
काठमाण्डौ, २ पौष – युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले क्रिकेट खेलाडीलाई गरीएको कारबाहीमाथी पुनः बिचार गर्न आग्रह गर्नुभएको छ ।
शुक्रबार नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीहरुलाई मन्त्रालयमा बोलाएर मन्त्री अथकले कारबाहीको निर्णयमाथी पुनर्बिचार गर्न आग्रह गर्नुभएको हो ।

क्रिकेट खेलमार्फत् नेपाललाई विश्वसामु चिनाउन योगदान गरेका खेलाडीहरुलाई दुरुत्साहित हुने ढंगले कारबाही गरिनु गलत भएको भन्दै मन्त्री अथकले खेलाडीहरुलाई संरक्षणन गर्नुपर्ने बताउनुभयो । क्यान र खेलाडी बिच देखिएको समस्या समाधानका लागि उपर्युक्त विधि अपनाउनु पर्ने बताउँदै मन्त्री अथकले खेल क्षेत्र मै आफ्नो उर्जावान समय खर्चिएका खेलाडीहरुलाई गरीएको कारबाहीले गलत सन्देश प्रवाह भएको भन्दै चिन्ता समेत ब्यक्त गर्नुभयो ।

मन्त्री अथकले अगामी दिनमा हुन गईरहेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितालाई समेत मध्यनजर गर्दै तत्काल देखिएका समस्या समाधान गर्न क्यानका अध्यक्ष चतुरबहादुर चन्द सहितका पदाधिकारीहरुलाई निर्देशन समेत दिनुभएको छ । त्यसक्रममा मन्त्री अथकले खेलाडीहरुको बर्गिकरण प्रक्रियाका बिषयमा समेत चासो लिनुभएको थियो ।
गत मंसिर २९ गते नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी र कमल सिंह ऐरीमाथि कारबाही गरेको थियो । उक्त निर्णयप्रति मन्त्री अथकले असन्तुष्टि जनाउँदै कारबाहीको निर्णयमाथी पुनर्विचार गर्न आग्रह गर्नुभएको हो ।
