविधानले पनि प्रत्याभुत गरेको छ । नेपाल हिन्दु समाज नेपालमा जाँड, रक्सी सेवन तथा पेय पदार्थ कम्पनीहरुलाई कम्पनीको विज्ञापन गर्दा हाम्रो हिन्दु समाजलाई नकारात्मक असर परेको र ठेस पुगेको हुँदा हामीले यस पत्र मार्फत उहाँहरुलाई कुनै पनि प्रकारको विज्ञापन गर्दा हिन्दु समाजलाई ठेस, आघात नपुग्ने गरी आग्रह गर्दछौ । आउने दिनहरुमा यस्तो प्रकारको विज्ञापन नगरिदिनुहुन अनुरोध गर्दछौ र यदि यस्तो प्रकारको विज्ञापनहरु रोकिएन भने हामी नेपाल हिन्दु समाजले यसको प्रतिकारमा उत्रन बाध्य हुने जानकारी गराउदै यो ज्ञापनपत्र पेश गरेका छौ ।’ भनी उल्लेख गरेका छन् ।

ज्ञापन पत्र मार्फत नै ‘विज्ञापन गर्दा हिन्दु धर्म र समाजलाई नकारात्मक असर नपर्ने गरी गर्ने । विज्ञापन गर्दा जाँड, रक्सी तथा पेय पदार्थहरुमा हिन्दु देवी देउता र धार्मिक स्थलहरुसंग नजोडिएर गर्ने । विज्ञापन गर्दा हिन्दुहरुको पर्वमा हिन्दुहरुलाई समाजमा नकारात्मक असर, ठेस नपुग्ने गरी गर्ने ।’ भनी धार्मिक सदभाव समितिका संयोजक दिपक लोध, श्यामकाजी श्रेष्ठ, हरिकृष्ण श्रेष्ठ, रबि वर्मा र प्रदीप ठाकुरद्वारा हस्ताक्षरित ज्ञापनपत्र बुझाईएको छ ।

